Comments Add Comment

पोखरामा सुरु भो सन्ध्याकालीन बस सेवा

२१ साउन, पोखरा । पोखरामा शुक्रबारदेखि सन्ध्याकालीन बस सेवा सञ्चालनमा आएको छ । पोखरा बस व्यवसायी समितिले शुक्रबारदेखि सन्ध्याकालिन बस सेवा सञ्चालनमा ल्याएको हो ।

सन्ध्याकालिन बस सेवाको शुक्रबार साँझ एक कार्यक्रमबीच पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी र कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे ।

समितिले रातिसम्मै यात्रुलाई सेवा दिने उद्देश्यले सन्ध्याकालीन बस सेवा सुरु गरेको हो । सन्ध्याकालीन बस सेवाअन्तर्गत हाल दुईवटा रुटबाट सेवा सुरु भएको छ ।

दुईवटा रुटमा बस व्यवसायी समितिका ८ वटा बस सञ्चालन हुनेछन् । पहिलो रुटमा बाराही चोक, राष्ट्रबैंक चोक, बिरौटा, एयरपोर्ट, लखनचोक, भिमसेनचोक, नदीपुर हुँदै बगरसम्म चल्ने छ ।

त्यसैगरी, दोस्रो रुटमा हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, चिप्लेढुंगा, लखनचोक, गण्डकी हस्पिटल, माटेपानी हुँदै काहूँखोला जाने रुटमा सञ्चालन हुनेछन् ।

सन्ध्याकालीन बस सेवाको उद्घाटन कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले पोखरामा कस्ता खालका बस सञ्चालन गर्ने भन्ने बारेमा महानगरले अध्ययन गरेर सीमा तोक्ने बताए । उनले पोखरालाई स्वच्छ राख्न विद्युतीय बस सेवा सञ्चालनतर्फ महानगर लाग्ने सोचमा रहेको र त्यसका लागि तयारी अवस्थामा रहन यातायात व्यवसायीहरुलाई आग्रह गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सरकारले लेकसाइडलाई २४ सैं घन्टा सेवा दिने घोषणा गरेकाले सो योजनालाई पनि सन्ध्याकालीन बस सेवा सञ्चालनले टेवा पुग्ने बताए ।

नेपाल यातायात व्यवासायी राष्ट्रिय महासघ पश्चिमाञ्चल संयोजक धर्मराज अधिकारीले सन्ध्याकालीन बस सेवाले रातिसम्म काम गर्ने र व्यवसाय सञ्चालन गर्नेहरुलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment