Comments Add Comment

‘केपी ओली नै भावी प्रधानमन्त्रीको उम्मेदवार’

'केपी कामरेडलाई सबक सिकाउने नाममा गल्ती गर्नुहुँदैन'


१८ भदौ, काठमाडौं । पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग बहस र विवाद गरिरहने एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका सार्वजनिक अभिव्यक्ति सुन्दाचाहिँ ओलीकै बोलीको झल्को आउन थालेको छ । पार्टीभित्रको अन्तरसंघर्षमा सधैं ओलीको विपरीत लाइनमा उभिने गरेका भट्टराई पछिल्ला राष्ट्रिय राजनीतिक एजेण्डामा भने ओलीको आधिकारिक प्रवक्ताकै रुपमा प्रस्तुत हुन थालेका छन् ।

हुन त पार्टी प्रचार विभाग प्रमुख भनेको प्रवक्ताकै जिम्मेवारी हो । तर, उनी त्यो जिम्मेवारीमा रहेका कारण मात्र अध्यक्षको बोलीसँग उनको बोली मिलेको होइन । अध्यक्षले पार्टीलाई एकतावद्ध बनाउनुपर्छ र अध्यक्षलाई पार्टीले राष्ट्रको नेताका रुपमा अघि बढाउनुपर्छ भन्ने मान्यता राख्ने भट्टराई आगामी चुनावमा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने पक्षमा देखिएका छन् ।

एमालेले औपचारिक निर्णय नगरे पनि उनले इच्छा व्यक्त गरेको खण्डमा प्रधानमन्त्रीको उम्मेदवार ओलीलाई नै घोषणा गरेर संसदीय र प्रदेशसभाको चुनावमा जाने सम्भावना रहेको भट्टराईले बताए ।

अनलाइनखबरसँग कुरा गर्दै भट्टराईले कांग्रेसले एमालेसँग एक्ला एक्लै भिड्ने सामथ्र्य गुमाइसकेको दाबी गर्दै एमालेले ओलीको नेतृत्वमा बहुमत ल्याएर चुनाव जित्ने ठोकुवा गरे । प्रस्तुत छ, भट्टराईसँगको कुराकानीका अंश, जुन प्रदेश २ को चुनावबाट शुरु गरियो-

प्रदेश २ को चुनावमा एमालेको प्रतिस्पर्धा दोस्रो कि तेस्रो स्थानका लागि हो ?

एमाले यो देशको पहिलो पार्टी बनेको छ । प्रदेश नम्बर २ मा हामी दोस्रो वा तेस्रो होइन, पहिलो स्थान सुरक्षित गर्दैछौं । जसले एमालेलाई बुझेको छैन र मधेश बुझेको छैन, त्यस्ताले भनेका आधारमा तपाईको प्रश्न प्रभावित भएको देखियो ।

उम्मेदवार समेतअरु पार्टीबाट एमालेमा प्रवेश गराउँदै उठाएको अवस्था छ, कसरी हुन्छ एमाले मधेसमा पहिलो ?

हामीले केही ठाउँमा व्यक्तिको प्रभाव हेरेर, स्थानीय आवश्यकताका आधारमा पार्टी कमिटीको सिफारिसबाट कतिपय प्रभावशावली व्यक्तिलाई एमालेमा प्रवेश गराएर टिकट दिएका छौं । तर, त्यस्तो संख्या अत्यन्तै कम छ । कतिपय स्वतन्त्र र प्रतिष्ठित व्यक्तिहरु जो मधेसका स्थापित व्यक्तित्व हुनुहुन्छ उहाँहरु एमालेको नीतिबाट प्रभावित भएर एमाले प्रवेश गर्नुभएको छ ।

रामचन्द्र झा, रामेश्वर राय लगायतका नेताहरुलाई एमालेमा प्रवेश गर्न नदिन पनि एमालेकै नेताहरु लागेको कुरा पनि आयो नि ? भाग खोसिन्छ भनेर हो ?

हामीले कुनै नेतालाई पार्टीमा ल्याउने/नल्याउने भनेको छैन । एमालेमा प्रवेश गर्न चाहनेहरुले एमालेप्रति सकारात्मक धारणा राख्नुपर्छ । तपाईले नाम लिएकामध्ये कतिपयले मनमा एमालेमा आउन खोज्ने तर अरुतिर पनि संवाद जारी राखेको पाइयो । यस्तो दोहोरो मान्यता राखेर एमालेमा आउनुको अर्थ छैन ।

एमालेमा आउनुभन्दा पहिले नै कुनै पनि कुराको बार्गेनिङ गर्ने कुरा ठीक छैन, त्यस्तालाई हामी प्राथमिकता दिँदैनौं । एमालेमा आउने हो भने निःशर्त रुपमा एमालेको नीति सिद्धान्त स्वीकार गरेर आउनुपर्छ ।

यहीबीचमा संविधान संशोधन असफल पार्न एमालेले भूमिका खेलेकाले पनि अब एमाले प्रवेशको क्रम रोकिएको हो कि ?

संविधान संशोधनको विपक्षमा एमाले छ भन्ने कुरा आजमात्र थाहा भएको होइन । हामीले यो संशोधन औचित्यहीन छ, फिर्ता लेऊ भनेर सरकारलाई पटक-पटक भनेका हौं । यो मतदानमा नलैजाऊ भनेकै हो । जसले संविधान संशोधन विधेयक एमालेले असफल बनायो भन्नेहरुलाई हाम्रो आग्रह छ, त्यो प्रश्न हामीलाई होइन कांग्रेस र माओवादी केन्द्रलाई सोध्नुस् ।

जुनबेला कमल थापाको पार्टी एकीकृत थियो र संविधान संशोधनको पक्षमा निर्णय गरेको थियो, त्यो बेला मतदानमा लानुभएन । त्योबेला करिब-करिब उहाँहरुको पक्षमा दुई तिहाई थियो । जब राप्रपा विभाजित भयो र हेटौंडामा बैठक बसेर कमल थापाले मतदान नगर्ने निर्णय गरे, त्यसपछि संसदमा मतदान गराउनुभयो । उहाँहरुको नियत यसबाट पनि प्रष्ट हुन्छ कि यो पारित गर्न ल्याइएको होइन । तर, अब यो नाटक धेरै दिन टिक्दैन ।

यसरी संविधान संशोधन फेल गराएर मधेसको चुनाव जाँदा एमालेलाई घाटा हुदैन ?

यसले एमालेलाई एउटा फाइदा गरेको छ । संविधान संशोधनको सन्दर्भमा एमाले र राजपासहित केही मधेसी मोर्चाका दलबीच वाकयुद्ध चलिरहेको थियो । तर, यो नाटक सत्तापक्षले खेलेपछि अब हामीहरुबीचको युद्ध सकियो । जे विषयमा हाम्रो विवाद थियो, त्यो सकियो । एमालेका कारणले संविधान संशोधन असफल भएको होइन । एमालेले त प्रष्टैरुपमा आफ्नो अडान राख्दै आएको हो ।

अब कांग्रेसले आफ्नै बुतामा चुनाव लड्न सक्दैन भन्ने उसले स्वीकार गरिसक्यो । कांग्रेसले एक्लै चुनाव लड्ने सामथ्र्य गुमाइसक्यो । अब नेपालको कुनै पनि चुनावमा कांग्रेसले एमालेसँग एक्लै चुनाव लड्ने आँट गर्दैन,यो प्रष्ट भइसक्यो । उसले वडादेखि संसदसम्म कुनै न कुनै साना दलको बैशाखी खोजेको छ

एमालेलाई धम्की दिएर, मधेसमा एमालेलाई लखेटेर मतदान हुन्छ भन्ने उहाँहरुले पनि सोच्नुभएको थिएन होला । संविधान संशोधनको नाटकको पटाक्षेपपछि अब हाम्रोबीचमा नयाँ युद्धविरामको अवस्था भएको छ । हामीले अब राजपा, उपेन्द्र लगायत सबै दलसँग तालमेल हुन सक्छ भनेर खुलागरेका छौं ।

तर, उनीहरुले मधेस विरोधी एमालेसँग तालमेल हुदैन भनिसके नि ?.

तालमेल गर्ने/नगर्ने उहाँहरुको इच्छा हो । कांग्रेसकै भूलभुलैया र माओवादीको जादूमा पर्दै जानुहुन्छ भने उहाँहरु आफैं तल पर्दै जाने हो । एमालेले उहाँहरुसँग बैचारिक संघर्ष गर्दै आएको छ र गरिरहन्छ । गलत कुरामा एमाले कुनै स्वार्थका कारण सम्झौता गर्दैन ।

कांग्रेसले राजमार्ग क्षेत्रमा माओवादीसँग र कोर मधेसमा राजपासँग तालमेलको तयारी गरिरहेको छ, एमाले आफैं रक्षात्मक रहेको अवस्थामा कांग्रेसले सबैसँग तालमेल गर्दा तपाईहरुलाई अप्ठेरो पर्दैन ?

पहिलो कुरा एमाले मधेसमा रक्षात्मक छैन । हामी मधेसमा एकदमै अफेन्सिभ छौं । तराई मधेसमा मुख्यगरी दुई विचार छन् । एउटा एमालेले लिएको विचार छ अरु सबै १०/ १५ पार्टीको एउटा विचार छ । एमाले तराई मधेसमा एउटा होलसेल व्यापारी हो । कांग्रेस, माओवादी, राजपाहरु भनेका फुटकर व्यापारी हुन् । कांग्रेस, माओवादीभित्र रहेका व्यक्ति र स्वतन्त्र व्यक्तिहरु पनि नेपालले राष्ट्रिय हितको पक्षमा लिएको अडानको समर्थन गरेका छन् ।

एमालेले मधेसको विकास र सम्वृद्धिका लागि लिएको नीति र उसले आफ्नो नेतृत्वको सरकारका बेला गरेका कामको मूल्यांकन जनताले गरेका छन् । मधेशमा खासगरी एमाले भर्सेस अरु सबै दलको विचारको लडाई हुँदैछ । एमालेको पक्षमा मधेसको आधा हिस्सा छ भने बाँकी आधा हिस्सा अरु सबै दलले बाँड्ने हुन् ।

र, अर्को कुरा मधेसका बुद्धीजीवीहरु, जो हिजो एमालेको विरोधमा असाध्यै नकारात्मक ढंगले प्रस्तुत हुन्थे, उनीहरु पनि मधेसको सबैभन्दा ठूलो शत्रु कांग्रेस हो भन्ने निष्कर्षमा पुगेर लेख्न बोल्न थालिसकेका छन् । मधेसको शोषण गर्ने र भोट लिएर मधेसीलाई चोट दिने पार्टी कांग्रेस हो भन्ने त्यहाँ सबैले बुझिसके ।

तर, सबै दल मिलेर चुनाव लड्दा गणितमा त तपाईहरु पछि पर्नुहुन्छ नि ?

उहाँहरु मिलेर चुनाव लड्नुहुन्छ भने हामीले रोक्ने कुरा भएन । उहाँहरु अस्ति पहिलो र दोस्रो चरणमा पनि एमालेविरुद्ध मिलेकै हो । आमरुपमा कांग्रेस माओवादी मिलेरै चुनाव लडेका हुन् । एकाध ठाउँमा एमाले हराउन सफल भए पनि आम रुपमा कांग्रेस माओवादी तालमेल सफल भएन ।

भरतपुरजस्ता केही ठाउँमा राज्य सत्ता र विदेशी शक्ति समेत लगाएर प्राबिधिक रुपमा जबर्जस्ती जित निकाले पनि त्यो अर्थ छैन । एमालेलाई जनताले साथ दिएका छन् । सधैंभरि भरतपुर जस्तो गराउन सकिन्छ भन्ने नसोचे हुन्छ ।

तपाईहरुको आशय चाहिँ कांग्रेससँग एक्ला एक्लै चुनाव लड्न पाए पहिलो हुन सकिन्थ्यो भन्ने देखियो होइन ?

इतिहासमा बडो रमाइलो ठाउँमा नेपालको राजनीति आइपुग्यो । २००७ सालदेखि यताका चुनाव हेर्ने हो भने मूलतः कांग्रेस एक्लै चुनाव लड्थ्यो । अरु वामपन्थी धेरैजसो मिलेर लड्थे । कांग्रेस एउटा मूल प्रवाहका रुपमा थियो ।

तर, अहिले के देखियो भने अब कांग्रेसले आफ्नै बुतामा चुनाव लड्न सक्दैन भन्ने उसले स्वीकार गरिसक्यो । कांग्रेसले एक्लै चुनाव लड्ने सामथ्र्य गुमाइसक्यो । अब नेपालको कुनै पनि चुनावमा कांग्रेसले एमालेसँग एक्लै चुनाव लड्ने आँट गर्दैन,यो प्रष्ट भइसक्यो । उसले वडादेखि संसदसम्म कुनै न कुनै साना दलको बैशाखी खोजेको छ ।

कांग्रेस अब एमालेसँग सिंगल सिंगल भिड्न सकिँदैन भन्ने निष्कर्षमा पुगेको छ, त्यो पनि औपचारिक रुपमै । यो नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरेका विषय हो । अब नेपालको राजनीति एमाले पक्ष भएर नेपाली राजनीतिको प्रवृत्ति अघि बढ्छ । एमालेले एक्लै चुनाव लड्ने सामथ्र्य बनाएको छ । मुख्य प्रतिस्पर्धी दल एउटा ओह्रालो लाग्दैछ,अर्को उकालो लाग्दैछ । यो राम्रो संकेत हो ।

जे-जे भने पनि दुई पार्टी मिलेर एउटा हराउन त सक्छन् नि ?

चुनाव जित्ने नाममा कांग्रेसले धेरै मिसावट गर्दैछ, नक्कली सामान मिसाएर घर बनाउँदैछ । विभिन्न कम्पनीका प्रोडक्टहरु मिसावट गर्दैछ, कांग्रेसको घर उभिनेवाला छैन । कांग्रेसले एक्लै चुनाव लड्ने क्षमता त अब गुमाइसकेको छ । मुख्य प्रतिस्पर्धी पार्टी इतिहासमै सबैभन्दा कमजोर र आत्मविश्वास गुमाएको अवस्थामा छ । यो त एमालेको लागि सबैभन्दा खुसीको कुरा हो ।

माओवादीलाई कांग्रेससँग तालमेल गर्ने अवस्थामा जान नदिन एमालेले किन सकेन, यसको समीक्षा गर्नुपर्दैन ?

माओवादी र हाम्रो बीचको तालमेल किन बिगि्रयो भन्ने भन्ने बारेमा समीक्षा गर्नुपर्छ । म व्यक्तिगतरुपमा एमाले र माओवादीबीचको तालमेल टुट्नु हुँदैनथ्यो, यसमा हाम्रो तर्फबाट कमजोरी छन् भने लिनुपर्छ भन्ने पक्षमा छु । तर, माओवादीको चरम सत्तामोह र अधैर्यताले कति काम गरेको हो भन्ने पनि हामीले बुझ्नुपर्छ ।

प्रधानमन्त्री बन्नुस् भनेर हामीले नै प्रचण्डलाई अफर गरेका थियौं । लामो यात्राको लागि एउटा परिपक्व वातावरण बनाउन खोज्दै थियौं । तर, उहाँ अत्तालिएर जानुभयो । उहाँले कतिपय अन्तर्राष्ट्रिय शक्तिको दबाव पनि थेग्न सक्नुभएन ।

प्रधानमन्त्री त उहाँलाई एमालेले पनि दिएकै थियो । तर, त्यसको अर्थ माओवादी र कांग्रेसको विचार र व्यवहार नै छुटिन छाडिसक्यो भन्ने तहमा उहाँहरु पुग्नु हुँदैन थियो ।

अहिले त बाहिर सुनिन्छ, अब कांग्रेस माओवादीबीच पार्टी एकीकरणकै तहमा छलफल हुने थालेका छन् । दश वर्ष वा बीस वर्षसम्म मिलेर चुनाव लड्ने, कतिपय ठाउँमा एउटै चुनाव चिन्हमा जाने भन्ने कुराले त्यही संकेत गर्छ । एमालेलाई निषेध गरेर लोकतन्त्र बलियो बनाउने उहाँहरुको मिसन हो भने त्यसले माओवादीलाई सबैभन्दा पहिले सिध्याउँछ । उहाँहरुलाई अहिले बाहृय प्रभुहरुले जुरुक्कै बोकेका छन्, तर तिनै प्रभुले माथिबाट खँदार्नेछन् ।

तपाईहरु ‘विदेशी प्रभु’बाट साह्रै डराउन थाल्नुभयो होइन ? अस्ति भारतीय थिंक ट्यांकहरुले पनि अब नेपालमा एमाले आउनु भनेको डिजास्टर हो भनेपछि तपाईहरुमा छटपटाहट बढेको हो ?

एमाले त्यसबाट डराउदैन । बरु जसरी भारतीय मिडियामा एमालेको बारेमा बहस भइरहेका छन्, एमालेलाई रोक्न नेपालका अन्य दलहरु मिलाउनुपर्छ भारतले भनेर उनीहरुले सत्तालाई सुझाव दिइरहेका छन्, त्यसबाट धेरै खेल उनीहरुबाटै खुलासा हुँदैछन् । कांग्रेस माओवादीलाई कसले मिलाइदिएको हो भन्ने उनीहरु नै पोल खोलिरहेका छन् ।

जे कुरा ढाकछोप हुँदै थियो, हामीले नै बनाएको एलाइन्स हो, कांग्रेस माओवादी नै बसेर बनाएको भनेर लिपीपोती गर्दै हुनुहुन्थ्यो, त्यो त कुरा एक्सपोज भयो । भारतीय नेता, थिंक ट्यांकहरु जसरी एमालेविरुद्ध लागिरहेका छन्, त्यसले कांग्रेस माओवादी गठबन्धनको औचित्य प्रष्ट हुन्छ । यो गठबन्धन उनीहरुको बुताबाट बनेको होइन भन्ने भारतीयहरुलेनै पुष्टि गरिदिए ।

तर, यसबाट उत्तेजित भएर एमाले माओवादीजस्तो बाहिर सुरुङ युद्ध भन्ने, भित्र बिन्तीपत्र हाल्ने काम गर्दैन । एमाले सुरुङ खन्दै हिँड्दैन । हामी चिनियाा कार्ड देखाएर राजनीतिमा टिक्न चाहादैन । हामी दुबै छिमेकीसाग समान सम्बन्ध कायम राख्न चाहान्छौं तर त्यो सम्मानमा आधारित हुनुपर्छ । एमाले फित्कौली पार्टी होइन । हामी उत्तेजनामा वा प्रतिक्रियामा राजनीति गर्न चाहदैन ।

तर, पनि तपाईहरु कताकता आत्तिएको चाहिँ बुझ्न सकिन्छ । सत्ता शक्ति उनीहरुसँग छ, विदेशी समर्थन पनि छ, गठबन्धन पनि ठूलै हुँदैछ, यसबाट एमाले आत्तिएको छैन भन्दा कसले पत्याउँछ ?

शेरबहादुरभन्दा सयौं गुना बलिया नेता थिए गिरिजाप्रसाद । उनले गराएको चुनावमा एमाले पहिलो भएको हो । आजभन्दा धेरै शक्ति दुरुपयोग त्योबेला भएको थियो ।

जसरी भारतीय मिडियामा एमालेको बारेमा बहस भइरहेका छन्,एमालेलाई रोक्न नेपालका अन्य दलहरु मिलाउनुपर्छ भारतले भनेर उनीहरुले सत्तालाई सुझाव दिइरहेका छन्,त्यसबाट धेरै खेल उनीहरुबाटै खुलासा हुदैछन्

तपाईलाई इतिहास सम्झाउन मन लाग्यो कि, त्यस्तो एउटा क्षमता भएका गिरिजाप्रसाद कोइराला अन्ततोगत्वा माधव नेपालसँग रत्नपार्कको तातो पीचमा पलेटी कस्न आइपुग्नुभयो । शेरबहादुर देउवाजी त के हो र ? विदेशीले बोकेको व्यक्तिको शक्ति कति हुन्छ भन्ने हामीलाई थाहा छ । उहाँहरुले सत्ताको दुरुपयोग गरेर दुई/चार ठाउँको परिणाम तलामाथि गर्न सक्नुहुन्छ । त्यो त स्थानीय तहको निर्वाचनमा पनि केही ठाउँमा गर्नुभयो । तर एमाले आत्तिएको छैन र उनीहरुसँग सत्ता शक्ति, विदेशी प्रभू सबै छन्, एमालेसँग जनता छन् ।

कतिपयले एमाले आफू पनि सरकारमा सहभागी भएरमात्र चुनावमा सहभागी हुन्छ भन्ने सोचेका थिए,तर तपाईहरुले सर्वदलीय सरकारको मागनै राख्नुभएन होइन ?

नेपालको संविधानको कार्यन्वयनका लागि चुनाव अनिवार्य छ । कुन पार्टी कुन चुनावमा जित्छ हार्छ त्यो दोस्रो कुरा हो । जित्दामात्र चुनाव गर्ने, हार्दा नगर्ने भन्ने कुरा एमालेलाई स्वीकार्य छैन । चुनावहरु नियमित प्रक्रियाबाट हुन्छन् भने एमालेका लागि सबैभन्दा खुसीको कुरा हो ।

किनकि यो संविधान हामीले नेतृत्व गरेर बनाएको हो । यसको कार्यन्वयन गर्ने कुरा एमालेको मुख्य सरोकार हो । एकाध ठाउँ सत्ताको दुरुपयोग भयो र हुनसक्छ । तर एमाले पनि चूप लागेर बस्ने पार्टी होइन । हामी निर्वाचन आयोग,सेना,प्रहरी र राज्यका सबै राष्ट्रसेबकलाई आग्रह गर्छौं-तपाईहरु निष्पक्ष भूमिका निर्वाह गर्नुस । सत्तापक्षकेा दबाब र प्रभावमा नपर्नुस । तपाईहरु के कुरामा ढुक्क हुनुस भने, पुस महिनामा एमालेको बहुमतको सरकार पनि बन्नेवाला छ ।

बहुमतको सरकार त बन्छ भन्नुभयो, कसलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर बहुमत मागनुहुन्छ जनतासँग ?

हाम्रो पार्टीको संसदीय चुनावको अभियान शुरु भएपछि हामी भावी प्रधानमन्त्रीको उम्मेदवार तय गर्छौं । आउने सरकारमा कसले प्रधानमन्त्रीको रुपमाा नेतृत्व गर्छ भन्ने कुराको निर्णय हामी गर्छौं । हामीले विगतमा पनि कतिपय अवस्थामा यस्तो अभ्यास गरेका छौं । पार्टीको औपचारिक बैठकबाट हामी नेता तोक्छौं ।

हाम्रो प्रश्न- एमालेले कसलाई भावी प्रधानभमन्त्रीका रुपमा अघि सार्ला ?

स्वभाविक हो,पार्टी अध्यक्षले आफ्नो त्यो चाहना प्रकट गर्दासम्म,पार्टी अध्यक्षको विकल्पको रुपमा अर्को कोही व्यक्ति अघि सर्छ जस्तो मलाई लाग्दैन । पार्टी अध्यक्षभन्दा विलक्षण क्षमता भएको नयाँ नेतृत्व कोही प्रकट भयो भने अध्यक्षले पनि आफू पछाडि बसेर उसलाई अघि बढाउने कुरा होला । तर, यो कुरा अहिले सम्भव देखिन्न । त्यसैले केपी ओली नै हाम्रो तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार बन्नुहुन्छ, उहाँले चाहदासम्म ।

हाम्रा अध्यक्ष केपी शर्मा ओली कमरेडलाई अघि सार्दै गर्दा त्यसमा मेरोे आफ्नो तर्क पनि छ । यो कुरा त्यसै भनेको होइन । पद्दति र प्रणालीका लागि पनि आवश्यक छ । हिजो संसदीय दलको नेताको चुनावमा केपी ओली उम्मेदवार बन्दा पनि हामीले भनेका थियौं, तपाई सिस्टम भत्काउँदै हुनुहुन्छ ।

हामी निर्वाचन आयोग,सेना,प्रहरी र राज्यका सबै राष्ट्रसेबकलाई आग्रह गर्छौं–तपाईहरु निष्पक्ष भूमिका निर्वाह गर्नुस । सत्तापक्षको दबाब र प्रभावमा नपर्नुस । तपाईहरु के कुरामा ढुक्क हुनुस भने, पुस महिनामा एमालेको बहुमतको सरकार पनि बन्नेवाला छ

किनकि त्योबेला पार्टी अध्यक्ष झलनाथ खनाल हुनुहुन्थ्यो, पार्टी अध्यक्षले नै दलको नेतृत्व गर्नु उपयुक्त हुन्छ भनेर हामीले भन्यौं । पछि ओली कमरेड अध्यक्ष भए पनि खनालले दलको नेता छाड्नुपथ्र्यो । तर, त्यस्तो भएन, उहाँले इतिहासमा गल्ती गर्नुभयो भनेर हामीले त्यो बेला भनेकै हो । तर, अहिले त्यही कुरा उठाएर उहाँलाई -केपी ओलीलाई) सबक सिकाउने नाममा अर्को गल्ती गर्नुहुदैन ।

यसपटक सबै शीर्षनेता चुनाव लड्ने कि, बाँडिने हो ?

यसपटक एमालेका निम्ति धेरै चुनौति छन् र सम्भावना पनि उत्तिकै छन् । हामीले निर्वाचनको समग्र परिचालनको योजना बनाउँछौं । को-को नेता चुनावमा जाने, को को निर्वाचन परिचालनमा बस्ने भन्ने तय हुन्छ । हामी दशैं अगाडि नै निर्वाचन आयोगले मागे अनुसार समानुपातिक उम्मेदवार तय गर्नेदेखि घोषणापत्र जारी गर्नेसम्मका काम गर्छौं । एमाले निर्वाचनमै छ, विश्राम लिनुपर्ने अवस्था अहिले आएको छैन । यसपटक एउटा सशक्त टीम चुनाव प्रचार र व्यवस्थापनका लागि बस्छौं ।

पछिल्लो समयमा एमालेभित्र तपाईहरुले अध्यक्षको भूमिकाबारे कुनै आलोचनात्मक टिप्पणी गर्न छाड्नुभएको छ, चुनाव लागेर हो कि साँच्चै विषयबस्तु नभएर हो ?

स्वाभाविक हिसाबले पार्टीलाई एकतावद्ध बनाएर लानुपर्छ । त्यसमा मुख्य भूमिका पार्टी अध्यक्षको हुन्छ । हामी पार्टी अध्यक्षबाट त्यो अपेक्षा गर्छौं । उहाँ आफैं प्रधानमन्त्री हुन चुनाव लड्दै हुनुहुन्छ भने आफू प्रधानमन्त्री नहुने खेल पक्का पनि खेल्नुहुन्न ।

कांग्रेस संसदीय दलका सदस्यले भोट हालेर केपी ओली प्रम हुने होइन, संख्या एमालेकै बढी चाहिन्छ । त्यो कुरा हाम्रा अध्यक्षले नबुझ्नुभएको होला भन्ने मलाई लाग्दैन । एमालेलाई एकतावद्ध बनाएर जाँदामात्रै उहाँ प्रधानमन्त्री बन्ने हो । हाम्रो पार्टीमा कुनै एक नेता जादूमय छैन । सबै नेता हामीसँग समान छन् । सामुहिक ढंगले जाँदा मदन भण्डारीभन्दा पनि धेरै क्षमता दिने नेताहरुको टीम हामीसँग छ । हाम्रो अध्यक्ष कमरेड ओलीले यो कुरा बुझ्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment