
काठमाडौं । चलचित्र विकास बोर्डले दुई साताभित्र बक्सअफिसको बहुप्रतीक्षित ‘रियल टाइम डेटा’ प्रणाली संचालनमा ल्याउने भएको छ । विहीबार प्रणालीको सफलतापूर्वक परीक्षण गरिएको बोर्ड अध्यक्ष दिनेश डीसीले जनाए ।
हलले टिकट बिक्री गरेको ढिलोमा ५ मिनेटभित्रै बक्सअफिसको केन्द्रीय सर्भर प्रणालीमा डेटा भण्डारण हुनेछ । यो प्रणाली कार्यान्वयन भए वर्षौंदेखिको प्रयासले मूर्तरुप पाउनेछ ।
बक्सअफिस डेटामा भने सरकारी प्रतिनिधि, फिल्म निर्माता र वितरकले पहुँच पाउनेछन् । कुनै फिल्म र हलको ‘ट्रयाक रेकर्ड’ पनि विश्लेषण गर्न सकिने अध्यक्ष डीसीले बताए । ‘हरेक हलले ब्यापार पनि हेर्न पाउनेछन्’ उनले भने ।
बोर्डले जेठ १५ भित्रै सेवाप्रवाहलाई अनलाइनमाध्यममा रुपान्तरण गर्दैछ । सेवाग्राहीले बोर्डको वेबसाइटमार्फत सेवा लिनसक्नेछन् । रोचक के छ भने, सेवाग्राही कार्यालयसम्म धाउनुपर्दैन । सेवाग्राही भएकै स्थानमा बोर्डले कागजपत्र डेलिभर गर्ने तयारी छ ।
‘हामी दुई सेवालाई जेठ १५ भित्र लन्च गर्ने तयारीमा छौं । पूर्ण तयारी सकियो’ डीसीले भने । यी दुई प्रणालीको उद्घाटन चाहिँ संचार तथा सूचना प्रविधिमन्त्रीले गर्ने तयारी छ ।
बोर्डले अघि बढाइरहेको बनेपामा इन्डोर फिल्म छायांकन स्टुडियोको शिलान्यासको तयारी छ । प्रधानमन्त्रीले शिलान्यास गर्ने बताइएको यो परियोजनाको शिलान्यास मिति तय हुन बाँकी छ ।
प्रतिक्रिया 4