+
+
Shares

१० बर्षपछि फेरि ‘परिचय’मा फर्किए सरिता र ऋषि

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १५ गते १०:३४


१० वर्षपछि पुन काँचको पर्दामा फर्किएका छन् सरिता लामिछाने र ऋषि लामिछाने । १० वर्षअघि ‘परिचय’ नाम राखेर सिरियल यात्रा सुरु गरेका लामिछाने दम्पतिले त्यही सिरियलबाट नाम र दाम दुबै आर्जन गरेका थिए । त्यसपछि ऋषि ठूलो पर्दामा रमाउन थालेपछि सरिता अन्य काममा ब्यस्त भइन् । अब फेरि ‘परिचय’ मार्फत नयाँ पुस्ताका दर्शकसँग साइनो गाँस्ने अभियानमा छन् । परिचय केन्द्रित रहेर निर्देशक ऋषि लामिछानेसँग गरिएको कुराकानीः

शम्भुजीत बास्कोटाले भने परिचय राख्नु

सिरयलमा एकछत्र राज थियो सरिता लामिछानेको । उनी जुन सिरियलमा अनुबन्ध हुन्थिन्, सिरियलले हिटको उपाधी पाइहाल्थ्यो । सरिता ‘मेघा’ सिरियलमा काम गर्दै थिइन् । उनका श्रीमान् (ऋषि लामिछाने)का साथी थिए सुदिप रेग्मी । उनले सुझाबको भाषामा भने ‘सरिता जी तपाई किन अरुको सिरियलमा काम गर्नुहुन्छ । आफै सिरियल बनाउनुस् ।’

सरिताले श्रीमान ऋषीसँग सल्लाह गरिन् । कुरो मनासिब लाग्यो । सुदिपकै साथमा तत्कालिन मिडिया हबका मालिक सोम धितालसँग भेट भयो । धितालले पनि त्यही सल्लाहा दिए । श्रीमान् ऋषि निर्देशनमा पोख्त थिए भने श्रीमति सरिता अभिनयमा । खास गार्‍हो थिएन उनीहरुलाई ।

प्रारम्भिक योजना बनाए र नाम जुराए ‘अस्तित्व वा परिचय’ । दुई मध्ये कुन नाम उपयुक्त होला ? विभिन्न ब्यक्तिसँग राय लिने क्रम जारी थियो । एकेडमीमा संगीतकार शम्भुजीत बास्कोटासँग भेट भयो । बास्कोटाले सोधे-‘के गर्दै छौं ? ऋषिले भने ‘दाई सिरियल गर्न लागेको, नाम के राख्ने फाइनल भएको छैन ।’
बास्कोटाले दुई नाम सुन्ने बित्तिकै सुझाब दिए ‘परिचय राख हिट हुन्छ ।’ बहुमतले परिचय नै उपयुक्त हुने सुझाब दिए । त्यहि सिरियल नेपाल टेलिभिजनवाट १४१ भाग प्रशारण भयो ।

पहिलो सुटिङ कालीमाटीको सुनार गाउँमा
सिरियल निर्माण गर्ने पक्का भएपछि लामिछाने दम्पत्तिले १० दिन लगाएर तीन भाग सुटिङ गरेका थिए । सिरियलको सुरुवात प्रसुती गृहबाट भएपनि बाँकी सुटिङ कालीमाटीको सुनार गाउँमा गरिएको थियो ।

कथामा उल्लेख भए अनुसारका पात्र र परिवेश खोज्नेक्रममा उनीहरु कालीमाटीको सुनार गाउँ पुगेका थिए ।

दक्षिण एशियाकै हिट सिरियल
‘परिचय’ प्रशारण भएपछि सिरियलको दुनियामा राम्रै बहस भयो । हिन्दी सिरियल हेरेर पारिवारिक सिरियलको तृष्णा मेट्ने गृहणीहरु नेपाली सिरियलमै रमाउन थाले ।

त्यही वेला जापानको एनएचके टीभीले लामिछाने दम्पत्तिलाई एउटा पत्र पठायो । लामिछाने भन्छन्-‘त्यो पत्र हेरेपछि निकै खुसी लाग्यो ।’ पत्रमा ‘परिचय’लाई दक्षिण एशियाकै टप श्रृङ्खला भनेर उल्लेख गरिएको थियो ।

नेपाली सिरियलको वारेमा बहस भएको र विभिन्न अध्ययन पश्चात आफ्नो सिरियल हिट भएको प्रमाण एनएचकेले आफुलाई दिएको लामिछाने बताउछन् ।

१० वर्षपछि धेरै फेरिए
१० वर्षपछि फेरि त्यहि सिरियल मार्फत लामिछाने दम्पत्ती काँचको पर्दामा फर्किएका छन् । एस्प्रो मिडिया र नेपाल टेलिभिजनको प्रस्तुति स्वरुप परिचयको पुनः प्रशारण सुरु भएको छ ।

ऋषि र सरिता बाहेक अरु सबै नयाँ अनुहार छन् । प्रारम्भमा दिनेश शर्मा, नागेन्द्र घिमिरे, भारती घिमिरेलगायतले अभिनय गरेका थिए भने अहिले सरोज खनाल, रुपा राना, जस्मिन खड्का लगायतले अभिनय गरेका छन् ।

१० वर्ष अघि आठसय रुपैयाँमा मेकअप गराएको संझदै लामिछाने भन्छन्-‘अहिले दिनको चार हजार तिर्नुपर्छ ।’ लाइटम्यानलाई २५० दिदा हुन्थ्यो, अहिले दुई हजार बुझाउनुपर्छ । अरु धेरै कुरामा भारी मुल्य बृद्धि भएको छ । लामिछाने भन्छन्-‘मैले केबल पैसाको लागि सिरियल बनाएको हैनँ ।’

गृहणीको कथामा सिरियल
पछिल्लो समय कमेडी सिरियलको बाढी आएपनि पारिवारिक सिरियलको अभाव भएको महसुस् गरेका छन् लामिछानेले । उनलाई लाग्छ, पारिवारिक श्रृङ्खला हेरेर मनोरञ्जन गर्नेहरु पुनः नेपाली सिरियलमा आकषिर्त हुन्छन् । ‘परिचय’ नेपाली गृहणीको चाहना अनुसारको हुने पनि उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?