शनिबार, २ मंसिर, २०७४
OnlineKhabar.com

यसरी हुँदैछ नयाँ राष्ट्रपतिको चुनाव, कुल मत-५२७८६

५० जना प्रस्तावक समर्थक चाहिने, साना दललाई सकस

मात्रिका पौडेल

२८ भदौ, काठमाडौं । अब हुने राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचनमा संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० सांसदहरुले मतदान गर्नेछन् । तर, केन्द्र र प्रदेशका सांसदले दिएको मत भने बराबरी हुने छैन ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सम्बन्धमा सरकारले संसदमा पठाउन लागेको विधेयकमा दुई तहका सांसदहरुको मतभार निर्धारण गरिएको छ ।

मतभार अनुसार संघीय संसदको एकजना सांसदको दिएको एक मतलाई ७९ मतका रुपमा गणना गरिनेछ । प्रदेश सभाका एक सांसदले दिएको मतलाई ४८ मत गणना गरिनेछ ।

कानुन मन्त्रालयबाट हाल मन्त्रिपरिषदमा पुगेको विधेयकको मस्यौदामा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कुल मत ५२ हजार ७ सय ८६ निर्धारण गरिएको छ ।

यो हिसाब प्रदेश संसद र संघीय संसदका कुल सांसदहरुको संख्या र उनीहरुको मतभार गणना गरेर निकालिएको हो ।

कसरी खस्छ ५२ हजार ७८६ मत ?

नयाँ संविधानअनुसार प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ सदस्य गरी कुल ३३४ संघीय संसदका सदस्य रहनेछन् । प्रतिसांसद ७९ मतले हिसाब गर्दा केन्द्रीय संसदबाट राष्ट्रपति वा उपराष्ट्रपतिलाई खस्ने कुल मत २६ हजार ३ सय ८६ हुन्छ ।

त्यस्तै प्रदेश सभा सदस्यको मतभार ४८ ले कुल सदस्य संख्या ५५० गुणन गर्दा २६ हजार ४ सय हुन आउँछ ।

यसरी केन्द्रको २६ हजार ३ सय ८६ र प्रदेशको २६ हजार ४ सय मत जोड्दा ५२ हजार ७ सय ८६ मत पुग्छ । यही मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गणना हुने मत हो ।

मतभारले सिंगै जनसंख्याको प्रतिनिधित्व गर्ने

प्रस्तावित विधेयकमा निर्धारण गरिएको मतभार निराधार छैन । पछिल्लो जनगणना अनुसार नेपालको कुल जनसंख्यालाई सांसदहरुको संख्याले भाग गरेर यो मतभार निकालिएको विधेयकका मस्यौदाकारहरुले बताएका छन् ।

संघीय संसद र प्रदेश सभाको मतभार ०६८ सालको जनगणनाका आधारमा निकालिएको हो । २ करोड ६४ लाख ९४ हजार ५०४ जनसंख्यालाई संघीय संसद र प्रदेश संसदका सदस्यहरुको कुल संख्याले अलग-अलग भाग गरी त्यसबाट आउने योगफललाई पुनः एक हजारले भाग गरेर ७९ र ४८ मतभार निकालिएको हो ।

जस्तो कि-संघीय संसदको हिसाब गर्दा ७९ हजार जनसंख्या बराबर एकजना सांसद पर्न आउँछ । यही आधारमा एक सांसदको मतलाई ७९ मतभार मानिएको हो ।

त्यसैगरी प्रदेशसभाको एकजना सांसद बराबर ४८ हजार जनसंख्या पर्न आउँछ । र, यही आधारमा प्रदेशसभाको एक सांसद बराबर ४८ मत मानिएको हो ।

२५/२५ जना प्रस्तावक र समर्थक चाहिने

प्रस्तावित विधेयकमा राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्ने व्यक्तिले २५ सांसद प्रस्तावक राख्नुपर्ने छ । त्यस्तै समर्थक पनि २५ जना हुनुपर्ने प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।

यस्तो व्यवस्था भयो भने ५० जना भन्दा कम सांसद भएका पार्टी वा व्यक्तिले राष्ट्रपति वा उपराष्ट्रपतिको उम्मेदवार बन्न समस्या पर्न सक्छ । ठूला दलले समर्थन गरेको अवस्थामा मात्रै साना पार्टीले उम्मदेवारी दर्ता गर्न सक्छन् ।

सरकारले यो विधेयक संसदमा पेश गर्ने तयारी गरिरहेको छ । संसदबाट विधेयक पारित भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन बन्नेछ ।

व्यवस्थापिका संसदको कार्यअवधि कात्तिक ४ सम्म रहेकाले त्यसअघि नै यो विधेयक पारित हुनुपर्नेछ ।

२०७४ भदौ २८ गते १७:५० मा प्रकाशित (२०७४ भदौ २९ गते ७:१४मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • nagen लेख्नुहुन्छ    |   २०७४ भदौ २८ गते १७:०७

    Mat bhar jati sukai vaye pani hami janatalai kehi farak fardaina akhir lyapche lagaune murti vanda dherai adhikar vaye po. sakchhau vane karya kari pramukh banao na.

    1
    0
    Share

  • सुबास मगर लेख्नुहुन्छ    |   २०७४ भदौ २८ गते १९:३६

    राष्ट्रपति पदको निर्वाचन बारे आगामी दिनमा प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था लागू गरिनुपर्दछ । यसो गरिएमा स्थानीय तहका प्रमुख, प्रादेशिक तहका प्रमुख मुख्यमन्त्री र संघीय गणतन्त्रका प्रमुख राष्ट्रपति जनताबाट प्रत्यक्ष निर्वाचित हुने हुन्छ । जुन देश र राष्ट्रको समुन्नतिका लागि फाइदाजनक छ । आलंकारिक वा मानार्थ वा सीमित संसदहरूले मात्र भोटिङ गरेको प्रमुख पदले सिंगो देश र राष्ट्रलाई सहि नेतृत्व गर्न सक्दैन भन्ने भेरो निजि र म संलग्न दलको पनि विचार हो ।

    2
    0
    Share

  • shyam khatri लेख्नुहुन्छ    |   २०७४ भदौ २८ गते २०:२९

    satta and vatta matra khane.. kam nagarne rastrapati kam chhaina.. karyakari adhikari hunu par6 rastrapati… Now our Presidents are just dummy.. Like a statue… They are taking full facilities from our paid tax which we are earning from our hard labour and
    doing hard work in this current expensive situation.. We hardly earn 500 rupees per day but with this 500 rupees Such a dummy president gets fully facilities with just sitting and eating and becoming fat… who becomes president he/she becomes fat.. we can see it clearly.. because they have no job.. just suck our paid tax money…..

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this