Comments Add Comment

सरकारको निर्णय बस व्यवसायीले टेरेनन्, अग्रिम टिकट बुकिङ खुलेन


२२ भदौ, काठमाडौं । सरकारले आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि व्यवसायीहरुले अटेरी गरेका छन् ।

यातायात व्यवसायीले विभिन्न माग राख्दै टिकट बुकिङ नखोल्न दबाब दिएपछि आजदेखि खुल्ने भनिएको टिकट वितरण अवरुद्ध बनेको हो ।

बिहीबारदेखि टिकट वितरण हुने जानकारी पाएपछि बिहान ४ बजेदेखि नै सर्वसाधारण बसपार्क पुगेर लाम लागेका थिए । तर, व्यवसायीहरुले आफ्ना विभिन्न मागहरु तेर्साउँदै टिकट वितरण रोकेपछि सर्वसाधारण निराश भएर घर फर्किएका छन् ।

यातायात व्यवस्था विभागले १६ भदौमा सरोकारवालाको बैठक गरेर दशैंका लागि अग्रीम टिकट बुकिङ २२ गतेबाट खोल्ने निर्णय गरेको थियो । त्यतिबेला यो निर्णयलाई आलोचनात्मक समर्थन जनाएका यातायात व्यवसायी अहिले बार्गेनिङ थालेका छन् ।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला सरकारले दशैंमा यात्रुलाई सहजसँग घर जाने वातावरण नबनाएसम्म अग्रीम टिकट बुकिङ नखोल्ने बताउँछन् ।

व्यवसायीहरुले अग्रिम टिकट बुकिङ खोल्न बसमा छत राख्न पाउनु पर्ने सर्त राखेका छन् ।

छतमा सामान र यात्रु राख्ने र ओभरलोडका कारण दुर्घटना बढेपछि सरकारले केही महिनाअघि बसहरुमा छत नै राख्न नपाउने नियम ल्याएको थियो ।

व्यवसायीले यो नियम उल्ट्याउन दशैंको अग्रिम टिकटमा हलो अड्काएका छन् । ‘२० किलोसम्म मात्रै सामान बोक्न आह्वान गरेर हुँदैन । विदेशबाट फर्किएका नेपालीको समान कहाँ राखेर लैजाने र भारतीय नाका हुँदै दशैंलाई घर फर्किनेका समान कहाँ राख्ने भन्ने अप्ठोरो छ’, सिटौलाले भने ।

व्यवसायीले सडकको अवस्था खराब भएकाले त्यसलाई मर्मत गरेर गाडी चल्न योग्य बनाउनुपर्ने माग गरेका छन् । मुग्लिन–नारायणगढ सडकको अवस्था दयनीय भए पनि सरकारले ममर्त नगरेसम्म टिकट बुकिङ नखोल्ने सिटौला बताउँछन् ।

यातायात व्यवसायीहरुले दशैंकै मौका छोपेर भाडावृद्धिको माग समेत अघि सारेका छन् । पुरानो भाडादर वैज्ञानिक नभएको बताउँदै उनीहरुले मूल्यवृद्धिका आधारमा भाडा समायोजन गर्न माग गरेका हुन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डे भने केही कम्पनीले अग्रीम टिकट बुकिङ खोलिसकेको बताउँछन् । तर, बिहीबार दशैंमा घर जाने सपना बोकेर टिकटका लागि पुगेका सर्वसाधारण रित्तो हात घर फर्केका छन् । यसले यो वर्ष पनि अग्रीम टिकटमा कालोबजारी हुने खतरा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment