Comments Add Comment

सन्की मनोजको सात्विक रुपान्तरण

भक्तपुर बालकोटस्थित निवासमा हामीले भेट्दा चर्चित हास्य कलाकार मनोज गजुरेल ध्यान मुद्रामा थिए । शान्त र सौम्य उनको मुहारमा दिव्य आनन्द भाव प्रकट भइरहेको थियो ।

केहीबेरपछि उनको ध्यान मुद्रा भंग भयो । बसी-बसी विस्तारै दुवै हत्केलालाई नमस्ते आकारमा ल्याए र आपसमा रगडे । त्यसरी रगड्दा उत्पन्न ऊर्जा तापले दुवै आँखा सेके । अनि विस्तारै आँखा उघारे । ध्यानपछिको दुर्लभ आनन्द भाव चारैतिर छर्दै मुस्कुराए ।

उनको तामसिक जीवन-चरित्र कहीँ कतै झल्किएन । उनको वरिपरि कुनै ग्ल्यामर पत्रिका थिएन, कामुक सुन्दरीको तस्बिर पनि थिएन । दराजमा मदिरा सजाइएको पनि पाइएन । भारतका आध्यात्मिक गुरु ओशोका पुस्तक भनेर सजाएर राखिएका थिए अनि भित्तामा ओशोकै तस्बिर ।

सन्यासी हुन पहिले-पहिलेका जोगीहरु झैं घरबार छाडी खरानी घसेर जंगल जानैपर्छ भन्ने रहेनछ । सांसारिक कोलाहल अनि परिवार/सार्वजनिकको घेराबीच पनि मानिस सन्यासी हुन सक्दोरहेछ । ओशोको ‘नव सन्यास’को यो सूत्रलाई अपनाइरहेका रहेछन्, कलाकार गजुरेलले ।

विद्यार्थी राजनीतिमा छँदा उनी राहुल सांकृत्यायनको ‘भाग्ने हैन, संसारलाई बदल्ने’ मान्यतामा विश्वास राख्थे । अचेल उनी ओशोको ‘भाग्ने हैन, जाग्ने’ सूत्र पछयाइरहेका छन् । जाग्नु अर्थात् हरघडी होसमा रहनु । अर्थात्, साक्षी भावमा रहनु । ध्यान त्यसकै सूत्र हो । ध्यानले नै मनोजको सोच, शैली र संस्कारलाई कायापलट गरिदिएको छ ।

कायापलटका कार्य/कारण


एकदिन ढुंगा नहान्दा उनको हात चिलाइहाल्थ्यो । एकदिन टायर नजलाए उनलाई औडाहा हुन्थ्यो । एकदिन तोडफोड नगरे छटपटाउँथे ।

ताप्लेजुङबाट ‘पढ्नका लागि’ राजधानी छिरेका गजुरेल केही दिन राजनीतितिरै रौसिएका थिए । विद्यार्थी राजनीतिको उत्तेजक नशामा उनी उग्र र उदण्ड भए । उनको सनकले रत्नपार्कका धेरै रेलिङ बांगिए ।

एकदिन अचानक मनोज गजुरेलले ‘यू टर्न’ लिए ।

विद्यार्थी राजनीतिमै सक्रिय रहेका बेला पुतलीसडकमा उनको पुस्तक पसल थियो । ती दिनहरुमा माक्र्स, लेनिन र एंगेल्सका ठेलीहरु उनी खुबै पल्टाउँथे । वेदप्रकाश शर्मादेखि युधीर थापासम्मका रंगिला उपन्यासका आवरणले उनको ध्यान खिच्थे । अध्यात्मका मोटा पुस्तकमा त उनको पटक्कै रुची थिएन ।

बाहिर जतिसुकै उग्र भए पनि उनको मनले शान्ति खोजेको थियो । किनकि, उनी तनावमा थिए । मनमा नानाभाँती विचारहरुको राँके जुलुस निस्कन्थ्यो । ती विचारहरुले पीडा दिन्थे । एक दिनको कुरा हो, कसो-कसो मनोजको ध्यान अध्यात्मको एउटा मोटो किताबमा पुग्यो । उनले त्यसका पाना पल्टाए ।

‘यावत जीवेत, सुखम् जीवेत । ऋणम् कृत्वा, घृतम् पीवेत’, किताबमा उनको ध्यान यही पंक्तिले तान्यो ।

अर्थात्, ऋण गरेर भए पनि बाँचुञ्जेल घ्यू खाउ । उनलाई यो वाक्य गजब लाग्यो । यही वाक्य दोहोर्‍याएपछि उनको बेचैनी पनि हट्यो । उनी त्यसपछि आध्यात्मिक किताबमा घोत्लिन थाले । त्यही किताब पढेपछि हो, उनी अध्यात्मिक चिन्तनमा डुब्न थालेको । भलै, उक्त किताबको त्यो पंक्ति आध्यात्मिक नभएर भौतिकवादी थियो ।

आध्यात्मिक चिन्तन गर्न थालेपछि मनोजको आचरणमा पनि सुधार आउन थाल्यो । उनले युगौं पहिलेका ऋषिमुनिहरुले अंगीकार गरेको सात्विक जीवनशैलीलाई अपनाउन थाले । उनले तामसी जीवन पूर्ण रुपमा त्यागे । खानपान बदलियो । दिनचर्या मात्र होइन, सोच-चिन्तन पनि बदलियो ।

‘आखिर नश्वर चोलामा किन कसैप्रति द्वेष राख्ने, किन कसैलाई घृणा गर्ने, केका लागि दम्भ पाल्ने, कसका लागि लोभ गर्ने ?’ हामीसँगको भेटमा उनले भने, ‘हामीभित्र थुप्रै विकार हुन्छ । ती विकारहरुले नै हो, चिन्तित बनाउने । चिन्ताले रोगी बनाउँछ । जब विकार त्याग्छौं, स्वस्थ हुन्छौं ।’

नभन्दै उनले विरोधीलाई उग्र गाली गरेर आफ्नो वर्चस्व कायम गर्ने राजनीतिक विधाको साटो अरुलाई हँसाएर ‘दिल जित्ने’ बाटो रोजे । राजनीतिमा उग्र मनोज हेर्दाहेर्दै रंगमञ्चका रंगिला भए । यी गजुरेल हास्य अभिनय र स्ट्यान्डिङ कमेडीको ‘गजूर’ मै पुगे ।

नेतादेखि अभिनेतासम्मको दुरुस्तै क्यारिकेचर र हाउभाउ प्रकट गर्नसक्नु मनोजको ‘एक्स्ट्रा अर्डिनरी’ खुबी बन्न पुग्यो । ज्ञानेन्द्रको गम्भीर पोजमा पनि फिट, प्रचण्डको ‘मने’ कुम हल्लाइमा पनि हिट । ‘वर्तमान परिप्रेक्ष्य’मा माधव नेपालको नक्कल पनि ठ्याक्कै, ‘भएर भन्देखिन’ बामदेव गौतमको पनि दुरुस्तै ।

राष्ट्रिय घेरा नाघेर मनोजले अन्तर्राष्ट्रिय चर्चित पात्रहरुलाई पनि नेपाली रंगमञ्चमा ल्याए । कहिले बाबा रामदेवको अवतार, कहिले दक्षिण भारतीय नागरिकको । कहिले अरबीको शेखको नक्कल त कहिले चिनियाँ गायक ली फुको ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बनेर स्टेजमा हात हल्लाउँदै आउँदा दर्शक साँच्चिकै मोदी आए भनेर झुक्किए । यसपालि गाईजात्रामा उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै हुलियामा देखापरे ।

यम/नियम

योगऋषि पतञ्जलीले अगाडि सारेको र आधुनिक कालमा बाबा रामदेवले जनस्तरसम्म पुर्‍याएको योग र प्राणायामबाटै मनोजको दैनिकी सुरु हुन्छ । पतञ्जली शुत्रको प्रस्थान विन्दु यम/नियम हो । यसमा साधकले गर्नुपर्ने र गर्न नहुने कुरा पर्छन् ।

जसअनुसार उनी बिहान चार बजे नै उठ्छन् । बिहान सूर्योदयअघि उठ्नु नै स्वस्थ दिनचर्याको प्रारम्भ हो भन्ने तत्वबोध उनलाई भइसकेको छ । उठ्नासाथ मनतातो पानी पिउँछन् । शौच गर्छन् ।

‘त्यो समयलाई ब्रम्हमुर्हूत भनिन्छ,’ उनले अर्थ्याए, ‘जतिबेला वायुमण्डलमा प्राणवायु बहन्छ । बिहानै उठेर ताजा हावा ग्रहण गरेपछि शरीरमा बेग्लै स्फूर्ति आउँछ । सकारात्मक ऊर्जा पैदा हुन्छ ।’

आसन/प्राणायाम

यम/नियमपछि पालो आउँछ, आसन/प्राणायामको । यसका लागि मनोज फास्ट बिटको भजन घन्काउँछन् । र, त्यसको तालसँगै उनी सुक्ष्म व्यायाम गर्छन् । अर्थात् वार्मअप ।

यसमा नाक, कान, आँखा, टाउको, हात, गोडा, घुँडाको विधिसम्मत ढंगले सुक्ष्म व्यायाम गरिन्छ । खल्खली पसिना निस्कन थालेपछि उनी सूर्य नमस्कार गर्छन् । त्यसपछि शीर्षासन, मन्डुकासन, भुजंगाशन, पवनमुक्ताशन, वृक्षासन आदि आसनहरु गर्छन् ।


अब पद्मासनमा पलेटी मारेर उनी प्राणायाम गर्न थाल्छन् । सुरुवात कपालभाँती प्राणायामबाट हुन्छ । नाकबाट ताल मिलाएर सास बाहिर फाल्छन् । यसमा साधकले सास लिने चिन्ता गर्नुपर्दैन । मुख बन्द गरेर निश्चित रिदममा नाकबाट सास फाल्दा स्वतः शरीरमा अक्सिजन ‘इन्हेल’ भइरहेको हुन्छ, यही नै यो प्राणायामको विशेषता हो ।

त्यसपछि उनी अनुलोम विलोम प्राणायाम गर्छन् । नाकको बायाँ प्वाल बन्द गरेर दायाँ प्वालबाट स्वास तान्ने र फेरि दायाँ प्वाल बन्द गरेर बायाँबाट सास फाल्ने । यही क्रम दायाँ प्वालबाट पनि दोहोर्‍याउने । यसरी कपालभाँती र अनुलोमविलोम प्राणायाम गर्दा शरीरका टक्सिन र खराब तत्वहरु बाहिर निस्कन्छन् र कोषमा प्राणवायु अक्सिजन पुग्छ । १५ मिनटका दरले उनी भस्त्रीका, भ्रामरी आदि प्राणायाम पनि गर्छन् ।

प्रत्याहार/धारणा

आसन/प्राणायामपछिको चरण हो, प्रत्याहार र धारणा । अब मनोज आँखा बन्द गर्छन् र सम्पूर्ण चेतनालाई बाहिरबाट आफूभित्र केन्दि्रत गर्छन् । त्यसलाई प्रत्याहार भनिन्छ । यसपछि उनको चेतना आफूभित्रको निराकार पटमा सोझिन्छ । अर्थात्, उनी रुपबाट अरुप अथवा आकारबाट निराकारमा लीन हुन्छन् । यसलाई धारणा भनिन्छ । उनले गर्ने भनेको यहाँसम्म हो ।

ध्यान/समाधी

यसपछि ध्यान घटित हुने हो । त्योचाहिँ साधकको हातमा हुँदैन । ध्यान घटित हुने कुरा अस्तित्व, परमात्मा या ‘कस्मिक ऊर्जा’को कृपामा भरपर्ने मनोजको अनुभव छ ।

‘यो बडो अद्भूत कुरा छ । शब्दातीत पक्ष हो । ध्यानमा मेरो कम्तिमा ४५ मिनेट व्यतीत हुन्छ, जे-जे घट्नुपर्ने हो, त्यो ४५ मिनटमा घट्छ,’ उनले अथ्र्याए, ‘त्यसलाई शब्दमा भन्न असमर्थ छु । मैले भनिहाले पनि त्यो मेरो मूर्खता हुनेछ ।’


ध्यान घटित भएपछि साधकलाई समाधिको अनुभव हुन्छ । आफू पनि ध्यान र समाधि हुँदै मोक्षको यात्रामा हिँडेको मनोज बताउँछन् ।

‘म ध्यानको चरणसम्म पुग्नु नै ठूलो उपलब्धि हो,’ उनी भन्छन्, ‘भौतिक देह र मनलाई एकाकार गर्ने माध्यम ध्यान आफैंमा जटिल साधना हो ।’

ध्यान घटित भएको क्षण अलौकिक आनन्द महशुस हुने उनी बताउँछन् ।

‘मदिरापानको मस्ती र धनदौलतको सुखभन्दा विशिष्ट आनन्द ध्यानबाट प्राप्त हुँदोरहेछ,’ उनी भन्छन्, ‘म ध्यानबाटै आनन्द लिन्छु । सांसारिक सुखसँग यसको तुलनै हुन सक्दैन, ध्यानको आनन्द विराट छ ।’

कस्तो हुन्छ त यौगिक आनन्दको स्वाद ?

‘भन्न मिल्ला कि नमिल्ला,’ उनले रहस्यमयी ढंगले मनको कुरा खोले, ‘ध्यान गर्न थालेदेखि ममा अनौठो-अनौठो अनुभूति हुन थालेको छ । ध्यान साधनापछि मैले साँचो अर्थमा आफू र आफ्नो अस्तित्वलाई महशुस गर्न थालेको छु ।’

विचित्र विपस्यना


सुरुमा त सतसंगले नै मनोजलाई सतमार्गमा लाग्न प्रेरित गरेको हो । कहिले उनी बालुवाटारस्थित ओशो वाटिकाका ध्यान शिविरहरुमा सहभागी हुन पुगे, कहिले तपोपन अनि कहिले विपस्यना ध्यान शिविर ।

गौतम बुद्धले २५ सय वर्षपहिले सूत्रपात गरेको विपस्यना ध्यानलाई पछिल्लो कालखण्डमा सत्यनारायण गोयन्काले विश्वभर फैलाएका थिए । १० दिनसम्म मौन रहेर गरिने विपस्यना ध्यानको विचित्रको अनुभव रहेको मनोज बताउँछन् ।

‘सुरुको तीन दिन त मेरो कति विजोग भयो भने, कहाँ आएर फँसे भन्ने लाग्यो,’ उनले भने, ‘यसो वरिपरि पर्खाल हेर्थें, भाग्ने ठाउँ खोज्दै ।’

चौथो दिन त्यो बेचैनी गायव भयो । पाँचौं दिन, मनमा बेग्लै तरंग पैदा भयो । छैठौं, सातौं, आठौं दिन हुँदै उनी क्रमशः ध्यानमा डुब्न थाले । अलौकिक आनन्द भयो ।

एकदिन ध्यानमग्न अवस्थामा उनको मेरुदण्डको सबैभन्दा तलको भागमा असह्य पीडा भयो । त्यो बेस्सरी चर्किएर दुख्यो । उनलाई लाग्यो, नसा च्यापियो, बर्बाद भयो ।

दुखाई विस्तारै शरीरको माथिल्लो भागतिर सर्दै गयो । र, मांसपेशीमा केही पसेर सल्बलाएजस्तो भयो । सर्प पसेको जस्तो भयो ।

‘म हडबडाएँ । पछि त्यो पीडा विस्तारै स्पर्शजस्तै हुन थाल्यो । पीडा हराउँदै गयो र त्यसबाटै अदभूत आनन्द प्राप्त भयो,’ गजुरेल भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment