Comments Add Comment

केपी ओली किन झरेनन् मधेस ?

मधेसको जिम्मा माधव नेपाल र ईश्वर पोखरेललाई !

फाइल तस्वीर

२८ भदौ, काठमाडौं । प्रदेश नम्बर २ को चुनावी अभियानमा सहभागी हुन एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सबै शीर्ष नेता मधेस झर्ने निर्णय पार्टीले गरेको थियो । तर, चुनावी अभियान मन्तध्यारमा पुग्दा पनि अध्यक्ष ओली काठमाडौंमै छन् ।

ओली मधेस किन झरेनन् ? काठमाडौंबाट भन्दा पनि मधेसबाटै यस्तो प्रश्न उठेपछि हामीले ओलीको सचिवालयमा सोध्यौं । चुनावका बेला ठूला आमसभा आयोजना नभएकाले ओली मधेस नझरेको जवाफ उनको सचिवालयले दियो ।

ठूला आमसभा आयोजना नभएकै कारण ओली मधेस नझरेका हुन् त ? एमाले स्रोतका अनुसार सत्तापक्ष र मधेसवादी दलको विरोधको केन्द्रबिन्दू ओली र एमाले भएका कारण स्थानीय पार्टी कमिटीहरुले नै सानातिना चुनावी अभियानहरुमा ओलीलाई उभ्याउन नचाहेका हुन् ।

मधेसमा सबै राजनीतिक दलहरु एक्लाएक्लै चुनाव लडिरहेका छन् । तर, उनीहरुको विरोधको निशाना एमालेमै केन्दि्रत छ । एमालेको कमजोर उपस्थिति रहेका राजविराज र जनकपुरजस्ता शहरमा पनि कांग्रेस, माओवादी र मधेसवादी नेताहरुले गाली गर्ने भनेको एमाले र केपी ओलीलाई नै हो ।

जनकपुरमा चुनावी अभियान हाँकिरहेका ओली निकट एमाले नेता रघुवीर महासेठले भने- अध्यक्षलाई एक लाखभन्दा सानो मास हुने सभामा नबोलाउने नीति बनाइएको छ । सम्भवतः बर्दिबास र जनकपुरमा चाँडै ठूलोसभाको आयोजना गरेर ओलीलाई बोलाइने छ ।

महासेठले अनलाइनखबरसँग भने- अहिले सत्ताधारी र मधेसवादीहरुले विभिन्न ठाउँमा अघोषित रुपमा एमालेविरुद्ध तालमेल गरिरहेका छन् । हाम्रा साथीहरु आ-आफ्नो गाउँमा घरदैलोमा छन्, उनीहरु बाहिर निस्कनै पाएका छैनन् । यस्तो अवस्थामा ठूला आमसभा गर्ने समयनै भएन, साना कार्यक्रममा अध्यक्षलाई नबोलाउने नीति हो ।

ओली मधेस झर्दा विरोध हुन सक्ने भयले स्थानीय पार्टीले उनको आतिथ्यमा कार्यक्रम नराखेको आशंका भइरहेको छ । मधेसवादी र सत्तापक्षका कार्यकर्ताबाट समेत अवरोध हुन सक्ने र एमाले प्रतिवादमा उत्रिँदा झडप हुने भएकाले पनि ठूला कार्यक्रम नराखिएको एमाले स्रोत बताउँछ ।

एमाले नेता महासेठले भने ओलीलाई मधेसमा मधेसी जनताले सबैभन्दा आदर गर्ने दाबी गरे । ‘केही कांग्रेस, माओवादी र मधेसवादीहरुले बिरोध गरेर केही हुँदैन’ महासेठले भने ‘तर हामीले ठूला सभामा मात्रै अध्यक्षलाई बोलाउने, घरदैलोमा धपेडी नगराउने भनेका हौं’ ।

सबै उम्मेदवारहरु आ-आफ्ना गाउँ नगरमा चुनाव प्रचारमा रहेकाले ठूला सहरमा आमसभा आयोजना नगर्ने नीति एमालेले लिएको छ । बर्दिबास, जनकपुरलगायतका केही ठाउँमा आमसभा आयोजना गरेर ओलीलाई उतार्न महासचिव ईश्वर पोखरेलले तयारी गरिरहेको स्रोतले बतायो ।

महासचिव पोखरेलका साथै बरिष्ठ नेता माधवकुमार नेपाल एक सातादेखि मधेसकै विभिन्न जिल्लाका कार्यक्रम सकेर गृहजिल्ला रौतहट पुगेका छन् । सचिव योगेश भट्टराई पनि मधेसमै केन्दि्रत भएका छन् । तर ओली, झलनाथ खनाल र वामदेव गौतम भने मधेस झरेका छैनन् ।

आफ्ना अभिव्यक्तिका कारण मधेसमा एउटा तप्काका लागि मधेसविरोधी छवि बनाएका ओली अहिले चुनावी अभियानममा मधेस नझार्नुका पछाडि रणनीतिक कारण पनि हुन सक्छ ।

चुनावका बेला ओली मधेस जाँदा विपक्षीबाट हुने बिरोधले नकारात्मक असर नगरोस भन्नेमा एमालेका स्थानीय नेताहरु सतर्क भएका छन् । त्यसैले एमालेले मधेसमा यसपटक ठूला आमसभा भन्दा पनि मतदाताको घरघरमा पुग्ने अभियानलाई जोड दिएको देखिन्छ ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेसमा चुनावी अभियानको नेतृत्व गरिरहेका बेला एमाले अध्यक्ष ओली भने मधेस नझर्नुले प्रश्न भने उठाएका छन् । किनकि यसबीचमा ओली तनहुँको भानु नगरपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्न पुगे, तर मधेस झर्ने सुरसार देखाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment