Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः पञ्चेश्वर लगानी मोडलदेखि अध्यागनको जिम्मा प्रहरीलाई दिने तयारीसम्म

१२ भदौ, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई आफ्नो प्राथमिकतामा राखेका छन् । बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नेपाल र भारतबीच लगानीको मोडालिटी तय भएको विषयलाई पत्रपत्रिकाहरुले आज लेखेका छन् । पत्रपत्रिकाका अनुसार, आयोजनामा भारतले दुईतिहाइ र नेपालले एकतिहाइ लगानी गर्ने सहमति भएको छ ।

निजामति कर्मचारीको जिम्मामा रहेको अध्यागमन विभाग उनीहरुबाट खोसेर नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको विषयको खबर पनि आजको पत्रिकामा पढ्न पाइन्छ ।

भारतीय बुलेटबाट ग्यास आयात गर्दा नेपालबाट वार्षिक ३ अर्ब बाहिरिने गरेको, संसद् सचिवालयका सचिवको तलब मन्त्रीको भन्दा धेरै हुने गरी कानूनको मस्यौदा तयार पार्न लागिएको, प्रदेश र केन्द्रको निर्वाचन क्षेत्र निर्धारणको काम सकिएकोलगायतका खबरलाई आजका पत्रपत्रिकाहरुले विशेष प्राथमिकताका साथ लेखेका छन् ।

गोरखापत्र दैनिकले आज ‘भारत भ्रमणबाट देशको शीर उँचो भएको’ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्त गरेको भनाइलाई मुख्य खबर बनाएर छापेको छ । दल दर्ता गर्न निर्वाचन आयोगमा ९५ वटा निवेदन परेको खबरलाई पनि गोरखापत्रले उत्तिकै प्राथमिकता साथ लेखेको छ । जोखिमयुक्त बस्तीका भूकम्प प्रभावित लाभग्राहीको सूचीमा परेको खबरलाई गोरखापत्रले एंकर बनाएको छ ।

नागरिक दैनिकले मेलम्ची अझै अनिश्चित बनेको लेखेको छ । नागरिक दैनिकका अनुसार काठमाडौं खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनीसँगको ठेक्का रद्द गर्ने तयारी गरेकाले मेलम्ची अनिश्चित बनेको हो । नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन मेडिकल काउन्सिलले बनाएको प्रतिवेदन नै फर्जी भएको विषयलाई पनि नागरिकले पहिलो पृष्ठमा समेटेको छ ।

भारतीय बुलेटबाट तीन अर्ब बाहिरिने गरेको तथ्यलाई अन्नपूर्ण पोस्ट दैनिकले आज मुख्य खबर बनाएर लेखेको छ । अन्नपूर्णमै संसद् सचिवालयका सचिवको तलब मन्त्रीभन्दा दोब्बर हुने खबर पढ्न सकिन्छ । सेनालाई लोकसेवाको परीक्षा फलामको च्युरा भएको खबरलाई पनि आज अन्नपूर्णले छापेको छ ।

भ्रष्टलाई पनि चुनाव लड्न दिन कांग्रेस सांसद्हरुले दबाब दिएको विषयलाई कान्तिपुरले मुख्य खबर बनाएर लेखेको छ भने नयाँ पत्रिका दैनिकले पञ्चेश्वर लगानीको मोडल टुंगिएको जनाएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सकेको विषयलाई पनि नयाँ पत्रिकाले आज लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment