
२६ साउन, काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स एशोसियसन आवद्ध व्यवसायीहरुले अाज बिहीबारबाट नेपालभरका आयल निगमका डिपोबाट पेट्रोल उठाउन छाडेका छन् ।
सिंकेज वर्किङ लसबापतको तेलको भुक्तानी नयाँ प्रतिवेदनअनुरुप गर्नुपर्ने भन्दै आन्दोलन घोषणा गरेका हुन् ।
आज र भोलिलाई हिजोसम्म पम्पमा ल्याइएका तेलवितरण गर्न पुग्ने र पर्सीबाट पेट्रोल वितरण पूर्ण रुपमा ठप्प हुने बाग्मती पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष अच्युत खड्काले बताए ।
आफ्ना माग पुरा नभए साउन २९ देखि डिजेल पनि पम्पमा ल्याउन छोड्ने घोषणा ब्यवसायीले गरिसकेका छन् ।
ब्यवसायीले डिपोबाट तेल ल्याएर बिक्री गर्दासम्म प्राविधिक कारण गुम्ने (लस हुने) तेलबापत पेट्रोलमा प्रति ४ हजार लिटरमा ३५ र डिजेलमा ३६ लिटर क्षतिपूर्ति पाउँदै आएका छन् ।
ब्यवसायीले पटक-पटक यसलाई बढाउन माग गर्दै काठमाडौंमा तेलको वितरण रोकेपछि दुई साताअघि आयल निगम, गुणस्तर तथा नापतौल विभाग, उपभोक्तावादी र पेट्रोलियम ब्यवसायी सम्मिलित एउटा समिति बनाएको थियो ।
यो समितिले तयार गरेको प्रतिवेदनमा पेट्रोलको लस ३५ बाट ७२ लिटर र डिजेलको ३६ बाट ४४ लिटर पुर्याउनुपर्ने उल्लेख छ । देशका विभिन्न भागमा गएर गरिएको अध्ययनका आधारमा तेलमा प्राविधिक कारण हुने लसको मात्रालाई बढाउने गरी प्रतिवेदन तयार भएको दावी ब्यवसायीको छ ।
सो प्रतिवेदन निगमको सञ्चालक समितिमा पेश नहुँदै ब्यवसायीले निगमलाई दबाव दिन आन्दोलन थालेका हुन् ।
निगममा जग्गा खरिदको लफडाका कारण तत्काल सञ्चालक समिति नबस्ने अवस्था रहेकाले निगमकै केही अधिकारीको उक्साहटमा देशब्यापी आन्दोलन घोषणा गरिएको स्रोतले बतायो ।
ब्यवसायीले पेट्रोल पम्पमा तेल भर्दा देखिने अंकभन्दा कम परिमाणमा तेल वितरण भए पनि कारबाही नगर्न माग पनि गरेका छन् । डिस्पेन्सिङ पम्पबाट कम तेल आउनुलाई प्राविधिक गडबडी भन्दै कारबाही नगर्न माग गरेका हुन् ।
बुधबार पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएका मागहरुको पाँचौ नम्बर बुँदामा लेखिएको छ, ‘गुणस्तर तथा नापतौल कार्यालयबाट वा अन्य आधिकारिक निकायबाट बजार अनुगमन हुँदा डिस्पेन्सिङ पम्पमा लगाइएको सिल दुरुस्त हुँदाहुँदै प्राविधिक कारणले परिमाण घटीबढी भएमा पम्पलाई कारबाही नगरी तत्काल क्यालिब्रेशन गरिदिनुपर्ने ।’
पेट्रोलपम्पमा तेल भर्दा देखिने अंक भन्दा नोजलबाट झर्ने तेल कम परिमाणको हुने गरेको उपभोक्ताको गुनासो छ । गुनासोअनुसार बजार अनुगमन गर्दा पम्प सञ्चालकले सिल तोडेर परिमाण घटबढ गराएको पाइएको थियो ।
एशोसियसनले बिक्रीस्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरिएको परिमाण अनुसारकै परिमाण प्राप्त हुनपर्ने अथवा कम हुन जाने सम्पूर्ण परिमाण निगमले समायोजन गरिदिनुपर्ने, निगमको पूर्वाधार समय सापेक्ष सुधार गर्नुपर्ने र सबै डिपोहरुमा लोडिङ अनलोडिङ प्वाइन्ट तथा मौजदात क्षमता बढाउनुपर्ने माग पनि गरेको छ ।
आजदेखि देशभरका डिपोहरुबाट पेट्रोलियम पदार्थ उठाउन बन्द गरेको एसोशियसनले ३१ गतेदेखि बिक्री वितरण बन्द गर्ने चेतावनी दिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4