Comments Add Comment

भाषा आयोगले छिट्टै पूर्णता पाउँछः प्रधानमन्त्री देउवा

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा आयोगले छिट्टै पूर्णता पाउने बताएका छन् ।

प्रधानमन्त्री देउवाले संविधानले व्यवस्था गरे अनुसार आयोगलाई पूर्णता दिन सरकार तयार रहेको भन्दै आयोगले छिट्टै पूर्णता पाउने बताएका हुन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले आयोगलाई पूर्णता दिन ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री देउवाले आयोगलाई पूर्णता दिन तयार रहेको बताएका हुन् ।

प्रधानमन्त्रीलाई भेटी आयोगका अध्यक्ष अवस्थीले आयोगलाई पूर्णता नदिएकै कारण जिम्मेवारी अनुसारको कार्य सम्पादन गर्न नसकिएको गुनाशो गरेका थिए ।

आयोगलाई पूर्णता दिन ढिलाई नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको आयोगका अध्यक्ष डा. अवस्थीले बताए ।

आयोगले भाषा आयोगको ऐन निर्माणको कामलाई अघि बढाउन नसकेकोतर्फ पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।

आयोगका अध्यक्ष अवस्थीले संसदमा ऐन निर्माणका लागि विधेयक पेश गरिएको भएपनि त्यसलाई पारित गराउन सरकार र संसद दुवै अग्रसर नभएको गुनासो गरेका थिए ।

आयोगले सरकारी कामकाजको भाषालाई व्यवस्थित बनाउनुपर्ने, लोपोन्मुख भाषाहरुको संरक्षणका लागि तत्काल उपयुक्त कदम चाल्नुपर्ने लगायतका सुझावसहितको आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण पनि प्रधानमन्त्री देउवालाई बुझाएको छ ।

सरकारले एक वर्ष अघि केन्द्र र प्रदेशहरुको सरकारी कामकाजको भाषा निर्धारण, भाषा र लिपीको संरक्षण लगायतको काम गर्ने कार्यादेशसहित अवस्थीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

आयोगलाई भाषा सम्बन्धी सम्पूर्ण निर्णय लिने अधिकार संविधानले नै व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment