Comments Add Comment

हजारौं स्पेनिस सडकमा उत्रिएर भने- हामी भयभित छैनौं

शोकसभामा नेपालीहरु पनि सहभागी

स्पेनको पर्यटकीय शहर बार्सिलोनामा आतंककारी हमला भएको भोलिपल्ट हजारौं स्पेनिसहरु सडकमा उत्रेका छन् । हमला भएको सडक लाम्बलासमा पुगेर उनीहरुले एउटै आबाजमा ‘ हामी भयभित छैनौं’ भन्दै आफूहरु बिचलित नभएको सन्देश दिएका हुन् ।

बिहीबार अपरान्ह कातोलोनियाको मुटु राम्बलासमा हिडिरहेका मानिसहरुमाथि एउटा सेतो भ्यान लगेर जोताउँदा १४ जनाको ज्यान जानुका साथै सय बढी मानिसहरु घाइते भएका छन्शु ।

क्रबार स्पेनका राजाको नेतृत्वमा प्रधानमन्त्री सहित उच्चपदस्थ सरकारी अधिकारीहरु घटनास्थल पुगेर श्रदाञ्जली ब्यक्त गरे । एक मिनेटको मौनधारणपछि श्रदाञ्जली सभामा पुगेका हजारौं सर्बसाधरणहरुले आतंककारी हमलाबाट आफूहरु नडराएको भन्दै घटनाको भर्त्सना गरे ।

शोकसभामा नेपालीहरु पनि सहभागी 

शोकसभामा केहि नेपालीहरु पनि सहभागी बनेका थिए । स्पेनलाई कर्मथलो बनाएका नेपालीहरुले घटना प्रति दुःख ब्यक्त गर्दै सहभागिता जनाएका हुन् ।

बार्सिलोना निबासी सन्तोष श्रेष्ठले पुष्पगुच्छा चढाउँदै आफूले शान्तिको कामना गरेको सुनाए ।  उनले आफू बुद्दको जन्म भएको मुलुकबाट प्रतिनिधित्त्व गरेको भन्दै नेपालीहरु सधैँ शान्तिको पक्षमा रहेको सन्देश छाडेर आएको बताए ।

स्पेनको बार्सिलोना शहरमा मात्रै  करिव ४ हजार नेपालीहरु रहेको अनुमान छ । घटना क्षेत्र बरपर रहेका पसल तथा रेष्टुरेन्टमा गरी १० देखि १५ जना नेपालीहरुले काम गर्दै आएको बताइन्छ ।

घटनापछि बार्सिलोनाको अबस्था कस्तो ? 

आतंककारी हमला भएको भोलिपल्ट नै हजारौं सर्बसाधरणहरु घटना क्षेत्र लाम्बलासमा नै पुगेर शोकसभामा सहभागी बने।

यस्तै भूमिगत रेल सेवा तथा यातायातको साधनहरु पहिले जस्तै सञ्चालनमा आइसकेकोछ तर, चहलपहल कम छ । यसअघि मेट्रो सेवामा ठूलै भिडभाड देखिने भए पनि अहिले केहि कम देखिन्छ ।

घटनापछि दुई सय बर्ष पहिलेदेखि हुँदै आएको बार्सिलोनामा जारी ‘ग्रासिया फेस्ता’ (महोत्सव) स्थगित भएको छ ।

नेपालीहरुलाई कस्तो प्रभाव परेको ? 

पहिले भन्दा अहिले बार्सिलोनाको सुरक्षा अवस्था कडा पारिएको छ । मेट्रो तथा रेल वे स्टेशनमा हतियारसहित सुरक्षाकर्मी तैनाथ छन् । यसले स्पेनमा कागजातविहीन (बैधानिक अनुमति नपाएका) नेपालीहरुमा अब के- होला ? भन्ने डर देखिन्छ ।

तर, सुरक्षा चेकजाँच हुँदा बैधानिक अनुमति नभएकालाई भेटे पनि सिधै डिपोर्ट गर्ने प्राबधान भने छैन । प्रहरी कार्यालयमा लगेर औंठाछाँप लगाउन सक्ने झन्झट भएको हुँदा यसबारे सर्तक नै हुन उपयुक्त छ । औठाछाँप दिए पनि बैधानिक बन्ने प्रक्रियामा सामान्य झन्झट देखिए पनि बाटो भने रोकिदैन ।

तर, घटना लगत्तै आप्रबासी नीतिमा तुरुन्तै कडाई गर्ने स्पेन सरकारले  कुनै संकेत नदिएको हुँदा आत्तिनु पर्ने अबस्था देखिदैन। प्रहरीले मोरोक्को मुलका आप्रबासीहरुमाथि छानबिन कडा पारेको छ ।

स्पेनमा झन्डै ५० लाख आप्रबासीहरु छन् भने त्यस मध्ये ७ लाख मोरोक्कनहरु छन् । झन्डै साढे सात लाखको संख्यामा रोमानियनहरु स्पेनमा रहेका छन् यो सबै भन्दा धेरै आप्रबासी संख्या हो । करिव १० हजार नेपालीहरु स्पेनमा बस्दै आएको अनुमान छ ।

आतंककारीका लागि सस्तो हतियार : भिडमा गाडी कुदाउनु

मान्छेको भिडमा गाडी कुदाउनु आतंककारी लागि अहिले सबै भन्दा सस्तो हतियार बनेको छ। फ्रान्सको निस घटनाबाट सुरु भएको आतंककारी हमलाको यो नौलो प्रयोगले युरोपका सुरक्षाकर्मीलाई नै ठुलो सास्तीको बिषय बनेको छ ।

त्यसैले पनि छोटो अबधिमा नै पेरिस, लण्डन, स्टोकहोम र बर्लिनको क्रिसमस मार्केट गरी ७ वटा यस्तै प्रकारका घटनाहरु घटेका छन् ।

पछिल्लो क्रममा शान्त मानिएको बार्सिलोना शहर पनि यसको निशानीमा पर्यो । बन्दुक बम हमलाको तयारी भन्दा सर्बसाधरणलाई लक्षित गर्दै गाडी जोताउनु आतंककारीका लागि सस्तो र सरल उपाय बन्दै गएको छ । अर्को तर्फ सुरक्षाकर्मीलाई समेत यसलाई रोक्न उत्तिकै मुश्किल देखिन्छ ।

 दुनियाँकै सुन्दर सडक निशानीमा

युरोपमा आतंककारी हमलाका घटनाहरु बढिरहेको पनि स्पेनमा भने खासै सन्त्रास थिएन । बिशेष गरी फ्रान्स, बेल्जियम, जर्मनी र बेलायत जस्ता मुलुकहरु पटक-पटक आतंककारीको निशानामा परेका थिए । स्पेन भने यस्ता घटनाक्रमहरुबाट निकै टाढा नै थियो, शान्त देखिन्थ्यो ।

तर अबैधानिक आप्रबासीहरुलाई मुख्य रुपमा आश्रय दिदै आएको स्पेनमा हमला हुन सक्ने खतरा बारे भने अधिकारीहरु सजक नै थिए । अन्तत: अगष्ट १७ तारिख २०१७ मा नै स्पेनको पर्यटकीय गन्तब्य कातालोलिना केन्द्र लाम्बलास नै निशानीमा पर्यो ।

राम्बलास बार्सिलोनाको एक प्रमुख सडक हो । दुवै तिर वृक्ष रोपेर बिचमा मान्छे हिड्ने पैदल स्थल बनाएकोले पनि पर्यटकहरुका नौलो र लोकप्रिय मानिन्छ । कातालोनिया सेन्टर देखि कोलोम्बस स्मारकसम्म एक दशमलव दुई किलोमिटरको दुरी सम्मको यो पैदल सडकमा दैनिक हजारौं मानिसहरु ओहोरदोहोर गर्ने गर्छन् ।

सन् १३७७ ताका नै यसको निर्माण सुरुवात मानिए पनि सन् १४४० मा आएर मात्र यो बिस्तारै सडकको रुपमा परिणत भएको थियो । त्यसको केहि शताब्दीमा नै राम्बलास बार्सिलोनाको केन्द्रको रूपमा स्थापित बन्यो । त्यसताका देखिनै यहाँ बिभिन्न चाडहरु मनाउन तथा बजारका लागि प्रयोग गरिएको इतिहास छ ।

स्पेनिस एक प्रसिद्द कवि फेडेरीको गार्सियाले एक पटक भनेका थिए, “लाम्बलास दुनियाँको एउटा मात्र यस्तो सडक हो,जसलाई म कहिल्यै टुंगाउन चाहान्न ।”  तर, आतंककारी हमलाबाट त्यही एेतिहासिक महत्व बोकेको राम्बलासलाई सिध्याउने दुष्प्रयास भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment