Comments Add Comment

दशैं मनाउन विदेश ! कति लाग्छ खर्च ?

१ असोज, काठमाडौं । रोजगारीका क्रममा शहरमा रहेकाहरु अहिले दशैं मनाउन गाउँघरतिर जान थालेका छन् । विदेश गएकाहरु स्वदेश फर्किंदै छन् । तर, केही नेपाली यस्ता पनि छन्, जो दशैं मनाउन देशाटनमा निस्किने योजनामा छन् ।

विदेशबाट स्वदेश आउने चाप त उच्च छ नै, दशैंको विदामा विदेश घुम्न रुचाउनेको पनि कमि छैन । केही वर्षयता विदेशी गन्तव्यमा उडान भर्ने एयरलाइन्सहरुका विमानमा ‘अक्युपाई’ बढ्नुको कारण पनि त्यही हो ।

खासगरी, सिंगापुर, मलेसिया, बैंकक, क्याम्बोडिया र एसियाली राष्ट्रहरुमा नेपालीहरु दशैंको समयमा घुम्न जाने संस्कृति विकास हुँदै गएको टुर्स एन्ड ट्राभल एजेन्ट्स एसोसिएसनका अध्यक्ष मधुसुदन आचार्य बताउँछन् ।

बढ्दो रुचि, फैलिँदो गन्तव्य

दशक लामो सशस्त्र द्वन्द्वका बेला फस्टाएको हो यो, प्रवृत्ति । माओवादीका कारण थातथलोबाट विस्थापित भएकाहरुका लागि गाउँघर कठिन गन्तव्य बनेका थिए । बाबुआमा र परिवारजन गाउँमा रहेकाहरु पनि दशैंमा घर फर्किन असहज मान्थे । कारण, माओवादीबाट चन्दा र अपहरणको मार खेप्नु पर्ने त्रास थियो ।

सशस्त्र द्वन्द अन्त्य भए पनि दशैं मनाउन विदेश पुग्ने प्रचलन रोकिएन ।

आचार्य भन्छन्, ‘दशैं मनाउन विदेश जानेको संख्या बढ्दै गएका कारण अहिले एयरलाइन्सहरुमा चाप पनि बढ्दो क्रममा छ ।’

छिमेकी मुलुक भारतमा रहेका धार्मिक र पर्यटकीय स्थलहरुमा त नेपाली नागरिकको भीड यसअघि पनि रहन्थ्यो, दशैंको समयमा । पछिल्ला दिनमा चीनतर्फ पनि उड्न थालेका छन् ।

त्यसो त, नेपाल आउने चिनियाँ पर्यटक पछिल्ला वर्षमा बढेका छन् ।

भारतमा रोजगारीमा रहेका नेपाली नागरिक घर फिर्न थालेकाले सीमा नाकामा चहलपहल बढेको छ । यस समयमा भारतीय नागरिक भने नेपाल घुम्न कमै आउँछन् ।

नेपालीहरु प्रायः थाइल्यान्ड र सिंगापुर पुग्छन् । अलि बढी खर्चालु मानिने युरोपेली मुलुक घुम्न जानेहरु पनि कम छैनन् । खाडी मुलुकहरु संयुक्त अरब इमिरेट्स र कतार पुग्नेहरु पनि बढेका छन् ।

श्रीलंका, माल्दिभ्सलगायत दक्षिण एसियाली मुलुकतिर भने कमै सोझिने गरेको पाइन्छ । श्रीलंकामा अझै असुरक्षाको अनुभुति रहेको र माल्दिभ्स महँगो गन्तव्य भएकाले ती मुलुक घुम्न रुचाउने कम देखिएका हुन् ।

कहाँ जाँदा कति खर्च ?

विदेश गएपछि कस्तो होटलमा र कति दिन बस्ने भन्ने चिन्ता स्वाभाविकै हो । आफ्नो खल्तिको आयतन छामेर मात्र निर्धारण हुने गर्छ, देशाटनको गन्तव्य ।

तीनतारे होटेललाई आधार बनाउँदा खर्च कम लाग्छ । पाँचतारेको आधार अत्यधिक खर्चको कारक पनि हो । एसियाली मुलुकहरु खर्चका हिसाबले सबैको रोजाइका गन्तव्य हुन्, युरोपेलीको तुलनामा ।

दुबईका लागि पाँचदिने प्याकेज बनाउने हो भने जनही ६२ हजारदेखि एक लाख १५ हजार रुपैयासम्म पर्छ । इकोनोमिक क्लासमा ६२ हजारको हाराहारीमा खर्च लाग्ने व्यवसायीहरु बताउँछन् । इकोनोमी क्लासमा उड्नेहरुले तीनतारे होटेललाई आधार बनाउँछन् । यसमा लक्जरी प्याकेजमा भन्दा केही कम सुविधा हुन्छ ।

दुबई गएर चारतारे होटेललाई आधार बनाएर घुम्ने योजना बनाउने हो भने करिब ७८ हजार रुपैयाँ खर्च हुन्छ । पाँचतारेमा बस्दा एक लाख १५ हजार रुपैयाँ पर्छ ।

एक साताका लागि थाइल्यान्ड घुम्न जाने हो भने ७६ हजारदेखि एक लाख १८ हजार रुपैयाँसम्म पर्छ । सिंगापुर र मलेसिया दुवै देश ६ दिनभित्रै घुम्ने हो भने ७६ हजारदेखि एक लाख २९ हजार रुपैयाँसम्म पर्छ । थाइल्यान्ड, मलेसिया र सिंगापुर तीन वटै देश १० दिनमा घुम्ने हो भने एक लाख नौ हजारदेखि एक लाख ८५ हजार रुपैयाँसम्म लाग्छ ।

उत्तरी छिमेकी चीन पनि महँगो गन्तव्य हो । एक सातामा जनही एक लाख २५ हजारदेखि दुई लाख १५ हजार रुपैयाँसम्म पर्छ । चारतारे होटेलमा बसेर चीन घुम्ने हो भने प्रतिव्यक्ति एक लाख ५६ हजार रुपैयाँसम्म लाग्छ ।

जापान पनि नेपालीहरुका लागि एक आकर्षक गन्तव्य हो । नौदिने प्याकेजमा जापान घुम्दा दुई लाख ९८ हजारदेखि पाँच लाख ३२ हजार रुपैयाँसम्म पर्छ । पाँचतारे होटलहरुका आरामदायी कोठा प्रयोग गर्दा पाँच लाख रुपैयाँभन्दा माथि लाग्छ । चारतारेलाई आधार बनाउँदा तीन लाख ७० हजार रुपैयाँ हाराहारीमा खर्च हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment