+
+
Shares

गृहको मर्यादाक्रम जनप्रतिनिधिलाई अस्वीकार्य

कर्मचारी हाबी भएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २० गते ९:४०

२० भदौ, काठमाडौं । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुको बरियताक्रम निर्धारण गर्दा कर्मचारीतन्त्र हाबी भएको र जनप्रतिनिधिको हूर्मत लिन खोजिएको आरोप लागेको छ ।

सरकारी पदाधिकारीहरुको नयाँ मर्यादाक्रम तत्काल नसच्याए आन्दोलन शुरु गर्ने चेतावनी नगर र गाउँपालिकाका पदाधिकारीले दिएका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको यथार्थलाई कर्मचारीतन्त्रले पचाउनै नसकेका कारण पाइला पाइलामा अवरोध सिर्जना गरिएको नगरपालिका संघका अध्यक्ष डोरमणि पौडेलले बताए । उनका अनुसार यसबारे राजनीतिक नेतृत्व र संसदको ध्यानाकर्षण गराइएको छ ।

गृहमन्त्रालयले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि सरकारी पदाधिकारीहरुको नयाँ मर्यादाक्रम निर्धारण गरेको छ । जुन बरियतालाई ८ तहमा विभाजन गरिएको छ । बरियताको पहिलो नम्बरमा राष्ट्रपतिलाई राखिएको छ भने २८ औं नम्बरमा नेपाली सेनाको सहायक सेनानी छन् ।

गाउँपालिका अध्यक्षको मर्यादाक्रम २५ औं नम्बरमा राखिएको छ । त्यसमा पनि गाउँपालिका नभनी पूरानै गाविस भनिएको छ । गाउँपालिका महासंघका ३ नम्बर प्रदेश संयोजक इश्वरचन्द्र पोखरेलले मर्यादाक्रम आपत्तिजनक र अश्वीकार्य रहेको बताए ।

‘स्थानीय तहको चुनाव भइसकेपछि ल्याइएको मर्यादाक्रममा गाउँपालिका नभनी गाविस लेखिएको छ, त्यो आफैं त्रुटिपूर्ण छ’ दोलखाको तामाकोशी गाउँपालिका अध्यक्षसमेत रहेका पोखरेलले भने, अर्को कुरा जनप्रतिनिधिलाई अपमान गर्ने गरी अधिकृत तहका सरकारी कर्मचारीभन्दा तल राखिएको छ, यो स्वीकार्य छैन भनेर हामीले भनिसकेका छौं ।’

गाउँपालिकाको कार्यकारी अधिकृत उपसचिव तहको कर्मचारी हुने भनिएको छ । जबकि गाउँपालिका अध्यक्षको मर्यादाक्रम उपसचिवभन्दा तीन तह तल राखिएको छ । उपसचिवलाई २५ औं नम्बरमा राखिएको छ भने गाउँपालिका अध्यक्षलाई सेनानी, डिएसपीहरुको लहरमा राखिएको छ ।

गाउँपालिका महासंघले गाउँपालिका अध्यक्षलाई कम्तिमा सहसचिव सरहको बरियतामा राखिनुपर्ने सुझाव दिएको छ । मुख्य सचिव, गृहसचिवलगायत सरकारी अधिकारी र मन्त्रीहरुलाई समेत भेटेर सुझाव दिइएको महासंघले जनाएको छ ।

गृहमन्त्रालयले उपमहानगरपालिका र नगरपालिकाका मेयरलाई सहसचिव सरहको मर्यादाक्रममा राखेको छ । महानगरपालिकाका मेयर र जिल्ला समन्वय समितिका प्रमुखलाई सहसचिवभन्दा एक तहमाथि १८ औं नम्बरको बरियतामा राखिएको छ ।

‘नेपाल सरकारको सचिवभन्दा ३ लाख जनताबाट चुनिएको काठमाडौं महानगरको मेयरको मर्यादा तल राख्नु भनेको जनताको अपमान हो’ पौडेलले भने, ‘यस्तो अपमानजनक मर्यादाक्रम जनप्रतिनिधिहरुले स्वीकार गर्नु हुँदैन ।’

अहिले सार्वजनिक गरिएको मर्यादाक्रम अत्यन्तै गलत ढंगले ल्याइएको भन्दै गाविस महासंघका संयोजक पोखरेलले गृहमन्त्रालयले नसच्याएमा जनप्रतिनिधिले आन्दोलन गर्ने चेतावनी दिए । यसबारेमा महासंघको बैठक बसेर निर्णय लिइने ३ नम्बर प्रदेश सदस्य तथा फिक्कल गाउँपालिका सिन्धुलीकी उपाध्यक्ष पार्वती सुनुवारले बताइन् ।

यस्तो छ सरकारी पदाधिकारीहरुको मर्यादाक्रम :

१. राष्ट्रपति
२. उपराष्ट्रपति
३. प्रधानमन्त्री
४. प्रधानन्यायाधीस
५. संविधानसभा अध्यक्ष/ब्यवस्थापिका संसदका सभामुख
६. पूर्व राष्ट्रपति, उपप्रधानमन्त्री
७. मन्त्री, ब्यवस्थापिका संसदका विपक्षी दलका नेता, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीस, ब्यवस्थापिका संसदका उपसभामुख, संविधानसभाका उपाध्यक्ष, पूर्वसभामुख
८. राज्यमन्त्री, संविधानसभा/व्यवस्थापिका संसदका विभिन्न समितिका सभापति/अध्यक्ष
९. राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रज्ञा प्रतिष्ठानका कुलपतिहरु
१०. सर्वोच्च अदालतका न्यायाधीस, न्यायपरिषदका सदस्य
११. सहायक मन्त्री
१२. संविधानसभारब्यवस्थापिका संसदका सदस्य
१३. संबैधानिक निकायका प्रमुख, महान्यायाधीवक्ता, नेपाल सरकारका मूख्य सचिव, प्रधान सेनापति, संसद सचिवालयका महासचिव
१४. उच्च अदालतका मुख्य न्यायाधीश, राष्ट्रिय योजना आयोगका सदस्य, संबैधानिक निकायका पदाधिकारी, नेपाल राष्ट्रबैंकका गभर्नर, प्रज्ञाप्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका उपकुलपति
१५. नेपाल सरकारका सचिव, नेपाल सरकारका बिशिष्ट श्रेणिका कर्मचारी, नेपाल स्थित विदेशी राजदुत, सार्कका महासचिव, नेपाली राजदूत, सर्बोच्च अदालतका रजिष्टार, नायब महान्यायाधिवक्ता, उच्च अदालतका न्यायाधिश
१६. रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसंधान निर्देशक (राष्ट्रिय अनुसंधान विभाग), नेपाल स्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका आवासीय संयोजक
१७. उपरथी, अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसंधान विभागका अतिरिक्त मूख्य अनुसंधान निर्देशक
१८. जिल्ला विकास समितिका निर्वाचित सभापति, महानगरपालिकाका प्रमुख (निर्वाचित)
१९. नेपाल सरकारका सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, जिल्ला न्यायाधीश, राजपत्रांकित प्रथम श्रेणिका कर्मचारी, उपमहानगरपालिकाका प्रमुख (निर्वाचित), नगरपालिकाका प्रमुख (निर्वाचित)
२०. नेपालस्थित विदेशी कन्सलर जनरल, नेपालस्थित अन्य अन्तर सरकारी संस्थाका प्रमुख
२१. सहायक रथी, प्रहरी नायव महानिरिक्षक, सशस्त्र प्रहरी नायव महानिरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान निर्देशक
२२. महासेनानी, प्रहरी बरिष्ठ उपरिक्षक, सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका सह अनुसंधान निर्देशक
२३. नेपाल सरकारका उपसचिव, निर्देशक, राजपत्रांकित द्धितीय श्रेणिका कर्मचारी
२४. प्रमुख सेनानी, प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका उप अनुसंधान निर्देशक
२५. सेनानी, प्रहरी नायव उपरिक्षक, सशस्त्र प्रहरी नायव उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान अधिकृत, गाविस (अध्यक्ष)
२६. सह सेनानी, नेपाल सरकारका शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणिका कर्मचारी
२७. उपसेनानी, प्रहरी निरिक्षक, सशस्त्र प्रहरी निरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान अधिकृत
२८. सहायक सेनानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?