Comments Add Comment

प्रेसमिटमै प्रदिपको ४ बडिगार्डसहित इन्ट्री(भिडियो)


नेपाली चलचित्रमा अहिले नायक वा नायिकाका लागि बडिगार्ड आवश्यकता र फेसन दुबै बनिरहेको छ । चलचित्र ‘ड्रिम्स’ रिलिजको समयमा नायक अनमोल केसी केही बडिगार्ड सहित हल पुगेपछि त्यसले हंगामा मच्चाएको थियो । विशेषगरि, हलमा दर्शकको अत्याधिक चाप हुने भएकाकारण, नायक वा नायिकाका लागि बडिगार्ड स्वभाविक नै हो ।

२ साता अगाडि मात्र रिलिज भएको चलचित्र ‘ए मेरो हजुर २’का मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सलिनमान बनियाँ हलमा पुग्दा पनि ६ जना बडिगार्डको व्यवस्था गरिएको थियो । सो समयमा ६ जना बडिगार्ड नभइदिएको भए साम्राज्ञी र सलिनलाइ दर्शकबाट उम्काउन धौ-धौ पर्ने पक्का थियो ।

चलचित्रको प्रिमियर वा कलाकार हलमा पुग्दा बडिगार्डको सुरक्षा आवश्यकता हुँदै गएको छ । नेपाली चलचित्र हेर्ने दर्शकको संख्या बढ्नु, स्टार क्रेजका कारण पनि बडिगार्ड दर्शकमाझ पुग्दा चाहिने अवस्था आएको छ । चलचित्र ‘म यस्तो गीत गाउँछु’को प्रदर्शनको समयमा नायक पल शाह र नायिका पूजा शर्मा हलमा पुग्दा दर्शकको भिड उल्लेख्य थियो । सो समयमा बडिगार्ड नहुँदा पल र पूजालाइ भिडबाट बाहिर निस्कन धौ-धौ नै परेको थियो । नायक प्रदिप खड्का चलचित्र ‘प्रेमगीत २’को रिलिजको समयमा विना बडिगार्ड हलमा पुगेका थिए । उनी अभिनित चलचित्र ‘प्रेमगीत २’ हेर्न दर्शकको हलमा थामिनसक्नु भिड थियो ।

तर, मंगलबार भने काठमाण्डौको अन्नपूर्ण होटलमा छुट्टै माहोल देखियो । चलचित्र ‘लिलिबिली’ को घोषणा कार्यक्रममा चलचित्रका मुख्य कलाकार बडिगार्डको सुरक्षामा स्टेज चढे । पत्रकार सम्मेलनमा पत्रकार मात्र उपस्थित थिए ।

सुरुमा चलचित्रका दुइ नव-नायिकाहरु जसिता गुरुङ र रेविका गुरुङ २-२ जना बडिगार्डको साथमा स्टेज चढे । त्यसपछि, नायक प्रदिप खड्का ४ जना बडिगार्डको साथमा स्टेजमा पुगेका थिए । यो दृश्य हेर्दा रोचक थियो ।

पत्रकारको एक प्रश्नमा निर्देशक मिलन चाम्सले चलचित्र क्षेत्र सो-अपको क्षेत्र भएकाले आफूहरुले बडिगार्डको आवश्यकता महशुश गरेको बताए । उनले भने-‘चलचित्र क्षेत्रमा आउँदै गरेका नव-कलाकारका लागि पनि यो सकारात्मक सन्देश दिने शैली हो । मैले चलचित्रको पि्रमियरमा रेड कार्पेटको सुरुवात गरेको थिएँ, अब यो शैलीको सुरुवात गर्दैछु ।’

पत्रकार सम्मेलनमा कुनै कलाकार असुरक्षित हुने त कुरै थिएन । तर, पनि निर्देशकले चलचित्र क्षेत्रमा नयाँ सुरुवात गरेको बताए । उनले बलिउडका स्टारले बडिगार्ड लिएर हिड्छन् भने नेपाली स्टारहरुले किन हुँदैन भनेर प्रश्न समेत गरे ? अब यी बडिगार्डको सुरक्षा चलचित्रका मुख्य कलाकारलाइ हरेक समयमा हुन्छ या हुँदैन त्यो भोलीको दिनमा थाहा हुनेछ ।

आशा गरौ, नेपाली चलचित्र क्षेत्रमा स्टारडम बनाउँदै गएका नायक प्रदिप खड्काको साथमा हरेक समय बडिगार्ड देख्न पाइनेछ । पत्रकार सम्मेलनमा बडिगार्डसँग हिड्ने नायक अन्य समय भने मुखमा माक्स लगाएर एक्लै हिडेको पक्कै देख्न पर्ने छैन ।

बडिगार्डको सुरक्षा घेरामा प्रदिप, भिडियो हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment