Comments Add Comment

फोक्सोको संक्रमणः कसलाई, किन र कसरी हुन्छ ?

 

वातावरण विभागले गरेको मापन अनुसार काठमाडौंको हावा अति प्रदूषित रहेको र यहाँको हावा सास फेर्न अयोग्य हुने डरलाग्दो तथ्यांक सार्वजनिक भइसकेको छ ।

काठमाडौंको भयानक प्रदूषणले गर्दा सैयौं जनालाई श्वासप्रश्वास सम्बन्धी समस्या पैदा भएको छ भने, सैयौंलाई फोक्सोको क्यान्सर समेत भएको तथ्यांक छ । त्यसो त काठमाडौं मात्र होइन, देशमा शहरी क्षेत्रमा बढ्दो प्रदूषणले फोक्सोको रोगी बढाउँदैछ ।

अर्कोतिर धुमपान र सूर्तिजन्य पदार्थ सेवनका कारण श्वासप्रश्वासको रोगी डरलाग्दो ढंगले बढिरहेको छ । धुमपान गर्ने मात्र होइन, नगर्नेहरु समेत रोगको सिकार भएका छन् । खासगरी अरुले गर्ने धुमपानले पनि लाखौंको फोक्सो खराब गरिरहेको छ ।

प्रकृतिको निशुल्क उपहार 

शरीरले सास ग्रहण गर्न कुनै खर्च गर्नुपर्दैन । प्रकृतिले दिएको निशुल्क उपहार हो यो, जसको माध्यामबाट हाम्रो प्राण धानिएको छ । शरीरमा श्वसप्रश्वास प्रक्रियालाई नियमित र सहि ढंगले सुचारु राख्नका लागि फोक्साको भूमिका हुन्छ । यद्यपी अनेकौ कारणले हाम्रो फोक्सो खराब भइरहेको हुन्छ । यहि कारण श्वासप्रश्वास प्रक्रियामा समस्या आउने गर्छ ।

चुरोट र सूर्तीले बर्षेनी १५ हजारको मृत्यु

फोक्सो खराब हुने अनेक कारण हुन्छन् । त्यसमध्ये वायु प्रदूषण तथा धुमपान प्रमुख हुन् । नेपालमा सुर्तीजन्य पदार्थकै कारण वर्षेनी १५ हजारले ज्यान गुमाउने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार विश्वमा सुर्तीजन्य पदार्थ सेवनका कारण बर्षेनी ६० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यस्तै, अर्काले गरेको धुमपानका असरका कारण विश्वमा प्रत्येक वर्ष करिब छ लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।

वायु प्रदूषणले फोक्सोको रोगी बढेको बढ्यै

वायु प्रदुषणका कारण पनि फोक्सोको संक्रमण हुने गर्दछ । स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार वायु प्रदूषणकै कारण नेपालमा श्वासप्रश्वासका रोगीको संख्या विगत ५ वर्षमा दोब्बर भएको छ ।

हाल नेपालमा उक्त रोगीको संख्या ४३ प्रतिशत पुगेको छ । जस अनुसार ०६९ सालमा नेपालमा स्वास प्रस्वास सम्बन्धी रोगीको संख्या १९ हजार रहेकामा आर्थिक वर्ष ०७२/०७३ मा उक्त संख्या बढेर झण्डै २८ हजार पुगेको छ ।


के हुन्छ असर ?

धुमपानको असर- धुमपान तथा सुर्तीन्य पदार्थका कारण मानिसको मुटु, फोक्सो तथा कलेजोलाई असर गर्छ । जसको कारण मानिसलाई सिओपिडी (दीर्घकालीन अवस्थासम्म फोक्सो सुनिनु), टीबी, आज्मा, निमोनिया, लगायत फोक्सोको क्यान्सर लगायतका समस्या आउन सक्छ ।

वायु प्रदूषणका असर- विज्ञहरुका अनुसार वायुमा हुने स-साना कण स्वासनली हुदै फोक्सोमा पुग्छ, जसले श्वास लिन र फाल्नमा कठिनाई हुन्छ । यसले घाँटीको एलर्जी, दम, स्वास्वा हुने, ब्रोनकाइटिस लगायतका समस्या उत्पन्न गराउँछ । त्यस्तै, प्रदुषणले मुटुमा समेत असर गर्नुका साथै आँखा तथा छालामा समेत असर पार्छ ।

कसरी बच्ने ?

यसबाट बच्नको लागि फोक्सोलाई स्वस्थ्य राख्न जरुरी छ । त्यसका लागि सबैभन्दा महत्वपूर्ण भनेको धुमपान वा सूर्तिजन्य पदार्थ सेवन नगर्नु नै हो । वातावरणीय सफाई अर्को मूख्य सर्त हो । प्रदूषित हावाको सोझो असर फोक्सोमा पर्छ । त्यसैले यसबाट बच्नपर्छ ।

१. फोक्सोलाई स्वस्थ राख्न बिहान नियमित दौडनुपर्छ ।

२. आवश्यक परेको बेलामा मात्र गाडीको प्रयोग गरौ । अन्यथा पैदल हिँडौ  । पैदल हिँड्नाले फोक्सोमा भएका विकारलाई हटाएर फोक्सोलाई स्वस्थ राख्छ ।

३. सकेसम्म धूँवा, धुलोबाट बचौं । हिँड्नै परे मास्कको प्रयोग गरौ ।

४. पौष्टिक भोजन गरौ । फोक्सोलाई स्वस्थ राख्न फुलगोभी, ब्रोकाउली तथा बन्दाकोभीका अधिक सेवन गरौ । यसकेा सेवनले फोक्सोको क्यान्सरको जोखिम कम गर्छ ।

५. त्यसबाहेक, पानीको सेवन प्रशस्त मात्रामा गरौ । यसले पनि फोक्सोलाई सफा राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment