Comments Add Comment

जुत्ताको तुनाले देउवालाई सकस !

जुत्तामा तुना बाँध्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।

८ भदौ, नयाँदिल्ली । सभ्रान्त वर्गमा शरीर ढाक्ने सबै बस्तु ब्रान्डेड हुनु सामान्य विषय हो । तर, सभ्रान्त शैली अपनाउन खोज्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार नयाँदिल्लीस्थित महात्मा गान्धीको समाधिस्थलमा सकस पर्‍यो ।

नेपाली सभ्रान्त वर्गमा ‘पार्टी सुज’ लोकप्रिय छ । महँगो पर्ने भएकाले त्यस्ता जुत्ता सामान्यभन्दा फरक हुनु स्वाभाविकै हो । तर, तिनमा सामान्य जुत्तामा जस्तो तुना लगाउनु पर्छ । देउवाले पनि भारत भ्रमणको क्रममा तुनावाला जुत्ता लगाएका छन् ।

राजघाटस्थित गान्धीको समाधिस्थलमा पुष्पहार चढाउन जाँदा जुत्ता खोल्नु पर्छ । देउवाले पनि त्यसै गरे । तर, फर्किने क्रममा ७२ वर्षे प्रधानमन्त्री देउवाले जुत्ता लगाउन थाले ।

सँगैको कुर्सीमा बसेर वृद्ध पतिले घोरिएर जुत्तामा तुना बाँधिरहेको दृष्य पत्नी आरजुले अधैर्यतापूर्वक नियालिरहेकी थिइन् । उनका हात अगाडि सर्न पनि खोजिरहेका थिए । तर, सार्वजनिक समारोहमा वृद्ध पतिको जुत्तामा तुना बाँधीदिँदा बेहोर्नुपर्ने लोकलाजका कारण उनी अगाडि सर्न पनि सकिनन् ।

नेपाली राजदूत दीपकुमार उपाध्याय, पूर्वमन्त्री एनपी साउद मात्र नभई अंगरक्षकले पनि उनले जुत्तामा तुना लगाइरहेको दृष्य हेरिरहेका थिए । राजा या राजपरिवारका कुनै सदस्य हुन्थे भने विदेशी भुमिमै भए पनि अंगक्षकले जुत्ता लगाइदिँदै गरेको दृष्य नौलो हुने थिएन । देउवा सामन्ती शासक नभएकाले त्यस्तो भद्दा दृष्य भने देख्नु परेन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने मोजा पनि नलगाउनुपर्न खराऊजस्तो जुत्ता लगाएका थिए । त्यसैले उनका लागि जुत्ता खोल्नु र लगाउनु सामान्य कुरा भयो ।

‘गार्ड अफ अनर’ (विशेष राजकीय सम्मान) लिने बेलामा सलामी लिन जान झण्डै छुटाए, देउवाले । सलामी लिन जान छुटेको झल्याँस्स सम्झिए र, ‘ए…’ भन्दै फर्किए ।

गार्ड अफ अनर अगाडि राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री मोदी आइसकेका थिए, देउवा पनि पुग्दै थिए । देउवाको मोटर अति विशिष्ट स्थलमा पुग्नु अगावै एउटा सानो कदको भुस्याहा कुकुर छिर्‍यो । सुरक्षाकर्मीले खेदाउने प्रयास गर्दा राष्ट्रपति भवनतिर दगुर्‍यो ।

भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा चढ्नका लागि व्यवस्था गरिएको गाडी ।

गार्ड अफ अनर लिइसकेपछि देउवाले पत्रकारलाई छोटो सम्बोधन गरे । तर, माइक नभएकाले उनले बोलेको सुनिएन । उनले ‘मोदीजी नेपाललाई माया गर्ने प्रधानमन्त्री भएको र हाम्रो खुल्ला बोर्डर रहेको’ बताएकोसम्म सुनियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment