Comments Add Comment

गरुडा घटना : छानबिन टोलीले काम सुरु गर्‍यो

२४ साउन, रौतहट । नेपाल सरकारले रौतहटको गरुडा घटना छानबिनका लागि गठन गरेको तीन सदस्यीय छानबिन समितिले मंगलबारबाट अनुसन्धान सुरु गरेको छ ।

छानविन समितिका संयोजक गृहमन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा महाशाखाका सह-सचिव दिपक काफ्ले र सदस्यहरु पूर्वाञ्चल सडक निर्देशनालयका सह-सचिव मुक्ति गौतम र नेपाल प्रहरीका डीआईजी पुष्प रंजित मंगलवार दिउसो अनुसन्धाका लागि रौतहट आएका हुन् ।

गत शनिवार रौतहटको गरुडा नगरपालिका वडा नम्बर ४ स्थित पानी ट्यांकी सडक किनारमा रहेको खाल्डोमा डुबेर गरुडा नगरपालिका-४ का रामएकवाल साहकी १२ र ९ बर्षीया छोरी संगीताकुमारी साह र सुनिता कुमारी साह, जोगेन्द्र साहकी ९ बर्षीया छोरी सुनैनाकुमारी साह र प्रेम साहकी ९ बर्षीया छोरी सुश्मीताकुमारी साहको डुबेर मृत्यु भएको थियो ।

सरकारको निर्देशन अनुसारनै आफूहरु घटनाको बास्तविक सत्य तथ्य बुझ्न रौतहट आएको टोलीका संयोजक सह-सचिव काफ्लेले बताए । ‘घटना किन र कसरी भयो, कसको लापरवाहीले भएको हो भन्ने बारे छानबिन गर्न हामी आएका हौं,’ सह-सचिव काफ्लेले भने, ‘अबका दिनमा यस प्रकारको दुःखद घटना हुननदिन अपनाउनु पर्ने सजगताका विषयमा पनि हामीले रायसुझाव संकलन गरी प्रतिवेदन सरकारलाई बुझाउने छौं ।’

घटनास्थलमा पुगेका स्थानीय र परिवारलाई आश्वस्त पार्दै उनले घटनाको छानबिन माथि अलिकति पनि शंका नगर्न अनुरोध गरेका छन् ।

छानबिनका लागि आएको टोलीले पीडित परिवारहरुसँग पनि भेटघाट गरेको छ । पीडित पक्षहरुलाई सरकारबाट कसरी सम्बोधन गराउने, भविष्यमा सड्क व्यवस्थापन कसरी गर्ने लगायतका राय सुझाव दिनका लागि यो समितिको गठन भएको बताउँदै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भनाइहरु संकलन गरी सरकारलाई बुझाइने सह-सचिव काफ्लेले जानकारी दिए ।

यसैगरी राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख प्रेम सिंहसहितको टोलीले पनि मंगलबारबाट घटनास्थलको अध्ययन तथा पीडित परिवारसंग भेटेर घटनाको जानकारी लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment