+
+
Shares

दशैंमा थपिएनन् नयाँ बस

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २६ गते १०:०७

२६ भदौ, काठमाडौं । विगतका दशैंहरुमा देशभर झण्डै १ हजार सार्वजनिक बस थपिन्थे । तर, यातायात व्यवसायीका अनुसार यो वर्षे त्यसको २५ प्रतिशत पनि बस थपिएनन् ।

काठमाडौं आउ–जाउ गर्ने रुटमा मुस्किलले ५०/६० वटा नयाँ बस थपिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनलाइनखबरलाई बताए ।

वित्तीय व्यवस्थापनको जटिलता र सडकको दूरावस्थाले व्यवसायीहरु नयाँ बस किन्न नहौसिएको सिटौलाको तर्क छ ।

व्यवसायीले विगतदेखि नै दशैंमा चलाउने गरी बस किन्ने गरेका थिए । यो समयमा बस किनेर चलाउँदा सुरुवातमै राम्रो कमाइ हुने भएकाले नयाँ बस हाल्न उपयुक्त मानिन्छ ।

तर, यसपटक व्यवसायीहरुले उल्लेख्य बस खरिद गरेनन् । ‘नयाँ बस नआएपनि यात्रुले सुविधा पाउँछन् । हामीसँग सवारी साधानको अभाव छैन’ सिटौलाले भने ।

यातायात व्यवसायीहरुले यो वर्ष नयाँ बस नथपिनुमा दुई कारण औंल्याएका छन् । महासंघकाअनुसार राष्ट्र बैंकले लगानी योग्य पुँजी अभावको कारण देखाउँदै अटालोनको सीमा बढाउँदा त्यसको ठूलो प्रभाव सार्वजनिक यातायात विस्तारमा परेको हो ।

सार्वजनिक सवारीलाई निजी सवारीकै डालोमा राखेर नीति लिँदा समस्या भएको महासचिव सिटौलाको दाबी छ । ‘एउटा राम्रो बब ल्याउन ६० लाखदेखि १ करोड २५ लाखसम्म पर्न थालिसक्यो’ सिटौलाले भने, ‘निजी सवारीलाई जस्तै सार्वजनिक सवारीलाई पनि ५० प्रतिशत डाउन पमेन्टको नीति ल्याएपछि दशैंमा नयाँ बस झिकाउन सकिएन ।’

सार्वजनिक सवारीको प्रवद्र्धनका लागि सहुलियत ब्याजदरमा ऋण व्यवस्था गर्नुपर्नेमा डाउन पेमेन्टमा ठूलो हिस्सा समावेश गर्दा लगानी गर्न नसकिएको व्यवसायी बताउँछन् ।

अहिलेको मौद्रिक नीतिले पनि ४० सिटभन्दा ठूला सवारीलाई मात्रै २० प्रतिशत डाउन पेमेन्ट भनेको छ । ‘४० सिटभन्दा ठूला सार्वजनिक बस खासै आउँदैनन् । यहाँ त्यस्तो सब चल्ने सडक पनि छैन’ सिटौलाले भने, ‘बरु निजी सवारीको डाउन पमेन्ट ५० प्रतिशतमाथि लगेर भएपनि सार्वजनिक सवारीलाई न्युनतम् सीमामा झार्नुपथ्र्यो ।’

व्यवसायीले नयाँ बस नथप्नुमा देखाएको अर्को कारण हो, ‘सडकको दूरावस्था’ । मुग्लिन–नारायणगढ सडकखण्ड विस्तारका क्रममा रहँदासवारी र यात्रुहरुलाई ठूलो सास्ती छ ।

अस्तव्यस्त सडकमा करोड खर्चेर नयाँ बस हाल्न व्यवसायी उत्साहित नभएको महासचिव सिटौलाको तर्क छ । ‘पैसा छ भने पनि सडक सम्झेर ब्यवसायी नयाँ बस किनिहालौं भन्न्न सोचबाट पर छन् । चलिरहेका बसले पनि खर्च बढाएका छन्’ सिटौलाले भने, ‘सडकको अवस्था नसुधारिए सम्म ठूलो संख्यामा बस थपिने अवस्था छैन ।’

व्यवसायीले सार्वजनिक सवारीमा डाउन पेमेन्टको नीतिमा पनि राष्ट्र बैंले पुनरावलोकन गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?