Comments Add Comment

बाढीपीडितका लागि जुम्लामा एक लाख


३१ साउन, जुम्ला । अविरल वर्षाले धनजनको क्षति भएका पहाडी र तराईका पहिरो तथा बाढीपीडित घरपरिवारका लागि जुम्लामा रु एक लाख राहत संकलन गरिएको छ

चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको नेतृत्व र जिल्ला प्रशासन कार्यालय, प्रहरी, कृषि, शिक्षा, पशुसेवा कार्यालयको सहभागितामा रु ५० हजार २०० रकम सोमबार संकलन गरिएको हो ।

त्यस्तै, नागरिक समाज, जुम्लाका संयोजक राजबहादुर महतको संयोजकत्व र युवा क्लबहरुको सहभागितामा रु २९ हजार ८७० राहत संकलन गरिएको छ ।

अनेरास्ववियु, जुम्लाले रु १५ हजार ५०० राहत संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारीले संकलित रु ५० हजार २०० राहत रकम नगरपालिकाका प्रमुख कान्तिका सेजुवाललाई हस्तान्तरण गरे ।

सो रकम ग्रहण गर्दै नगरप्रमुख सेजुवालले आज पनि राहत संकलन गर्ने र त्यससँगै नगरपालिकाको केही रकम थपेर जिल्ला दैवी प्रकोप उद्धार कोष, जुम्लाको खातामा जम्मा गर्ने बताए ।

प्रजिअले आज बैठक बसी जुम्लामा नगरपालिका, विद्यार्थी संगठन, नागरिक समाज र क्लबले उठाएको रकम एकीकृत गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने बताउनुभयो । बाढीपहिरो पीडितलाई जतिसक्दो सहयोग गर्न चन्दननाथ नगरपालिका र जुम्लाले जुम्लीवासीलाई अपिल गरेका छन् ।

जुम्लामा ॐ शान्ति संस्थाले पनि बाढीपीडितका लागि रकम संकलन गरेको छ । यद्यपि जम्मा भएको सबै रकम जिल्ला प्रशासन कार्यालय जुम्लालाई हस्तान्तरण गरिने जनाइएको छ ।

राहत संकलन कार्यमा जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेरा, वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेल, वरिष्ठ पशु विकास अधिकृत माधवप्रसाद अर्याल, प्रहरी नायब उपरीक्षकत्रय गुरुविष्णु काफ्ले, प्रेम भण्डारी र प्रकाश शाहसहित सहभागी हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment