१४ भदौ, काठमाडौं । १२ वैशाख ०७२ को महाभूकम्पलगत्तै नुवाकोटको त्रिशुलीमा एक आधुनिक जोगी र उनका अनुयायीहरुले डेरा जमाए ।
मध्य क्षेत्रका १४ जिल्ला लगातारका धक्काबाट आक्रान्त थिए । नुवाकोट पनि अति प्रभावितमध्येको थियो । सोही क्रममा ‘बडी बिल्डर’जस्ता देखिने भारतीय जोगी आफ्ना सहयोगीहरुको टोलीका साथ त्रिशुलीमा झुल्किए ।
त्यतिबेलाका मध्यक्षेत्रका डीआईजी (हाल एआईजी) देवेन्द्र सुवेदी सोही इलाकामा पुगेका थिए । अनौठो गतिविधि देखेर सुवेदीले ती जोगीलाई भेट्ने सोच बनाए ।
त्यस क्षेत्रमा उद्धार र राहत कार्यमा प्रहरी टोलीको नेतृत्व गरिरहेका तत्कालीन एसएसपी सुवोध घिमिरेले पनि सुवेदीलाई पछ्याए । ती जोगी अरु कोही नभई गत सोमबार बलात्कारको आरोपमा १० वर्षको जेल सजाय पाएका रामरहिम सिंह थिए ।
भेटका क्रममा सुवेदी र घिमिरेसँग स्थानीय विद्यालय निर्माण गरिदिने बताएका थिए । र, भूकम्प पीडितका लागि घर बनाइदिने आश्वासन बाँडेका थिए ।
त्रिशुलीमा डेरा जमाउँदै गर्दा उनले विस्थापित परिवारलाई एक सरो भाँडाकुँडा दिए । सोही क्रममा एक दिन उनका अनुयायीले स्थानीयबासिन्दासँग भने, ‘महाराजजी आइसक्नु भएको छ, अब भूकम्प आउँदैन ।’ तर, सोही साँझ भूकम्पको शक्तिशाली धक्का आयो, त्रिपालमा बसिरहेका परिवार आत्तिँदै बाहिर निस्किए ।
हाल विदुर नगरपालिकामा पर्ने पीपलटारका पीडितलाई रामरहिमले दूध पाउडर, बेसार, खुर्सानीको धुलो, मैनबत्ती, चिनी, चामल, गहुँको पीठो, खाने तेल, थाल, कुकरलगायत सामग्री वितरण गरेका थिए ।
उनको टोलीमा डा. पीआर नैन, डा. पी इन्सान, डा. स्वप्निल गर्गलगायत ३५ स्वास्थ्यकर्मी पनि थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लेखिएको ब्यानर टाँगेका ५९ वटा सवारी साधन लिएर आएको थियो, उनको टोलीले । त्यसमा ३४ वटा ट्रक, दुई मोबाइल अस्पताल, पाँच एम्बुलेन्स, एक दमकल, नौ बस र आठ वटा साना सवारी साधन थिए ।
दारी र कपाल पालेका रामरहिमले आफूलाई रकस्टार र चलचित्रका कलाकारका रुपमा पनि चिनाएका थिए । उनी खैरो पाइन्ट र रातो टीसर्टमा थिए ।
केही दिन त्यहाँ बसेर उनी फर्किए । त्यससँगै विद्यालय र पीडितका घर निर्माण गरिदिने उनको आश्वासन पुरा भएन । त्यसपछि उनको नाम लिएर कोही सम्पर्क गर्न त्यस क्षेत्रमा पुगेन ।
स्रोतका अनुसार भैरहवातिरका उनका एक अनुयायीले रामरहिमलाई त्यस क्षेत्रमा पुर्याएका थिए । साथमा जगदिश्वरनरसिंह केसी पनि थिए । फोरम नेपालका दुई सभासदले पनि त्यसका लागि सहजीकरण गरेका थिए । तीमध्ये एक पूर्वमन्त्री पनि हुन् ।
प्रतिक्रिया 4