Comments Add Comment

सुर्खेतमा रोकिएन गर्भपतन, छोरीको जन्मदर घट्यो

१९ भदौ, सुर्खेत । लिङ्ग पहिचानपछि गरिने गर्भपतनका कारण पछिल्लो समय सुर्खेतमा छोरीको जन्मदरमा कमी आएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

औषधिको प्रयोग र अस्पतालहरुमा गएर गर्भपतन गर्नेहरुको संख्या पछिल्लो समय अत्यधिक बढेको सहभागीहरुले बताएका छन् ।

बालमैत्री स्थानीय शासन नगर समितिको आयोजना, सिविन नेपालको सहयोग तथा वीरेन्द्रनगर नगरपालिका र एवान मिडिया प्रालिको समन्वयमा गर्भकोे लिङ्ग पहिचान गरेर गरिने गर्भपतन न्युनीकरण विषयमा सरोकारवालाहरुसँग मिडिया संवाद कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले गर्भमा छोरीको पहिचान गरेर गरिने गर्भपतन जघन्य अपराध भएको बताए । उनले यो समस्या कम गर्न मिडियाले पनि भूमिका खेल्नुपर्ने बताए ।

छोरीलाई प्रोत्साहन गर्ने उद्देश्यले छोरी बचत कार्यक्रमअन्र्तगत सुरुवाती चरणमै ७ जना छोरीहरुको बचत थालिएको प्रमुख सुवेदीले जानकारी दिए ।

लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नेहरुमा शिक्षित र शहरमा बस्नेहरु नै बढी रहेको सहभागिहरुले बताए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले कुनै पनि दम्पति पहिलो सन्तान छोरा जन्मँदा जति खुसी हुन्छन् छोरी जन्मँदा नहुने बताइन् ।

उपप्रमुख ढकालले महिलाहरुको स्वास्थ्यसंग जोडिएकाले यसको न्युनीकरण गर्न सरोकारवाला पक्ष लाग्नुपर्नेमा जोड दिइन् ।

सरकारले सुरक्षित गर्भपतनको कानुनी मान्यता दिए पनि कानुनको अधिकारमा टेकेर कानुनको दुरुपयोग भइरहेको ढकालको भनाइ छ ।

कानुनी जटिलता, धार्मिक मूल्य–मान्यता र सामाजिक संरचनाका कारण यो समस्या बढिरहेको पनि कार्यक्रमका सहभागीहरुले निष्कर्ष निकाले ।

पैसा कमाउने लोभले मेडिकलहरुले नै खुलेआम गर्भपतन गरिरहेको बताउँदै यसलाई स्थानीय तहवाट नै गैरकानुनी घोषणा गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

महिलारक्षक सञ्जाल सुर्खेतका अध्यक्ष मञ्जु सुनारले वैधानिक वा अवैधानिक तरिकाले गरिने गर्भपतन गैरकानुनी काम भएको वताइन् ।

उनले छोरीको जन्मन पाउने अधिकार खोसिएको भन्दै नीति–नियम र कानुन बनाएर यसको रोकथाम गनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा विभिन्न सरोकारवाला निकायका व्यक्तिहरुले स्थानीय तहमै नीति तथा कानून बनाई बालिका मृत्युदर घटाउन सम्पूर्ण पक्ष लाग्नुपर्ने खाँचो औल्याएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७२/०७३ मा सुर्खेत जिल्लाभर गरेको सर्वेक्षण अनुसार बालकको संख्या १ हजार ८ सय ८९ रहेको छ भने बालिकाको संख्या १ हजार ७ सय ४० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment