१५ साउन, काठमाडौं । ढलमा बगेर स्कुल बालिकाको मृत्यु भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारवाला निकायका हाकिमहरु बोलाएर कडा निर्देशन दिए, ‘१५ दिनभित्र सडकमा एउटै खाल्डा देख्न नपरोस् ।’
सरकारका सचिवहरु पनि राति-राति अनुगमनमा गए । यो सबैको समाचार हेरेका-पढेका धेरै सर्वसाधारणले भन्ठाने, ‘अब चाँही काठमाडौंका सडकको खाल्डामा पछारिनु नपर्ने भयो ।’
प्रधानमन्त्रीले तोकेको १५ दिने म्याद आइतबार सकियो । तर, न प्रधानमन्त्रीले भनेजस्तो खाल्डा नै नदेख्ने अवस्था रह्यो, न त सर्वसाधारणले अपेक्षा गरेजस्तो भयो ।
प्रधानमन्त्रीको निर्देशनपछि सडकका थुप्रै खाल्डा पुरिए । तर, यो पटक पनि ‘हिँड्दै पाइला मेट्दै’ भनेजस्तै आज खाल्डा पुर्यो, दुई दिनपछि फेरि जस्ताको तस्तै भयो । यही नाममा ठेकेदारले सरकारी अड्डामा अडि्कएर रहेको आफ्नो रकम पनि निकासा गराइसके । तर, सडकको अवस्थाका ज्यूँकात्यूँ छ ।
आइतबार अपराहृन काठमाडौंका विभिन्न भागमा पुग्दा देखिएका दृश्यहरुले भन्छ, १५ दिनमा फिटिक्कै काम भएन भन्नु अन्यायपूर्ण हुन्छ । तर, काम भयो पनि, भएन पनि ।
सडकका खाल्डा पुर्ने नाममा जसरी काम गरियो, त्यो दुई दिनपछि नगरे बराबर भएको छ । वर्षातको समय भएकाले धेरै स्थानमा खाल्डा पुर्न हालिएको माटो पानीले बगाइसकेको छ र फेरि खाल्डा बन्न सुरु भइसकेको छ । झन् कतिपय ठाउँमा त पानी परे हिँड्नै नसक्ने गरी हिलाम्ये, घाम लागे धुलाम्मे हुने अवस्था आएको छ ।
१५ दिन अगाडि मेलम्चीको पाइप बिछ्याउने क्रममा सडकका बीच-बीचमा रहेका ठूला खाडलहरु पुरेको भेटियो । तर, सडकका साना खाल्डाहरु भने यथावत नै छन् ।
चाबहिलमा भेटिएका स्थानीय प्रेमकुमार श्रेष्ठ भन्छन्, ‘प्रधानमन्त्रीले खाल्डा पुर्नु भनेका होइन रहेछन् । ठूला खाल्डा मात्र पुर्नु भनेका रहेछन्, अहिलेको काम गराइले स्पष्ट भयो ।’
उनले प्रधानमन्त्रीसँग कति गहिरो र ठूलो भएपछि सरकारी मापदण्डमा खाल्डो मानिने हो भन्ने प्रष्ट पार्न आग्रह गरे ।
रिङरोडका सडकमात्रै होइन, सहायक सडकमा पनि काम गराइको तरिका उस्तै-उस्तै छ ।
लैनचौरकी देवकी थापा साना खाल्डो नपुरेर ठूला-ठूला खाल्डो खोज्दै हिँडेका सरकारी अधिकारीलाई ‘मुर्ख’को संज्ञा दिन्छिन् । ‘प्रधानमन्त्रीले खाल्डा पुर्न भनेछन् । कहाँ ठूलो खाल्डो छ भन्दै खोज्दै हिँडेका छन् । पीच सकडमा सानो खाल्डो परेपछि त्यो ठूलो बन्न एक हप्ता लाग्दैन,’ थापा भन्छिन्, ‘अबको १५ दिनपछि त्यही सानो खाल्डो ठूलो हुन्छ । अनि फेरि प्रधानमन्त्रीले त्यही निर्देशन दिनेहोला ।’
थापाले भने जस्तै धेरै ठाउँमा सडकका ठूला खाल्डा पुरिएको छ । तर, साना खाल्डाहरु यथावत नै छन्, यसले खाल्डा पुर्ने सरकारी काम कर्मकाण्डी जस्तै हुन पुगेको छ ।
प्रतिक्रिया 4