Comments Add Comment

रचनात्मक विद्यार्थी आन्दोलनको पक्षमा

केही समय अगाडि पूर्वविद्यार्थी नेताहरुले विद्यार्थी संगठनको आवश्यकता औचित्य सकिएकाले विघटन गर्नको लागि सुझाव दिए । निरंकुशता विरोधी बगैँचामा हुर्किएको विद्यार्थी आन्दोलन कै तपोवलमा देश यतिबेला गणतन्त्रको सुनौलो विहानीमा छ । निरंकुशता संग्राहलयका बस्तु भएका छन् । विद्यार्थी आन्दोलन राष्ट्रियताको पहरेदार बनेको छ । महंगी, कालोबजारी, भ्रष्टाचार, मूल्य बृद्धि, शुल्क बृद्धि जस्ता जनताका जनजिविकाको सहयोगी विद्यार्थी आन्दोलन बनेको छ । आजभोलिको विद्यार्थी आन्दोलन असमान शिक्षा प्रणाली, शिक्षा क्षेत्रमा भएको नीजिकरण आजकल व्यापारिकरणको नियन्त्रक बनेको छ ।

जतिबेला राज्यले शुसासन सुव्यवस्था कायम गर्न नसक्दा सडकको प्रतिपक्षि आन्दोलन मार्फत दवाव सृजना गर्ने विद्यार्थी आन्दोलन विघटन गर्न सर्वथा गलत हुनेछ । यो कुरा सत्य हो की विद्यार्थी आन्दोलनहरु पनि कहिँनकही चुकेका छन् । गल्ती कमजोरीहरु जरुर भएका छन् । यसको निष्ठामा स्खलन पैदा भएकै छ । तर, यसको अर्थ विघटन होइन । बरु रुपान्तरण जरुरी छ । परम्परागत शैलीलाई बदल्नु आवश्यक छ ।

निरंकुशता विरोधी आन्दोलन

‘नपुंशक राणाहरु’ भने बापत मृत्युदण्ड पाएका गंगालाल श्रेष्ठहरुले जहानियाँ राणा शासनको तख्ता पल्टाइदिएका थिए । वि.सं. २००४ सालमा आउँदा ‘जयतु संस्कृतम् आन्दोलन’बाट संस्थागत रुप धारण गर्न पुग्यो । त्यसैबाट सुरु भएको विद्यार्थी आन्दोलन वि.सं. २००७ सालको प्रजातन्त्रका लागि संघर्ष गर्‍यो । वि.सं. २०१७ सालदेखि ३० वर्षे पञ्चायति निरंकुशतासँग मुकाविला गर्दै राजनीतिक र शैक्षिक अधिकारका लागि संघर्ष गर्‍यो । यसै आन्दोलनको तपोवलमा वि.सं. ०३६ सालको विद्यार्थी आन्दोलनले निरंकुश पञ्चायती व्यवस्थालाईसमेत जनमत संग्रहसम्म लतारेर ल्यायो । वि.सं.२०४७ सालको जनआन्दोलन मार्फत प्रजातान्त्रिक व्यवस्थाका लागि संघर्ष गरे ।

रञ्जित तामाङ

क्रान्तिकारी स्पिरिटमा ह्रास आउदै जाँदा थोरबहुत कमीकमजोरीका बाबजुद क्रान्तिकारी विद्यार्थी आन्दोलनले गणतन्त्रको नयाँ विहानीका लागि संघर्ष गर्‍यो र आज मुलुलमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयन चरणमा छ । विद्यार्थी आन्दोलनको सुरुवातदेखि आजसम्म नेपालको विद्यार्थी आन्दोलनले कयौँपटक निरंकुशतासँग मात्र लडेन बरु राष्ट्रियताका लागि दिलोज्यान लगाएर लड्यो ।

जनजिविकाका लागि संघर्ष गर्‍यो । ठूलो त्याग, तपस्या र वलिदानी रच्यो । आजको गणतन्त्रको नयाँ विहानीमा पनि अझै अतिवादका चूनौतीहरुका अलावा खोक्रो राष्ट्रवादका चुनौतीहरु पनि ज्युकात्यु छन् । प्रतिगमनका काला बादलहरु मडारिन सक्छन् । त्यसैले चलाख र चनाखो विद्यार्थी आन्दोलन आजको आवश्यकता हो ।

शिक्षाको पुनः संरचना र रुपान्तरण

विद्यार्थी आन्दोलनको इतिहासलाई सरसरर्ती पल्टाउदा विद्यार्थी आनदोलनले राजनीतिक रुपमा निरंकुशताको विरोध र राजनीतिक अधिकारको वकालत गरेको थियो । निरंकूश शासनको भण्डाफोर गरेको थियो । र बैज्ञानिक, जनमुखी र शैक्षिक स्वतन्त्रताको माग गरेको थियो । करिब सात दशक लामो विद्यार्थी आन्दोलनले उठाएका राजनीतिक, शैक्षिक मागहरु केही पूरा भएर नै छाड्यो । जसलाई जनताको प्रतिनिधिद्वारा निर्मित नेपालको संविधान २०७२ ले सम्बोधन पनि गर्‍यो । उक्त संविधानको प्रस्तावनामा नै सामन्ती, निरंकुश केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेको सबै प्रकारका विभेद र उत्पिडन अन्त्यको उदघोष गरेको छ । जनताको मौलिक हकको रुपमा शिक्षामा सबै जनताको पहुँच अनिवार्य गरेको छ ।

सरकारले भर्खरै शिक्षा क्षेत्रका ज्वलन्त समस्याहरुलाई सम्वोधन गर्दै शिक्षा ऐन पारित गरेको छ । यसले नेपालका शिक्षा क्षेत्रका सवालमा विद्यार्थी आन्दोलनले उठाउँदै आएका मागहरुलाई के कति सम्वोधन गर्न सक्यो ? के कति सम्वोधन गर्न सकेन ? यसको हिसाव किताब आगामी समयमा हुने नै छ । विद्यार्थी आन्दोलनले उठाएका शैक्षिक एजेण्डाहरु पुरानै नभए पनि शैक्षिक क्षेत्रका पुनःसंरचनाका लागि आधारभूत शिक्षाको व्यवस्थापन, माध्यामिक शिक्षा र उच्च शिक्षाको व्यवस्थापन, प्राविधिक एवं व्यवसायीक शिक्षाको व्यवस्थापनका अलवा संघीय, प्रदेश र स्थानीय सरकारको दायित्वलाई स्पष्ट गरी शिक्षा क्षेत्रको लगानी वृद्धि, आधुनिकिकरण विज्ञान प्रविधिमैत्री माध्यामिक तह, निःशुल्क र उच्च शिक्षा एवं प्राविधिक शिक्षामा सर्वसुलभ बनाउने कुरा नै शिक्षा क्षेत्रको रुपान्तरणको अभियान बन्न सक्छ ।

निजी शिक्षालाई नियन्त्रण गरी सहकारी वा ट्रस्ट मार्फत सञ्चालन गरिनुपर्दछ । यद्यपि विद्यार्थी आन्दोलनले उठाएको वैज्ञानिक र जनवादी शिक्षा भनेको दार्शनिक आधारमा मार्क्सवादी शिक्षा नै हो । आज यो विषयमा सबै विद्यार्थी संगठन सहमत नहुन पनि सक्छन् । तर मार्क्सवादको दार्शनिक आधार नै वैज्ञानिक, जनवादी र आत्मनिर्भर शिक्षाको पक्षपाती हो । र ,व्यवहारतः यस्तो प्रकारको शिक्षाको कुनै पनि ढंगको विरोध र खण्डन आफैमा हास्यास्पद हुनेछ । अतः हामी मार्क्सवादीहरुको मुख्य दायित्व यसको नीतिगत कार्यान्वयनको पक्षमा निरन्तर सम्झौताहिन संघर्ष गर्नु नै अपरिहार्य आवश्यकता हो । र हामीलाई यस दर्शनले यसै भन्छ ।

शिक्षा प्रणालीमा नै फेरबदल

नेपालको वर्तमान शिक्षा प्रणालीलाई फेरबदल गर्नु नितान्त जरुरी भएको छ । ५० औं वर्ष अगाडि स्थापना भएका शिक्षण संस्थाहरु काम नलाग्ने, थोत्रा र पुरानै मानकहरुलाई घुमाउरो भाषाले आम विद्यार्थीहरुमा घुसाइरहने माध्यमको रुपमा विकास भइरहेका छन् । यस्तो अवस्थामा पुगेका पुरानै एकात्मक पञ्चायती व्यवस्थाले निर्माण गरेको सौन्दर्य मूल्य र मान्यतामा आधारित छ । यसले जनजिविकाको पक्षमा शिक्षा दिइरहन सक्दैन ।

हिजो भएका त्याग समर्पण र वलिदानीकै कारण राजनीतिक स्वतन्त्रता पाएको कुरा सबैले स्मरण गर्न जरुरी छ । ता कि आजको विद्यार्थी आन्दोलनले परिवर्तित घटनाक्रमलाई पछ्याउँदै सृजनशिल र प्रयोगात्मक शिक्षा प्रणालीको बिकास गर्नु नितान्त जरुरी छ । शैक्षिक नीतिलाई परिवर्तित सन्दर्भनाकुल विकास गर्न अत्यावश्क छ । सबै प्रकारका विद्यार्थीहरुलाई राजनीतिप्रति रुचि राखेर एकैप्रकारको बुझाई राख्ने र राजनीतिप्रति व्याख्या र विश्लेषण गर्न सक्ने ज्ञान दिन आवश्यक छ ।

पछिल्लो समय नेपालका शैक्षिक संस्थाहरु निकै भद्रगोलताको अवस्थामा रहेका छन् । केन्द्रीय विश्वविद्यालयको लाइव्रेरीको अवस्था निकै भद्रगोलताको अवस्थामा रहेको छ । हेर्दा निकै लाजमर्दो विषय हो । त्यतिमात्रै हैन नेपालमा करिब गन्यमान्य विश्वविद्यालयहरुको हालत पनि उस्तै प्रकारको रहेको छ । विश्वविद्यालयहरु आजकल जनशक्तिविहीन, ल्याव र पुस्तकालय विहीन हुनु भनेको दर्दनाक अवस्था हो ।

भौतिक पूर्वाधार असाध्यै जिर्ण हुनु, देशभरका आंगिक क्याम्पसहरु पनि जिर्ण अवस्थामा हुनु, नेपालको गौरवपूर्ण गाथा बोकेका दरवार हाईस्कुल, त्रिचन्द कलेज लगायतका शिक्षणसंस्थाहरु तीन रेक्टर स्केलको भूकम्प आउँदा नै क्षतविक्षत हुने अवस्था रहेको छ । जसले अन्तर्राष्ट्रिय रुपमा नेपाललाई बदनामित बनाउँदै लगेको छ । तिनको रचनात्मक ढंगले सुधार, रुपान्तरण र विकास गर्नु अहिलेको विद्यार्थी आनदोलनको मुख्य चुनौति रहेको छ । हिजोका जिर्ण भौतिक संरचना, धुकधुक अवस्थामा रहेको शिक्षण सामाग्रीहरुले शिक्षण अवस्थालाई जिउन भन्दा पनि मर्न बाध्य तुल्याउँछ । जसले विश्व समुदायमा नेपालको सेतो पहिरनमा कालो धब्बा लगाएको स्पष्ट आभास हुन्छ ।

(तामाङ अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment