Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः प्रदेश २ को चुनावदेखि लडाकु शिविरका बेरुजु वैधसम्म

१३ भदौ, काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिकाहरुले आज विविध विषयहरुलाई प्राथमिकताका साथ छापेका छन् । भुटान र चीनको सीमा दोक्लमबाट भारतीय सेना २ महिना १० दिनपछि फर्किएको खबरलाई आज सबैजसो दैनिक पत्रिकाहरुले लेखेका छन् ।

माओवादीका पूर्वलडाकुका लागि शिविर व्यवस्थापनमा भएको बेरुजुले वैधता पाएको छ । यो विषय पनि आजका पत्रपत्रिकामा पढ्न सकिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबाट सत्तारुढ दल नै क्षुब्ध बनेको, अख्तियार लगाएर कुलमान घिसिङलाई हटाउने खेल भएको, दलहरु असोज २ गते २ नम्बर प्रदेशमा हुन लागेको निर्वाचनमा केन्द्रित भएकोलगायत खबर आजका पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा समेटिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । यो विषयलाई आज गोरखापत्र दैनिकले मुख्य खबर बनाएर छापेको छ । गोरखापत्रमा आज शिक्षा संशोधन विधेयक स्वीकृत भएकोदेखि निर्वाचनमा बालबालिका प्रयोग नगर्ने भनेर राजनीतिक दलले प्रतिवद्धता व्यक्त गरेकोसम्मका खबर छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले लडाकु शिविरका बेरुजुले एकाएक वैधता पाएको लेखेको छ । शान्ति प्रक्रियामा आएपछि माओवादी लडाकुको शिविर व्यवस्थापनका नाममा भएका विवादास्पद खर्च र बेरुजुलाई माओवादी सरकारमा भएका बेला महालेखाले करिब ४६ करोड रुपैयाँलाई वैधता दिएको हो । अन्नपूर्णमै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्नेहरु घट्दै गएको खबर पनि पढ्न सकिन्छ ।

कान्तिपुर दैनिकले दोक्लमबाट भारतीय सेना फर्किएकोलाई मुख्य खबर बनाएको छ । आयल निगम जग्गा खरिदमा बिचौलिया प्रयोग भएको सामग्री पनि कान्तिपुरमा छ । नागरिक दैनिकले भृकुटीमण्डपको जग्गा दुरुपयोगसँगै अख्तियार लगाएर कुलमान घिसिङलाई हटाउने खेल सुरु भएको लेखेको छ । नयाँ पत्रिका दैनिकले प्रदेश नं. २ मा असोज २ गते हुने चुनावी चहलपहलको विषयलाई छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment