Comments Add Comment

जनप्रतिनिधि हुँदाको फाइदाः इन्जिनियरले सक्दैनौं भनेको बाटो खुल्दै

रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका अध्यक्षको उदाहरणीय प्रयास

१९ साउन, रामेछाप । स्थानीय तहमा जनप्रतिनिधि हुनु र नहुनुको फरक रामेछापको उत्तरी क्षेत्रका बासिन्दाले व्यवहारमै महशुस गर्न पाएका छन् । छतिउने खोलाको बाढीले बगाएको पुल र सडक सुचारु गर्न सरोकारवाला निकायले ध्यान नदिएपछि गाउँपालिका अध्यक्षहरु आफैं सडक बनाउन कस्सिए ।

रामेछापको लिखु गाउँपालिका अन्तर्गतको खिम्तिमा विनासकारी बाढीले सडक बगाएको १५ दिन वित्दा पनि सडक निर्माणमा सरोकारवाला निकायले चासो दिएनन् । यो हिसाबले दशैंमा पनि गाडी चल्ने छाँटकाँट देखिएको थिएन ।

त्यसपछि उत्तरी रामेछापका दुई गाउँपालिकाले अस्थाई सडक निर्माण गरी सडक खोल्ने काम सुरु गरेका छन् । जिल्लाका गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको पहलमासडकमा डोजर लगाएर अस्थाई डाइभर्सन निर्माणको काम सुरु भएको छ ।

सडक खुलाउन गोकुलगंगाका अध्यक्ष खड्ग सुनुवार र उमाकुण्डका अध्यक्ष शेरवहादुर सुनु्वार आफैं खटिएका छन् । जनतालाई सहज आवागमनको व्यवस्था मिलाउन पार्टीले जनप्रतिनिधिलाई निर्देशन दिएको र कार्यकर्ता समेत स्वयंसेवक रुपमा परिचालन गरिएका एमालेका जिल्ला इन्चार्ज देवशंकर पौडेलले बताए ।

गएको असार ३१ गते गोकुलागंगा गाउँपालिका र लिखु गाउँपालिकाको सिमाना भएर बग्ने छतिउने खोलामा आएको बाढीले छतिउने खोलाको पक्की पुल बगाउनुको साथै खिम्ति खोला किनारको करिव २ किलोमिटर सडकसमेत बगाएको थियो ।

बाढीले घर बगाउँदा ३ घरका ५ जना मानिसको समेत ज्यान गएको थियो । सो बाढीका कारण खिम्तिको सयौँ रोपनी धानखेत बगाउनुको साथै ५ घर परिवार विस्थापित भएका छन् ।

जनप्रतिनिधिहरुको गुनासो

खिम्तीमा आएको बाढीको कारण भएको क्षतिको पीडा त स्थानीयलाई छँदैथियो त्यसमाथि अवरुद्ध भएको सडकको पुननिर्माणको काम समेत सुरु नहुँदा स्थानीयहरु निराश र आक्रोशित बन्दै गएका थिए । उनीहरुमा एक वर्षमा पनि सडक खुल्ने हो कि हैन भन्ने निराशा छाएको थियो ।

स्थानीयलाई तत्काल राहत दिन अस्थाई रुपमा डाइभर्सन बनाएर सडक खोल्नको लागि जिल्लाका सरोकारवाला निकायमा बारम्बार अनुरोध गर्दा पनि वेवास्ता गरेको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले बताए ।

सुनुवारले भने- ‘हामीले सडक डिभिजन कार्यालयलाई अनुरोध गर्‍यौं । उनीहरुले सहयोग गर्नुको साटो हामीलाई यो बाटो खोल्नै सकिँदैन भनेर निराश बनाए । उनीहरुको भर पर्ने हो भने हिउँद नलागि सडक निर्माणको काम नै सुरु नहुने देखियो । त्यसैले हामी काम थाल्न वाध्य भयौं ।’

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारको पनि गुनासो त्यस्तै छ । उनले भने- ‘हामीले स्थानीय प्रशासनमा पनि अनुरोध गर्‍यौं । सुरक्षा निकायमा पनि केही सहयोग हुन्छ कि भनेर अनुरोध गर्‍यौँ, सडक डिभिजनमा पनि कुरा भयो, तर कसैले चासो दिएनन् । हामी जनताले विश्वास गरेर निर्वाचित गरेका जनप्रतिनिधि भएका हिसावले जनताको समस्यामा चुप लागेर बस्न सकेनौँ । काम सुरु गरेका छौं । पूरा गरेरै छाड्छौं ।’

एक साताको लक्ष्य

खिम्ती र छतिउने खोलाले बिगारेको खिम्ती-फर्पु- वेताली-रस्नालु सडकको निर्माणकार्य खिम्तीको माख्लो बजारबाट सुरु गरिएको छ । जेसिबी मेशिनको प्रयोग गरी अस्थायी सडकको निर्माण कार्य सुरु भएको छ ।

जिल्लाका दुईवटै गाउँपालिकाका अध्यक्षहरुको प्रत्यक्ष निगरानी र सहभागितामा सडक निर्माणको काम चलिरहेको छ ।

  • कार्यक्षेत्रमै खटिएका उमाकुण्ड गापा अध्यक्ष शेरबहादुर सुनुवार (छाता अोढ्ने) र गोकुलगंगा गापा अध्यक्ष खड्ग सुनुवार

एकहप्ता भित्र अस्थायी डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याउने लक्ष्का साथ काम अघि बढाइएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले बताए । डाइभर्सनमा ग्याभिनवाल लगाउनु पर्ने भएकोले काममा केही ढिलाई भएको उनले बताए ।

एक वर्षसम्म पनि बाटो बन्दैन कि भनेर निराश भएका जनतामा आशा जगाउनको लागि पनि निर्माण कार्यलाई गति दिनु परेको गोकुलगंगा गाउँपालिका ५ नामाडीका अध्यक्ष वलराम खड्काले बताए ।

‘नागरिकहरुमा काम नै हुँदैन, अनियमिता मात्र हुन्छ भन्ने छाप परेको छ, त्यसलाई चिर्न पनि सडक निर्माणको कामलाई गति दिनु परेको छ’, खड्काले भने ।

सदरमुकाम आउन ६० किलोमिटर घुम्नु पर्ने

विनासकारी बाढीका कारण पक्की पुल र सडकमा क्षति पुगेपछि रामेछापका उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाबाट सदरमुकाम मन्थली आउने सर्वसाधारणहरु अहिले ६० किलोमिटर घुमेर आउजाउ गरिरहेका छन् ।

सडक विग्रिएपछि रामेछापका २ वटा गाउँपालिकाको साथै सोलु र ओखलढुङ्गाका मानिसहरु समेत दोलखाको जिरी हुँदै ६० किलोमिटर फेरो बाटो पार गरी मन्थली आइपुग्छन् । यसबाट उनीहरुको समय र पैसा दुवै बढी खर्च हुने गरेको छ ।

दुईकिलोमिटर क्षेत्रमा सडक निर्माण नहुने हो भने दशैँ, तिहार जस्ता चाडबाडमा घर आउजाउ गर्ने मानिसहरुले ठूलो सास्ति व्यहोर्नु पर्नेछ । साथै यसले भूकम्प पछिको पूननिर्माणको कामलाई समेत प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment