Comments Add Comment

जाजरकोटका ४५ वटा विद्यालयमा कम्प्युटर शिक्षा

२२ साउन, जाजरकोट । जिल्लाका झण्डै ४५ वटा विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन हुने भएको छ ।

युग सुहाउँदो कक्षा र नविनतम ज्ञान प्रदान गर्नका लागि झण्डै ४५ वटा विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गर्न लागिएको हो ।

नेपाल सरकार तथा शिक्षा बिभागको आर्थिक सहयोग र जिल्ला शिक्षा कार्यालय जाजरकोटको समन्वयमा जिल्लाका झण्डै ४५ वटा विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गरिने जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।

जिल्ला शिक्षा अधिकारी सिंहले नेपाल सरकार तथा शिक्षा विभागले जाजरकोटका झण्डै ४५ वटा विद्यालयमा एक लाख ४० हजारका दरले झण्डै ६३ लाख रुपैयाँ प्रदान गरेको जानकारी दिए ।

आर्थिक वर्ष २०७०/०७१ देखि जाजरकोटका झण्डै ७६ वटा विद्यालयहरुमा कम्प्युटर शिक्षा सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ । तर, आर्थिक वर्ष २०७०/०७१ देखि जिल्लामा ७६ वटा विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन भएको भनेता पनि तत्काल कुनै-कुनै विद्यालयमा मात्रै सञ्चालनमा रहेको सूर्योदय मावि कैनाले जनाएको छ ।

विगतका वर्षमा कम्प्युटर शिक्षा सञ्चालन गर्ने भन्दै रकम भुक्तानी लिए पनि कुनै-कुनै विद्यालयले कम्प्युटर खरिद गरेको शिक्षकहरुको गुनासो छ ।

अधिकांश विद्यालयले भने कम्प्युटर खरिद गर्ने भनेर भुक्तानी गरेको रकम आफ्ना विद्यालयका नीजि तथा पी.सी.एफ. दरबन्दीका शिक्षकहरुलाई तलब खुवाएको जिल्ला शिक्षा कार्यालय जाजरकोटका शाखा अधिकृत यज्ञश्वर खत्रीले बताए ।

यस अघिका वर्षहरुमा यस्ता गलत कार्य भएकाले यो आर्थिक वर्षमा कडाईका साथ भदौ महिना भित्रै ४५ वटै विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गर्ने जिल्ला शिक्षा अधिकारी सिंहको दाबी छ ।

नरेश राना मगरबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment