Comments Add Comment

बाढीपीडित उम्मेदवार भन्छन्- प्रहरीले धम्क्याउँदैछ, हामी कहाँ जाने ?

चन्द्रनहरको डिलमा १५० मतदाता, ४ उम्मदेवार !

२ असोज, सप्तरी । जिल्लाको तिरहुत गाउँपालिका २ मैनाकडेरी निवासी टुराई राम यसअघिको निर्वाचनमा धोती कुर्तामा सजिएर श्रीमतीलाई पनि सँगै लिई मत खसाल्न गएका थिए । उनी यस पटक न्यास्रो मुद्रामा मतदान गर्ने निर्णयमा पुगे ।

सोही ठाउँकी बृद्वा जलसीदेवी रामको अवस्था पनि टुराईभन्दा फरक रहेन । उनी पनि निराश भएरै मत हाल्ने अवस्थामा पुगिन् ।

बाढीपीडित जलसीले भनिन्- ‘पहिला घरमा सबैथोक हुन्थ्यो, हाँसीखुशीका साथ मत खसाल्न जान्थेँ, यसपालि त घर नै छ्रैन, पालमुनिबाटै मतदान गर्नुपर्ने भयो ।’

एक महिनाअघि बाढीले घर नै बगाएपछि तिरहुत गाउँपालिका २ मैनाकडेरीका करिब दुई सयजना बाढीपीडितहरु चन्द्र नहरमा त्रिपालको टहरा बनाएर बस्दै आएका छन् । र, उनीहरु यही त्रिपालबाट निस्केर भोट हाल्न लामवद्ध भएका छन् ।

लामो समयपछि स्थानीय तहको निर्वाचन आएपछि मत हाल्न उनीहरु निकै हौसिएका छन् । तर, बाढीले घर नै बगाएपछि उनीहरु निराश पनि छन् । मतदान गर्नका लागि तम्त्यार उनीहरुले त्रिपालमै बसेर मतदाता परिचय पत्र ल्याए ।

उनीहरुको अवस्थाबारे बुझ्न अनलाइनखबरको टोली मतदानको अघिल्लो दिन यहाँ पुग्दा सबैजना चुनावी गफमा व्यस्त थिए । कसलाई भोट हाल्ने भन्नेबारे उनीहरुबीच चर्चा गरिरहेका थिए ।

‘शुरुमा त कसैलाई पनि भोट नदिनेमा हामी एकमतै थियौं’ पालमा बस्दै आएकाहरुले एकै स्वरमा भने, ‘तर मताधिकारको प्रयोग गर्नुपर्ने भएकाले मत हाल्न तयार भयौं । र, मतदाता परिचय पत्र ल्याएर साथमा राखेका छौं । सोमबार बिहानै भोट हाल्नेछौं ।’


मतदान गर्न उत्साहित बाढीपीडितहरु एक महिनाभन्दा बढी समयदेखि पाल टाँगेर बस्न बाध्य भएका छन् । कहिले सर्पको त्रास त कहिले चोरको त्रासका बीच उनीहरु जीवनयापन गरिरहेका छन् । शुरुमा केही राहत आए पनि दुईसाता यता कुनै राहत नआएको त्रिपालमुनि बस्दै आएकी विनिता पण्डितले बताइन् ।

पुरै घर बगाएपछि उनी छोराछोरीसहित त्रिपालमुनि बस्दै आएकी छन् । राहत स्वरुप आएको चामल देखाउँदै उनले भनिन्, “अब शायद दुई दिन भात पकाउन सकिन्छ, त्यसपछि के खाने ?”

यहाँका बाढीपीडितका अनुसार स्थानीय नेताहरुले नै चामल लगायतको राहतको जरुरी छैन भन्दै राहत वितरणमा रोक लगाएपछि भोकभोकै बस्नुपर्ने स्थिति आएको छ ।
मैनाकडेरीको चन्द्र नहर डिलमा चमार जातिका ४० परिवार, मुस्लिम समुदायका ३० परिवारका साथै अन्य समुदायका ४० परिवार बाढीपीडितका करिब दुई सय जना एक महिनाभन्दा बढी समयदेखि बस्दै आएका छन् ।

‘गर्मीको समयमा कसरी दिन काटिरहेको छु यो भन्दा ठूलो दर्द अरु कसैलाई थाहा हुँदैन’ बाढीपीडित इन्द्रदेव यादवले अनलाइनखबरसँग भने, ‘गर्मीका कारण विभिन्न किसिमको रोगले सताइरहेको छ । कसैले कुनै किसिमको ध्यान छैन ।’

सरकारले घोषणा गरेको दैनिक ७० रुपैयाँसमेत उनीहरुले पाएका छैनन् । तरु राम, मनोज राम, श्यामनारायण रामसहितका बाढीपीडितले एकै स्वरमा भने, ‘अब हामी कसरी बाँच्ने ?’

पाल टाँगेको वस्ती झैं बनेको यस ठाउँमा उम्मेदवारहरु मत माग्न आउँदा आश्वासन मात्रै बाँडेको र उनीहरुमाथि कुनै किसिमको विश्वास नभएको बाढीपीडितको गुनासो छ । ‘यद्यपि हामी सबै मतदान भने गर्नेछौं’ मतदाता परिचय पत्र देखाउँदै उनीहरुले भने, “मत त दिन्छौं तर काम गरोस् नगरोस् उम्मेदवारको धर्म हो ।”

नहरको डिलमा झण्डै १५० जना मतदाता छन् । सबै जना मतदान गर्न तयार छन् उत्साहका साथ । तर, फरक यति हो यसअघिको निर्वाचनमा उनीहरु आफ्नै घरबाट मत हाल्न गएका थिए यस पटक त्रिपालबाटै जानेछन् ।

बाढीपीडितः चार जना उम्मेदवार



मत खसाल्ने तयारीमा रहेका बाढीपीडितका बीच चारजना उम्मेदवार समेत छन् । चारै जनालाई फरक-फरक पार्टीले उम्मेदवार बनाएको छ । त्रिपालमुनि बस्दै आएकी सतौनी कुमारी राम, गीता कुमारी राम, सबुनदेवी राम र मो. सिद्विक निर्वाचनमा उम्मेदवार छन् ।

सतौनीकुमारीलाई नेपाल लोकतान्त्रिक फोरमले, गीतालाई राजपाले र सबुनकुमारीलाई एमालेले दलित महिला सदस्यको उम्मेदवार बनाएको छ । सिद्विक भने एमालेको तर्फबाट सदस्य पदका उम्मेदवार छन् । ‘दलहरुले उम्मेदबार बनाएको पछि मात्रै थाहा पाएँ’ सबुनले भनिन्, ‘आफू पनि उम्मेदवार हुँ भन्ने कुरा मात्रै थाहा छ, अरु केही थाहा छैन ।’

उम्मेदवारी दिएका चारैजनाले अहिले प्रहरीले नै आफूहरु पाल टाँगेर बस्दै आएको नहरको डिल खाली गराउन धम्की दिन थालेको बताए । उनीहरुले प्रश्न गरे, ‘घर बाढीले बगायो, जसोतसो यहाँ दिन काटिरहेको छु, अब यहाँबाट कहाँ जाने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment