२० साउन, काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएको पाइए दोषीमाथि कारवाही गर्ने बताएका छन् । जग्गा खरिदमा कमिकमजोरी र व्यापक प्रश्न उठेको उल्लेख गर्दै उनले संसदीय छानबिन समितिको प्रतिवेदन आएपछि आवश्यक कदम चाल्ने बताए ।
शुक्रबार रिपोर्टर्स क्लबको साक्षात्कारमा आपूर्तिमन्त्री मण्डलले भने, ‘संसदीय समितिले अनियमितता भएको प्रतिवेदन दिन्छ भने दोषीमाथि कडा भन्दा कडा कारवाही गर्छु । म कसैको दबाब, हस्तक्षेप स्विकार गर्नेवाला छैन ।’
यद्यपि उनले जग्गा खरिद गर्ने नीतिगत निर्णय भएको उल्लेख गर्दै भने, ‘तेल भण्डारणको लागि जग्गा खरिद गर्ने नीतिगत निर्णय भएको हो । तर यहाँ नियत र प्रक्रियाको कुरा महत्वपूर्ण छ, खरिद गर्ने नाममा अनियमितता र दुरुपयोग भएको पाइए दोषीमाथि कडा भन्दा कडा कारवाही हुन्छ ।’
उनले जग्गा खरिद प्रकरणबारे सत्यतथ्य जतिसक्दो चाँडो बाहिर ल्याउन संसदीय छानबिन समिति र सार्वजनिक लेखा समिति तथा अर्थ समितिलाई दबाव दिनुपर्ने समेत सुझाए । भने, ‘कुरा धेरै नगरौं, अब काम गरौं, त्यसैले यसबारेमा सत्यतथ्य बाहिर ल्याउनको लागि छानबिन समितिहरुसँग मिडियाले दबाब दिनुहोस् ।’
उनले आपूर्तिसम्बन्धी सामाग्रीहरुमा कालोबजारी गर्ने र दुई नम्बरी गर्नेहरुलाई कुनै हालतमा छुट नदिने दाबी गरे ।
मन्त्री मण्डलले चाडपर्वहरुमा कुनैपनि किसिमको मुल्य वृद्धि नहुने समेत विश्वास दिलाए । मन्त्री मण्डलले भने, ‘चाडपर्वहरुमा अतिआवश्यक वस्तुहरुको कुनै अभाव हुनेछैन र मुल्यवृद्धि नहुने म विश्वास दिलाउँछु ।’
प्रतिक्रिया 4