Comments Add Comment

स्टारडमको खोजीः नेपाली सिनेमाको भ्रमको खेती

राजेश हमाल, दयाहाङ हुँदै अनमोल केसीसम्म

पुरानै भाषा दोहोर्‍याउँ, कुनैबेला राजेश हमालको लामो कपालवाला टाउको बिक्थ्यो ।

कुरा सोह्रैआना सही हो, हमालबिनाको सिनेमा रापबिनाको आगोजस्तै ओसिलो हुन्थ्यो । उनका कारण सिनेमा बिक्थ्यो ।

लगानीकर्ताका निम्ति ‘सेफ गेम’ खेल्ने गोटी थिए, हमाल । पोस्टरमै सही, हमालको टाउको टाँसिदिएपछि दर्शक हलसम्म तानिन्थे । भलै, उनले आफ्नो जमानामा सम्झनलायक फिल्म नदिए पनि । सत्य के हो भने नेपाली सिनेवृत्तमा ‘स्टारडम’को पगरी उनैले पहिरिए । निःसन्देह नेपाली सिनेमामा उनको ‘स्टारडम’ थियो ।

यसको अवशेष अहिले पनि कहीँ कतै बाँकी छ । कुनै स्कुले विद्यार्थी, जो हिन्दी/अंग्रेजी सिनेमा हेरेर हुर्किएका छन्, लाई नेपाली कलाकारको नाम सोध्दा अन्कनाउँदै भन्नेछन्, ‘राजेश हमाल ।’

रसरंगको दुनियाँभन्दा टाढा रहेका पाका राजनीतिज्ञ मोहनविक्रम सिंहलाई हामीले सोधेका थियौं, ‘कुनै नेपाली सिनेमाको हिरो/हिरोइनलाई चिन्नुहुन्छ ?’

उनले भासिएको स्वरमा जवाफ दिए, ‘त्यो हमाल कि के भन्छ नि ।’

‘स्टारडम’ एक मेसिन

फर्मुला फिल्म बनाउने निर्देशक ऋषि लामिछाने भन्छन्, ‘राजेश हमालले हो, नेपाली सिनेमालाई ध्वस्त बनाएको ।’

लामिछानेको आशय यो होइन कि हमालको उपस्थितिले नेपाली फिल्म उद्योगमा खिया लाग्यो । बरु, आफ्नो जमानामा हमाल त्यही स्थानमा थिए, जसले नेपाली सिनेमाको आयाम बदल्न सक्थे । उनीसँग त्यो सामर्थ्य थियो, जसले ‘स्क्रिप्ट’लाई मोड्न सक्थे । उनीसँग त्यो शक्ति थियो, जसले लगानीको आकार बढाउन सक्थे ।

तर, उनले त्यसो गरेनन् । जस्तो फिल्म आउँछ, चुपचाप ‘साइन’ गरे । नतिजा, फिल्मको लम्बाइ र चौडाइ बढ्यो, उचाइ जहाँको त्यहीँ । अर्थात् हमालको ‘स्टारडम’ केवल उनकै लागि पैसा आर्जन गर्ने मेसिनभन्दा माथि उक्लिएन ।

‘राजेशलाई पैसाको खाँचो थिएन, फिल्म नपाइएला भन्ने पीर थिएन,’ लामिछानेको सटिक विश्लेषण छ, ‘त्यसैले उनले स्तरीय फिल्म मात्र गर्छु भनेर स्क्रिप्ट र लगानीलाई पेचिलो बनाउन सक्थे ।’ राजेश आफैंमा बौद्धिक छन् । उनको व्यक्तित्व र विद्वता अरु नेपाली सिनेकर्मीमा सायदै छ । तर, नेपाली सिनेमाको स्तरवृत्तिमा न उनको विद्वताले काम गर्‍यो, न स्टारडमले ।

एउटा अध्यायको पटाक्षेप

हमाल युगको पटाक्षेपसँगै औसत कदका, चिम्से आँखा भएका, खस्रो छाला भएका पनि ‘हिरो’ हुन्छन् भन्ने मान्यता स्थापित भयो । सुकिला-मुकिला देखिने, गुन्डाहरुलाई धुलो चटाउने, मोटो आवाजमा डायलग बोल्ने ‘हिरो’हरु क्रमशः पाखा लागे । र, दयाहाङ राईहरुको ‘धमकेदार इन्ट्री’ भयो ।

यही मोडमा आएपछि हो, नेपाली सिनेमाले ‘हिरोइजम’लाई भन्दा चरित्रलाई विश्वास गरेको । एउटा सामान्य पात्रलाई सघन भूमिकामा उभ्याएर ‘हिरो’को पुरातन मान्यता यही विन्दुबाट तोडिएको हो ।

स्टारडमको खडेरी

नेपाली सिनेमाले चरित्र सुहाउँदो हिरोहरु पायो । तर, उनीहरुले स्टारडम कायम गर्न सकेनन् । उनीहरुको टाउको बिकेन, अपवादमा दयाहाङबाहेक ।

नेपाली सिनेमालाई फरक मोडमा ल्याउने सूत्रधार निश्चल बस्नेतलाई सोधियो, ‘अहिले नेपाली सिनेमामा कसको स्टारडम छ ?’ उनले ओठे जवाफ फर्काउन सकेनन् । केहीबेर घोत्लिए र भने, ‘खै त्यस्तो त छैन, अलि-अलिचाहिँ अनमोलको हो कि ?’

यही प्रश्न ‘फर्मुला’ फिल्म बनाउने लामिछानेलाई सोधियो, जसले फ्याट्टै भने, ‘अनमोल केसी ।’ पुरातन धारमा फिल्म बनाउनेका लागि अनमोल जति ‘अनमोल’ छन्, नयाँ आयाम पस्कने फिल्म निर्माताका लागि उत्तिकै ‘मूल्यहीन’ ।

नेपाली रंगकर्मीहरु भन्छन्, ‘अहिले अनमोलको स्टारडम छ ।’

यसलाई व्याख्या गर्ने आधार यस्तो छ- सहजै सबैले भेट्न नसक्नु, भीडभाडमा उनको उपस्थिति नदेखिनु, सिनेमा हलमा ‘बडिगार्ड’ लिएर पुग्नु ।

त्यसो भए समाजसँग दूरी बढाउँदैमा कसैले ‘स्टारडम’ पाउने हो र ?

एक हास्य अभिनेताको यो भनाइ तर्कसंगत छ, ‘कलाकारले समाजसँग अन्तरक्रियात्मक सम्बन्ध राख्नुपर्छ । ऊ समाजबाट टाढा रहने वा भाग्ने होइन, बरु समाजभित्रै घुलमिल हुने हो । अनि पो, उसले समाजलाई बुझ्छ । पात्र र प्रवृत्तिलाई केलाउन सक्छ ।’

उनकै भाषामा भन्ने हो भने, अनमोलसँग अभिनय क्षमता पटक्कै छैन । यसो हुनुमा उनले समाजलाई नजिकबाट चिहाउन नपाएर पनि हो । र, त्यो उनको दोष होइन । उनले समाजलाई चिहाउने झ्याल-ढोका बन्द गरिदिएका छन्, पिता भुवन केसीले । भुवनलाई भ्रम छ, समाजभन्दा टाढा रहनु नै ‘स्टारडम’ हो ।

सामान्यतः स्टारडम त्यो होइन, जो समाजको पहुँचभन्दा बाहिर रहन्छ । बरु, त्यही समाजसँग जसको भावनात्मक स्नेह हुन्छ, उसैले स्टारडम पाउने हो ।

स्वीकार्नै पर्छ, एउटा सीमित वर्ग अनमोलको ‘डाइहार्ट फ्यान’ छ । तर, उनीहरु त्यति ‘क्रेजी’ पनि छैनन्, अनमोलको टाउको देख्नासाथ सिनेमा घरको टिकट लाइनमा पंक्तिबद्ध हुन पुगुन् । भुवन केसीको छोरो हुनुको नाताले पनि अनमोलको ‘मोल’ बढेको हो ।

स्टारडम त त्यो हो, जसको नामले दर्शक हलसम्म तानिन्छन् । ती अभिनेताप्रति दर्शकको श्रद्धाभाव रहन्छ । र, प्रेमभाव पनि । धेरै पर जानु पर्दैन, बलिउडमा अहिले पनि स्टारडमको चर्चा गर्दा राजेश खन्नाको नाम जोडिन्छ । वर्तमानमा बलिउड चम्काइरहेका तीन खान शाहरुख, सलमान र आमिरसमेत राजेश खन्नाको जस्तो स्टारडम नपाइने कुरामा ढुक्क छन् ।

स्क्रिप्ट राइटरको पहिचान बनाएका सलमानका पिता सालिम खानले भन्ने गरेका छन्, ‘राजेश खन्नाको जस्तो स्टारडम बलिउडमा न त्यसअघि थियो, न अबका दिनमै रहन्छ ।’

भनिन्छ, उनको तस्बिरसँग बिहे गर्नेदेखि, कारमा चुम्बन गर्ने दर्शकहरु कति थिए, कति । राजेश खन्नाको बिहेमा एक समुद्री किनारमा कडा सुरक्षा पहरा दिइएको थियो, राजेशका युवती फ्यानहरुले सुसाइड गर्लान् भनेर ।

स्टारडमको जोखिम

स्टारडम हुनु र नहुनुले सिनेवृत्तलाई के फरक पार्छ ? जवाफ सकारात्मक मात्र छैन, नकारात्मक पनि छ ।

स्टारडमले अभिनेता/अभिनेत्री हाबी हुन्छन् । किनभने, उनीहरुप्रति दर्शक नतमस्तक हुन्छन् । आफ्नो हिरोको एक झलक पाउन पनि उनीहरु हलसम्म पुग्छन् । फिल्म चल्छ, गजबले ।

यसको राम्रो पक्ष, निर्माताले निर्धक्क लगानी खन्याउन सक्छन् । अर्थात्, सिनेमा उद्योगका लागि एउटा स्टारडम यस्तो गोटी हो, जसलाई चालेर नाफामुखी कारोबार गर्न सकिन्छ । स्टारडमकै कारण फिल्म चल्छ, न कि कथा र प्रस्तुतीको कारण ।

यसको साइट इफेक्ट, जो नेपाली सिनेवृत्तले झेलिसकेको छ । राजेश हमालको स्टारडमले नेपाली सिनेवृत्तको भकारी त भर्‍यो, स्तर बढाएन । स्टारडमको एक बेफाइदा यही हो । किनभने, त्यतिबेला सिनेमाको भन्दा एउटा अभिनेताको पल्ला भारी हुन्छ । र, यस्तो अवस्थामा अभिनेताको मनोमानीको जोखिम हुन्छ ।

न उनले आफूलाई सुधार्छन्, न सिनेमालाई ।

अनमोल एक सूत्रधार


एक निर्देशकको ठोकुवालाई पत्याउने हो भने अहिले अनमोलका लागि ४० लाख रुपैयाँ फाल्न तयार निर्माता कति छन्, कति । उनले सुनाए, ‘अनमोललाई फिल्ममा ल्याउनुहोस्, ४० लाख पारिश्रमिक दिन्छु । २/३ करोड फिल्ममा लगानी गर्छु भन्ने निर्माताहरु पनि छन् ।’

एकाध सिनेमा गरेका अनमोलको उल्कै स्टारडम होइन, जसरी नेपाली रंगकर्मीहरुले व्याख्या गर्ने गरेका छन् । यद्यपि, उनमा प्रचुर सम्भावना छ ।

निर्देशक लामिछानेकै शब्दमा, ‘अनमोलसँग अहिले त्यो तागत छ, जसले स्क्रिप्ट बदल्न सक्छन् ।’ अर्थात्, उनले जथाभावी फिल्म नखेलेर अब्बल स्क्रिप्टको डिमान्ड गर्न सक्छन् । सिनेमाको स्तर बढाउनका लागि उनले स्क्रिप्ट, निर्देशक, लगानी सबै कुरामा डिमान्ड तेस्र्याउन सक्छन् । तर, सिनेमाको प्रतिफलमा भुवन केसीले र्‍याल चुहाएनन् भने मात्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment