Comments Add Comment

मोबाइल इन्टरनेट स्पिडमा नर्वे पहिलो

भारतभन्दा नेपाल अगाडि

अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेटको स्पिड जाँच गर्ने एजेन्सी ओक्लाका अनुसार विश्वमा सबैभन्दा उच्च गतिको मोबाइल इन्टरनेट सेवा भएको मुलुक नर्वे हो ।

पछिल्लो १३ महिनामा नर्वेले मोबाइल इन्टरनेटको क्षेत्रमा अद्धितीय फड्को मार्दै शीर्षस्थानमा पुगेको हो । यसबीचमा नर्वेले मोबाइल इन्टरनेट स्पिडमा आफ्नो अवस्था ११ स्थान माथि पुर्‍याउन सफल भएको छ ।

ओक्लाले इन्टरनेट स्पिड मापन गर्नका लागि स्पिडटेस्ट डट नेट नामक एप तयार गरेको छ । जसको सहयोगमा प्रयोगकर्ताले स्मार्टफोनमै जुनसुकै बेला आफ्नो इन्टरनेटको स्पिड जाँच गर्न सक्छन् ।

स्पिडटेस्ट डट नेटको आँकडा अनुसार नर्वेको मोबाइल फोनमा चल्ने इन्टरनेटको स्पिडमा पछिल्लो एक वर्षमा ६९ प्रतिशतले तीव्रता आएको छ । अहिले त्यहाँको इन्टरनेटको स्पिड ५२.६ मेगाबाइट प्रतिसेकेण्ड रहेको छ ।

नर्वेको दूरसञ्चार सेवा प्रदायक टेलिनरले गत सेप्टेम्बरमा व्यक्तिगत स्तरमा प्रयोग हुने इन्टरनेटको स्पिड बढाइदिएको थियो । नर्वेमा टेलिनरसहित कुल तीनवटा दूरसञ्चार एजेन्सी छन् । जसले आफ्नो मोबाइल नेटवर्क स्थापित गरेका छन् ।

हालैका वर्षहरुमा अन्य दुई कम्पनी टेलिया र आइस डट नेटले पनि आफ्नो फोरजी नेटवर्क सुदृढ पार्नका लागि धेरै लगानी गरेका छन् ।

विश्वमा सबैभन्दा तीव्र गतिको मोबाइल इन्टरनेट सेवाको हिसाबले नेदरल्याण्ड दोश्रो स्थानमा छ भने हंगेरी तेश्रो स्थानमा रहेको छ । त्यस्तै चौथोमा सिंगापुर र पाचौंमा माल्टा रहेको छ । अष्ट्रेलिया, युएइ, दक्षिण कोरिया, बेल्जियम र आइसल्याण्ड क्रमशः दशौँ स्थानसम्म रहेका छन् ।

चीन पन्ध्रौँ, अष्ट्रिया अठारौँ, बेलायत चालीसौँ, अमेरिका ४६ औँ र जापान ५५ औँ स्थानमा रहेका छन् । त्यस्तै, पाकिस्तान ९८ औँ, श्रीलंका १०२ औँ स्थानमा रहेका छन् ।

भारत भन्दा नेपाल अगाडि

विश्वमा मोबाइल इन्टरनेटको स्पिडमा भारत भन्दा नेपाल एक स्थान अगाडि देखिएको छ । स्पिडटेस्ट ग्लोबल इन्डेक्स अनुसार नेपाल १११ औँ स्थानमा छ भने भारत ११२ औँ स्थानमा छ । ओक्लाको रिपोर्टमा नेपालको मोबाइल इन्टरनेटको स्पीड ८.३२ बाइट प्रतिसेकेण्ड र भारतको ८.१८ प्रतिसेकेण्ड रहेको देखाएको छ ।

दक्षिण एसियाली देशहरु मध्ये अफगानिस्तान ११९ र बंगलादेश १२० औँ स्थानमा रहेका छन् ।

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा सिंगापुर पहिलो

मोबाइल इन्टरनेटमा नर्वे पहिलो स्थानमा भएपनि फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा चाहीँ सिंगापुर पहिलो स्थानमा रहेको छ । दक्षिण कोरिया, हङकङ, आइसल्याण्ड, रोमानिया, मकाउ, स्विजरल्याण्ड, स्विडेन, अमेरिका र लिथुआनिया क्रमशः पहिलो दश स्थानभित्र रहेका छन् ।

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा नेपाल चाहीँ १०२औँ स्थानमा रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment