६ भदौ, काठमाडौं । नयाँ शक्ति परित्याग गरेका देवेन्द्र पौडेल नेतृत्वको समूह आज औपचारिक रुपमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।
कोटेश्वरको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पौडेलले कार्यकर्ता भेलाबाट तयार राजनीतिक दस्तावेज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेर प्रवेश गरे । तर, यसलाई पार्टी प्रवेश नभनी नयाँ शक्ति पार्टी नेपाल र माओवादी केन्द्रबीचको ‘ध्रुविकरण’को संज्ञा दिइएको छ ।
यसअघि परिवर्तनकारी शक्तिहरुबीच वृहत ध्रुविकरण आवश्यक रहेको भन्दै देवेन्द्र पौडेल नेतृत्वको समूहले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको साथ छाडेको थियो ।
कार्यक्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरेका पदम खड्का जीवन नेतृत्वको समूह पनि माओवादी केन्द्रमा प्रवेश गरेको छ ।
कार्यकर्ता व्यवस्थापनका लागि कार्यदल गठन
केन्द्रदेखि तल्लो तहसम्मका नेता कार्यकर्ताको व्यवस्थापनका लागि केन्द्रदेखि सातवटै प्रदेशहरुमा कार्यदल गठन गरिएको छ ।
केन्द्रमा रामबहादुर थापा बादलको नेतृत्वमा संयोजन कार्यदल बनेको छ । कार्यदलमा देवेन्द्र पौडेल, परशुराम तामाङ, मातृका यादव, बामदेव क्षेत्री, महेन्द्र पासवान, कुमार आले, पासाङ शेर्पा, विश्वभक्त दुलाल र विप्लव निकट नेकपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका पदम खड्का ‘जीवन’ छन् ।
यसैगरी प्रदेश नम्बर १ मा गोपाल किराँती, सावित्री काफ्ले, पासाङ शेर्पा र टेकमान राई छन् ।
प्रदेश नम्बर २ मा विश्वनाथ साह, महेन्द्र पासवान, जुवेद अन्सारी र हरि चौलागाईं तथा प्रदेश नम्बर ३ मा कुमार पौडेल, हितमान शाक्य, अमरध्वज लामा र झक्कु सुवेदी छन् ।
यस्तै प्रदेश नम्बर ४ मा हरि अधिकारी, बलावती शर्मा, देव गुरुङ र भानु अधिकारी तथा प्रदेश नम्बर ५ मा वर्षमान पुन, पूर्ण घर्ती, बामदेव क्षेत्री र सुशीला श्रीपाइली छन् ।
यस्तै ६ नम्बर प्रदेशका गठित संयोजन कार्यदलमा शक्ति बस्नेत, माया प्रसाद शर्मा, रत्न रानामगर र बलराम पुन तथा सात नम्बर प्रदेशमा लेखराज भट्ट, लक्ष्मण जोशी, ललित ठगुन्ना र रविन्द्र सुनार कार्यदलमा छन् ।
प्रतिक्रिया 4