Comments Add Comment

नेपाली दूतावास अष्ट्रेलियामा परामर्श बैठकः बिद्यार्थी कल्याणकारी कार्यक्रम सञ्चालन गरिने

२९ अगष्ट, क्यानबेरा । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजधानी क्यानबेरामा बिभिन्न राज्यमा कार्यरत महावाणिज्यदूत र वाणिज्यदूतहरुसँग परामर्श बैठक गरेकी छन् ।

अष्ट्रेलियाका बिभिन्न राज्यहरुको औपचारिक अध्ययन भ्रमण सकेपछि राजदूत शेर्पाले मंगलबार दिउँसो राजधानी क्यानबेरामा परामर्श बैठकको आयोजना गरेकी हुन् ।

बैठकले नेपाल अष्ट्रेलियाबीच व्यापार वाणिज्य तथा लगानीका अवसरहरु बिस्तारका लागि प्रत्येक महावाणिज्यदूतावास र वाणिज्यदूतावासहरुमा नेपाल-अष्ट्रेलिया ट्रेड एण्ड कमर्स टिम स्थापना गर्ने निर्णय गरेको छ ।

बढ्दो नेपाली विद्यार्थीहरुको संख्यालाई दृष्टिगत गरी गैह्र आवासीय नेपाली संघ (एनआरएन) तथा नेपाली शैक्षिक परामर्शदाताहरुसँग परामर्श गरी विद्यार्थी कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अष्ट्रेलियास्थित नेपाली दूतावासका अनुसार प्रत्येक वर्ष अष्ट्रेलियाका बिभिन्न शहरहरुमा आर्थिक सम्मेलन गरी नेपालको उत्पादन तथा उद्योग व्यवसाय प्रवर्द्धन गर्ने निर्णय बैठकले गरेको छ ।

साथै नेपाल तथा अष्ट्रेलियाका शहरहरुको आर्थिक, भौगोलिक, जनसांखिक, सांस्कृतिक समानताको पहिचान गरी सो आधारमा शहरहरुबीच भगिनी सम्बन्ध कायम गर्ने निर्णय पनि भएको दूतावासले जनाएको छ ।

खेल कुटनीतिको माध्यमबाट नेपाल अष्ट्रेलियाको सम्बन्धलाई जनस्तरसम्म अझ मजबुत बनाउँदै लैजाने, दुई देशबीच साँस्कृतिक कार्यक्रमहरु आदान प्रदान गर्ने र उच्चस्तरीय राजनीतिक, शैक्षिक व्यापारिक भ्रमणहरु आदान प्रदान गर्नेतर्फ प्रयास गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले महावाणिज्यदूत/वाणिज्यदूतहरुले गरिरहेको कामको सह्राना गरिन् । उनले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान अभिवृद्धि गर्न महावाणिज्यदूतावास र वाणिज्यदूतावासहरुले अझ बढी योगदान पुर्‍याउनुपर्नेमा जोड दिइन् ।

अष्ट्रेलियामा नेपाली दूतावास स्थापना भएपछि यसरी व्यवस्थित कामहरु हुन थालेको र महत्वपूर्ण निर्णयहरु भएको यो पहिलो पटक हो ।

परामर्श बैठकमा न्यूसाउथवेल्सका महावाणिज्यदूत दिपक कुमार खड्का, भिक्टोरीयाका महावाणिज्यदूत चन्द्र योञ्जन, साउथ अष्ट्रेलियाका वाणिज्यदूत दिपक धमला, वेस्टर्न अष्ट्रेलियाका वाणिज्यदूत फ्रेडरिक निल ब्राउन, क्वीनसल्याण्डका वाणिज्यदूत जोशेफ एन्थोनी टुमा लगायतको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment