Comments Add Comment

वीरगञ्जका भावी मेयरः चिन्नुहोस् को कस्ता छन् ?

पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म

२३ भदौ, वीरगञ्ज । प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्ज असोज २ को चुनावी दौडमा सबैभन्दा अगाडि छ । देशको व्यापारिक राजधानी भएर मात्रै होइन, पछिल्लो मधेस आन्दोलनको बेला नाकाबन्दीको मुख्य केन्द्र बनेको र सबैभन्दा बढी क्षति भोगेको शहरमा अहिले ‘समृद्धि र विकास’ को नारा गुञ्जिएको छ ।

वीरगञ्ज महानगरको मेयर पद कति आकर्षक छ भन्ने त मेयर बन्नकै लागि चर्चित व्यवसायीहरु यसबीचमा पार्टी प्रवेश गरेर टिकट लिन सफल भएको घटनाले नै स्पष्ट पार्छ । टिकट नपाउने नेताहरुले पार्टी नै छाडेर हिँडे । वीरगञ्जको मेयरको दौडमा रहेका खेलाडीहरु कोहीभन्दा कोही कम छैनन् ।

चार वर्षअघि संविधानसभा निर्वाचनमा सभासदका लागि प्रत्याशी बनेका चार जना नेताहरु अहिले मेयरको प्रतिस्पर्धामा उत्रिएका छन् । यसले पनि वीरगञ्जको मेयर पदको महत्व र आकर्षणलाई अरु बढाएको छ ।

संयोगवस संविधानसभाको चुनावमा पर्सा क्षेत्र नम्बर १ मा दोस्रो र तेस्रो बनेका तथा क्षेत्र नम्बर २ मा दोस्रो र तेस्रो बनेकाहरु समेत अहिले मेयरमा पहिलो बन्न खोजिरहेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले वीरगञ्जको मेयरमा उठाएका उम्मेदवारहरु बीरगञ्जका जनताबीच परिचित अनुहार मात्रै होइनन्, उनीहरु हेबीवेट पनि हुन् । यसमा माओवादी केन्द्रले ३१ वर्षे युवालाई मेयरको दौडमा पठाएर खेललाई झनै रोचक बनाइदिएको छ ।

महानगरको मेयर बन्न जनताबीच गइरहेका उम्मेदवारहरुको संक्षिप्त ‘प्रोफाइल’ यस्तो छ-

अजय द्विवेदीः नेपाली कांग्रेस

विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय पूर्वसभासद अजय द्विवेदी वीरगञ्जबासीका लागि चिरपरिचित पात्र हुन् । ०४९ सालको पहिलो स्थानीय निकाय निर्वाचनमा तत्कालीन वीरगञ्ज नगरपालिकाको उपमेयर भएदेखि नै उनी जनताबीच सक्रिय छन् ।

५५ वर्षीय द्विवेदी बौद्धिक एवं तार्किक नेताका रुपमा चिनिन्छन् । पहिलो संविधान सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट सभासद जितेका द्विवेदी दोस्रो निर्वाचनमा भने एमालेका विचारी यादवबाट पराजित भएका थिए ।

वीरगञ्जको उपमेयर भइसकेका अजय महानगरपालिका मेयरको दौडमा हेबिवेट उम्मेदवार मानिन्छन् । हाल कांग्रेस पर्साका सभापतिसमेत रहेका द्विवेदी राजनीतिमा स्थापित खेलाडी हुन् । उनी पार्टीभित्र देउवा खेमाको भए पनि उनको उम्मेदवारीमा खासै विवाद देखिएको छैन ।

बसरुद्दिन अन्सारी: एमाले

एमालेका मेयर उम्मेदवार बसरुद्धिन अञ्सारी वीरगञ्ज महानगरपालिका वडा नं. २३ प्रसौनी विर्ताका स्थानीय वासिन्दा हुन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका ५३ वर्षीय अन्सारी नेशनल मेडिकल कलेजका सञ्चालक एवं प्रवन्ध निर्देशक पनि हुन् । सरकारले हालै उनको मेडिकल कलेजको सम्बन्ध खारेज गर्ने निर्णय गरेको छ ।

२०७० सालको संविधानसभा निर्वाचनमा माओवादीको तर्फबाट पर्सा क्षेत्र नं. २ मा उम्मेदवार बनेका अन्सारी ६ हजार मत पाएर तेस्रो भएका थिए । रोचक संयोग नै मान्नुपर्छ, पर्सा २ मा एमालेका बिचारी यादवले जित्दा दोस्रो र तेस्रो भएका प्रत्याशीहरु अहिले मेयरको दौडमा पनि सँगै छन् ।

फरक यति हो कि त्योबेला बसरुद्धिन माओवादीबाट उम्मेदवार थिए भने अहिले एमालेबाट ।

विमल श्रीवास्तवः फोरम लोकतान्त्रिक

फोरम लोकतान्त्रिकबाट मेयरको उम्मेदवार बनेका विमल श्रीवास्तव वीरगञ्जका सबै पुस्ताका मानिसबीच परिचित पात्र हुन् । राजनीतिक उतार चढाव धेरै हेरेर खारिएका नेता हुन् उनी । वीरगञ्ज ५ का ६७ वर्षीय श्रीवास्तव पञ्चातकालदेखि बहुदलसम्म ४ पटक वीरगन्जको मेयर भइसकेका छन् । बिमल बिनाको चुनाव वीरगञ्जबासीले बिरलै देखेका छन् ।

राजपाका महासचिव समेत रहेका श्रीवास्तव पार्टीबाट टिकट नपाएपछि हठात लोकतान्त्रिक फोरममा प्रवेश गरी मेयरमा उम्मेदवारी दिएका छन् ।

विजय सरावगी: संघीय समाजवादी फोरम

प्रसिद्ध व्यापारिक एवं व्यवसायिक घरानाका विजय सरावगी वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रहिसकेका व्यक्ति हुन् । राजनीतिमा रुची राखे पनि संलग्न नभएका सरावगी ५ महिना अघि संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए ।

५२ वर्षीय सरावगी सामाजिक र धार्मिक कार्यमा पनि संलग्न रहँदै आएका छन् । वीरगञ्जमा व्यवसायीहरु र मारवाडी समुदाय बढी भएकाले फोरमले सरावगीलाई अघि सारेको अनुमान गरिएको छ । उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यसमेत भइसकेका परिचित व्यवसायी हुन् ।

राजेशमान सिंह: राजपा

राजेशमान सिंह वीरगञ्ज ३ का बासिन्दा हुन् । राजपाबाट मेयरको उम्मेदवार बनेका ४५ वर्षीय सिंहको राजनीति कांग्रेसबाट शुरु भएको थियो ।

कांग्रेसपछि राजेशमान बिमल श्रीवास्तवसँगै राप्रपा, स्वतन्त्र समूह, तराई मधेस लोकतान्त्रिक हुँदै राष्ट्रिय मधेस समाजवादी पार्टीमा थिए ।

पछिल्लो संविधानसभाको निर्वाचनमा रामसपाको तर्फबाट पर्सा नम्बर १ बाट उम्मेदवार बनेका उनी तेस्रो भएका थिए । यो अर्को रोचक संयोग हो कि कांग्रेसका राजेन्द्र अमात्यले चुनाव जित्दा बिमल श्रीवास्तब दोस्रो र राजेशमान तेस्रो भएका थिए । अहिले उनीहरु सबैजना मेयरको दौडमा छन् ।

राजेशमान मधेस आन्दोलनमा सक्रिय रहेका थिए । पहाडी नेवार समुदायको भए पनि सिंह मधेसी आन्दोलनमा सुरुदेखि नै लागेका छन् । ठेक्काको कामसँगै अन्य व्यवसाय पनि गरेका सिंह युवा माझ लोकपि्रय छन् । वीरगञ्जको मेयरमा मधेसवादी पार्टीबाट पहाडे उम्मेदवार बनेका उनी एकमात्र पहाडे प्रत्याशी हुन् ।

रहबर अन्सारी: माओवादी केन्द्र

माओवादीले वीरगञ्जको मेयरमा अघि सारेका रहबर अन्सारी वीरगञ्जको राजनीतिमा भर्खरै ‘डेब्यू’ गरेका युवा नेता हुन् । युरोपमा पढेका ३१ वर्षीय अन्सारी गण्डकी मेडिकल कलेजका सञ्चालक पनि हुन् ।

रहबर अन्सारी बीरगञ्जबासीका लागि नयाँ पात्र भएकै कारण उनले विशेष गरी युवा वर्गलाई आकर्षित गर्ने प्रचार शैली अपनाएका छन् । उनको ‘हाइटेक’ प्रचार शैलीको चर्चा वीरगञ्जमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment