Comments Add Comment

७ नम्बर प्रदेशबाट सुरु भयो धुर्मुस-सुन्तलीको ‘नमूना नेपाल’ अभियान

२२ साउन, कैलाली । धुर्मुस-सुन्तली फाउण्डेसनले बैंक अफ काठमाडौंको आयोजनामा प्रदेश नम्बर ७ को गोदावरी नगरपालिकाको अत्तरियाबाट सरसफाई अभियानको थालनी गरेको छ ।

आइतबार विहान फाउण्डेसनले अत्तरिया चौकमा सरसफाई गरेको थियो । सरसफाई कार्यक्रममा बैंक अफ काठमाण्डौका ब्राण्ड एम्बेसडर तथा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस), शुरवीर पण्डित (दाह्रीबा), पल्पसा डंगोल (चम्सुरी) लगायतक बैंकका कर्मचारी, गोदावरी नगरपालिकाका मेयर, उपमेयर लगायत अन्य पदाधिकारीहरु, तिनवटै सुरक्षा निकायका प्रतिनिधिहरु, ओम शान्ति लगायत स्थानियहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

सरसफाई पश्चात कलाकारहरुले आ-आफ्नो प्रस्तुति समेत राखेका थिए ।

अत्तरियाबाट सुरु भएको सरसफाई अभियान टिकापुर, कोहलपुर, तुलसीपुर, बर्दघाट हुदै काठमाडौंमा पुगेर समापन गरिने बैंकका सरसफाई संयोजक गणेश लम्सालले जानकारी दिए ।

सरसफाई अभियानसँगै बैंकले कलाकारहरु मार्फत महिला तथा किसानलाई बैंकमा बचतका लागि सहभागिता बढाउन उत्प्रेरित गर्ने संयोजक लम्सालले बताए ।

बाटोमा फालेको फोहर मात्र सफा गरेर सरसफाई नहुने भन्दै कलाकार कट्टेलले त्यसका लागि पहिला मन सफा हुनु पर्ने बताए । उनले मन सफा नहुन्जेलसम्म जति नै बाहिरी सरसफाई गरेपनि सरसफाई अभियानले पूर्णता नपाउने बताए ।

उनले फाउण्डेसनले नमूना नेपाल निर्माणका लागिसमेत अभियान थालेको बताउँदै सम्पूर्ण नेपाली र विदेशमा बस्नु हुने नेपालीहरुलाई अभियानमा सहभागी हुन अपील समेत गरे ।

ललितपुरको लेलेमा निर्माण हुन लागेको नमुना नेपालको लागत करिब ५ अर्ब रुपैया लाग्ने बताउँदै फाउण्डेशनका अध्यक्ष कट्टेलले सरकारलाई उक्त योजनालाई राष्ट्रिय गौरबको योजनाको रुपमा अगाडि बढाउन आग्रह गरिसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment