Comments Add Comment

‘घरमा मलाई स्वस्तिमाले नचाउँछिन्’


‘खैनी चुरोट खान्छौ कि दाँतै कालो छ ?’

‘दुई रुपियाँ’को गीतमै सही, पत्नी/अभिनेत्री स्वस्तीमा खड्काको शंका ठिकै रहेछ । हामीले भेट्दा उनी चुरोटको सर्को तानिरहेका थिए । तर, दाँतचाहीँ कालो थिएन ।

‘मलाई भिडमा घुलमिल हुन मन लाग्छ’, उनले चुरोटको सर्को तान्दै भने, ‘भिडमा मलाई निश्चल बस्नेत भनेर कतिले पत्याउँदैनन् । कोही त सौगात मल्ल भनेर झुक्किन्छन् ।’

यति भनिसकेपछि उनी मज्जाले हाँसे । श्यामलो मुहार मण्डलमा सेतै दाँतको चमक फैलियो ।

निश्चलको हाँसो पनि ‘निश्छल’, केटाकेटी पाराको । बोलीमा भद्रता र नरमपन । नेपाली चलचित्रका ‘ट्रेन्ड सेटर’ उनको हाउभाउमा एकरत्ति दम्भ थिएन । हिरो हुनुको ‘हाइफाइ’ पनि हामीलाई महसुस भएन ।

काठमाडौंको एक ठाउँमा निश्चल एउटा म्यागजिनका लागि फोटो/भिडियो सुट गर्दै थिए । साथीभाइसँग घुलमील भएर काम गर्दा उनी रमाइरहेका देखिन्थे । हामी उनलाई भेट्न त्यहीँ पुगेका थियौं ।

उनको ‘झयाप्पै कदम रोकियो…’ हाम्रो छेवैमा ।

अनि हामी गफियौं, केहीबेर ।

‘लुट’देखि चर्चामा आएका यी निर्देशक/अभिनेता अचेल लाइम लाइटमा छन् । निर्देशनबाट पाएको नेम र फेम त छँदैछ, अचेल उनको ख्यातीको खास कारण हो- नृत्य । पछिल्लो समय चल्तीका गीतहरुमा उनलाई नै फिचरिङ गराइएको छ । ‘ठमेल बजार’मा एलीसा राईसँगको उनको नृत्य ‘भाइरल’ भयो । ‘काले दाइ’मा उनी ‘लौ न मैयाँ बैंस सम्हाल’ भन्दै माला लिम्बुसँग नाचे, जुन सुपरहीट भयो । र, पछिल्लो स्वस्तिमासँगै नाचेको ‘कुटुमा कुटु’लाई युट्यूबमा दुई करोड बढी दर्शकले हेरिसके ।

‘जबरजस्ती नाच्नुभएको कि, रहरले ?’, हामीले सोध्यौं ।

यसपटक पनि उनी खित्किएर हाँसे ।

‘सुरुमा अलिअलि नाच्नमा इन्ट्रेस्ट थियो । दाइहरुले कर गरेपछि नाचें । तर, यसरी नाचिएला भन्ने लागेको थिएन’, उनले भने, ‘अहिले चाहिँ रहरले पनि नाचिन्छ ।’

हल्ला के थियो भने निश्चललाई पत्नी/अभिनेत्री स्वास्तिमा खड्काले घरमा नचाउँछिन् । हामीले यही जिज्ञासा राख्यौं ।

‘उनले नाच्न सिकाउने त होइन, तर नाचेर देखाइस्यो न भन्दै जिस्काइरहेकी हुन्छिन्’, उनले भने ।

केही न केही गीत लगाएर स्वस्तिमाले ‘नाचेर देखाइस्यो न’ भनेपछि आफू पनि चुपचाप नबस्ने उनले खुलाए ।

‘एक राउन्ड नाचेर देखाइदिन्छु, बुढी खुसी हुन्छिन् भने किन ननाच्ने ?’, उनी नाँचुला झैं गरेर हाँसे ।

नाच्नमा मात्र हैन, निद्राका मामिलामा पनि निश्चल र स्वस्तिमाको स्वभाव मिल्दोरहेछ ।

‘बिहान अबेरसम्म सुत्छौं । उनी पनि अल्छी, म पनि’, उनले भने ।

निश्चलका अनुसार घामका किरण ओछयानसम्म आइसक्दा पनि उनीहरु उठेका हुँदैनन् । बिहान ८/९ बजेसम्म ओछ्यानमै हुन्छन् ।

‘राति सुत्नेबेला निन्द्रै कहाँ भाग्छ कहाँ’, उनले भने, ‘११ बज्छ, १२ बज्छ, निन्द्रै लाग्दैन । त्यहीवीचमा हो, स्त्रिmप्ट लेख्ने, पढ्ने र करेक्सन गर्ने । अनि टीभीलाई टाइमर मोडमा राखेर सुत्छौं ।’


दुई दिनसम्म ‘कट्टी’

निश्चल र स्वस्तिमाको केमेस्ट्री मिल्छ, त्यही भएर त उनीहरु आपसमा जोडिए । तर, उनीहरुवीच ठाकठुक पनि उत्तिकै पर्दोरहेछ ।

‘उनले गरेका कति कुरा मलाई मन पर्दैन’ निश्चलले थपे, ‘मैले गरेको कति कुरा उनलाई पनि मन नपर्दो हो । त्यही निहुँमा झगडा हुन्छ ।’

झगडा हुँदा उनीहरुवीच भनाभन भने हुँदैन । मनमुटाव हुनासाथ दुबै चुपचाप हुन्छन्, मूर्ति जस्तै । उनीहरुवीच ‘कट्टी’ हुन्छ ।

‘रीस उठ्यो भने हामी बोल्दै बोल्दैनौ’ निश्चलले हाँस्दै भने ।

‘कतिबेरसम्म नबोली बसिन्छ त ?’ हाम्रो जिज्ञासा ।

‘त्यो टुंगो हुँदैन । कहिले एकछिनमै बोलिन्छ, कहिले निकै टाइम लाग्छ’, उनले भने ।

एकपटक चाहिँ दुई दिनसम्म उनीहरुको बोलचालै भएन । हालसम्मको सबैभन्दा लामो मौन अवधि त्यही थियो । त्यसरी मुखमा ताल्चा लगाएर बस्नुपर्दा औडाहा हुने निश्चलले बताए ।

‘नबोली बस्दा त बेचैन हुन्छ नि । एकदमै गाह्रो । कहिले बोलौं, के निहुँ बनाएर बोलौंजस्तो भइरहन्छ’, उनी फेरि गजबले हाँसे ।

तर, प्रायः उनीहरुको ‘कट्टी’ धेरैबेर नटिक्दोरहेछ । कसै न कसैले त्यो मौनता तोडिहाल्दारहेछन् । कुनै बहानामा एकजनाले बोल्न थालेपछि झगडा खत्तम ।

एउटै लुगा तीन दिनसम्म

श्यामलो वर्ण, खिरिलो ज्यान, औसत उचाइ । न भुसतिघ्रे भन्न सुहाउने, न चकलेटी । तैपनि निश्चलको डिमान्ड छ । चर्चा छ । कहिलेकाहिँ भ्याइ-नभ्याई हुन्छ । तर, यतिका ‘नेम र फेम’ पाइसक्दा पनि उनलाई टिपटप भएर हिँड्न भने आउँदैन ।

घरबाहिर निस्कने बेला उनी हतार हतार जिन्स र टिसर्ट लगाउँछन् ।

‘कहिले त एउटै लुगा दुई/तीन दिनसम्म पनि लगाएर हिँडिन्छ’ निश्चलले भने,  ‘लुगामा खासै ध्यान जाँदैन । म फेसनमा कन्सस छैन ।’

उनले के पनि स्वीकारे भने, पहिरनप्रति उनको खास आशक्ति छैन । बस्, एकसरो बस्त्रले आङ ढाक्न पाए पुग्छ ।

‘अचेल स्वस्तिमा, बहिनी र ममीले समेत अलिकति चिटिक्क परेर हिँड न भनिसिन्छ क्या’, उनले भने ।

उनी न आफू सुहाउँदो लुगा खोज्छन्, न कलर कम्बिनेसन नै मिलाउँछन् । अगाडि जे भेट्यो, त्यही लगाएर हिँड्छन् । र, परिहनमा उनले खोज्ने भनेको जिन्स र टिसर्ट नै हो । र्फमल वेयरमा पटक्कै रुची छैन । र्फमल लगाएको भनेको एकपटक कसैको बिहेमा र अर्को पटक हालैको एक समारोहमा मात्र हो ।

‘र्फमल हुनै अप्ठ्यारो लागेर आउँछ’, उनले भने ।

हो, उनी जुत्ताका भने सौखिन हुन् । उनको साथमा एक पटकमा १०-१२ जोर जुत्ता भएकै हुन्छ । आवश्यक नपरे पनि जुत्ता किनिरहेका हुन्छन् ।

‘जुत्ता चाहिँ स्टाइल-स्टाइलको किन्न मन लाग्छ’, निश्चलले थपे ।

दाल नभई हुन्न

‘तपाईको खानामा नछुट्ने भेराइटी के हो ?’

प्रश्न खस्न नपाउँदै उनले भनिहाले, ‘दाल ।’

दालविना उनी भात चपाउनै सक्दैनन् । यसो भनौैं, दालविना उनको जिन्दगीको पनि दाल नगल्दोरहेछ । दाल उनको फेवरेट । तरकारी होस् नहोस्, फरक पर्दैन । अचार होस् नहोस्, बालै भएन । दाल भएन भने चाहिँ एक गाँस भात पनि घाँटीबाट छिराउन मुस्किल । दालको ठाउँमा जतिसुकै स्वादिलो अरु झोल तरकारी किन नहोस्, उनलाई खाना रुच्दैन ।

दाल पनि त विभिन्न प्रकारका हुन्छन् । मसुरो या रहर ? गहत या मास ?

‘जे भए पनि दाल हुनुपर्छ । अलि बढी मनपर्ने चाहिँ कालो दाल हो’,  उनले भने-‘झानेको भए अझ बेस ।’

उनले आफ्नो मेनुबाट कुनै परिकार कटौती गरेका छैनन् । चिल्लो, पिरो चाहिँ सकेसम्म कम गर्छन्, ग्याष्ट्रिकले सताउला भन्ने डरले । नभए, थपीथपी भात खान्छन् । जे आउँछ, मज्जाले पचाइदिन्छ, शैलीमा ।

घरबाहिरको खान्कीमा प्रायः मासु भइहाल्छ । यसो हेर्दा खाउँ-खाउँ लाग्ने मासु भए उनको मुख रसाइहाल्छ । घरको भान्सामा चाहिँ हप्तामा एक/दुई पटकभन्दा बढी मासु पाक्दैन । उनलाई चिकेन मनपर्छ, घरमा पाक्ने पनि त्यही हो ।

मासु चाहे बँदेलको होस् वा सुँगुरको, कंगारुको होस् वा अक्टोपसको नै किन नहोस्, उनले खान बाँकी राखेका छैनन् । अष्ट्रेलियामा उनले कंगारुको मासुसमेत खाएछन् । सि-फुड्सको पनि स्वाद लिएका छन् । तर, आफ्नो जिब्रो ‘जमिनमा कुद्नेको मासु’मा अभ्यस्त भएको उनले बताए ।

तर, निश्चललाई मनपर्ने परिकार थकाली दालभात नै हो ।

‘थकाली खानामा सबै कुरा मिसाइएको हुन्छ । मलाई चिटिक्क सजाइएको खानेकुरा मनपर्छ’, उनले भने ।

उनी आफैं पनि खाना बनाउन जाँगर चलाउँछन्, तर कहिलेकाँहि ।

‘मुड चलेका बेला पोर्क चप बनाइरहेको हुन्छु’ उनले भने, ‘बर्गर पनि बनाउँछु । आफूले पकाएको आफैंलाई चाहिँ स्वाद लाग्छ ।’

निश्चलको खानाको दैनिक तालिका सामान्य छ । उनी बिहान उठ्नासाथ चिया र बिस्कुट खान्छन् । ९-१० बजेतिर भात खाने समय भइसक्छ । दिउँसो जे भेट्यो, त्यही खान्छन्, नास्ताका रुपमा । नास्तामा मम, चाउमिन, चाउचाउ यस्तै हुन्छ । राति फेरि भात ।

‘सामान्य अरुको भान्सामा जे हुन्छ, हाम्रो पनि त्यही हो’, उनले भने ।

अनि फेरि चुरोटको सर्को ताने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment