Comments Add Comment

नारायणगोपालको त्यो पत्र रत्नसमशेर थापालाई

‘सञ्चो/बिसञ्चो’, ‘हालखबर’ सुनाइसकेपछि उनी एकाएक जंगिए- ‘नारायण गोपालको कुरा गर्दै नगर्नुस् ।’

यसबीचमा हामीले प्रश्न घुसाएका थियौं, ‘नारायण गोपालले तयार गरेको धुनमा तपाईंले गीत लेख्नुहुन्थ्यो रे ?’

यो प्रश्नले गीतकार रत्नशमसेर थापाको ‘रक्तचाप’ बढ्ने रहेछ । हालैको साँझ उनकै घरको बैठक कोठामा पाइजामा र सर्ट लगाएर सोफामा लमतन्न पल्टिरहेका उनले सुरुमा कुरा गर्न जाँगर देखाएनन् । ‘हाजिरी जवाफ’ शैलीमा औपचारिकता निर्वाह गरेपछि हामी सोझै विषयवस्तुमा प्रवेश गरेका थियौं । त्यहीबेला उनी जंगिएका थिए ।

‘तपाईंहरु जस्तो पत्रकारले यस्तै-यस्तै सोध्नुहुन्छ, लेख्नुहुन्छ’ उनले छेवैमा रहेको चुरोटको ठूटो टिपे तर सल्काएनन् । भने, ‘यस्तो फटाईं धेरै चलेको छ क्या, फ्याक्ट कुरो कसैलाई थाहै छैन ।’

‘फ्याक्ट के हो त ?’ हामीले जान्न खोज्यौं ।

जवाफमा उनले भने, ‘फ्याक्ट के भने, मैले लेखेर गीत दिन्थें, उनले गाउँथे ।’ त्यतिमै उनी रोकिएनन् । यसो भने, ‘मैले लेखेको गीतले ऊ (नारायण गोपाल) हिट भएको । ट्युनमा ऊसँग लेखिनँ, अरुसँग लेख्या छु । तर, उसँग लेखिनँ ।’

नारायण गोपालसँग उनको दोस्ती दुई वर्ष चल्यो । त्यो दुवैको करिअरको पूर्वार्द्ध थियो । दुवै राजधानीका रैथाने । हुनेखानेकै छोराहरु । त्रिचन्द्र क्याम्पस पढ्थे । त्यही ताका हो, उनीहरु ‘क्लासमेट’ बनेको । यो सन् १९६० ताकाको कुरा ।

त्यस अवधिमा रत्नसमशेर थापाको नारायणगोपालसँग दोस्ती मात्र रहेन । त्यसभन्दा एक कदम अगाडि बढेर दुवै एकअर्काको टेको बने, करिअरको सिंढी चढ्ने । थापा गीत लेख्न माहिर, नारायणगोपालको आवाजमा शक्ति । यसरी संगीतले उनीहरुलाई एकाकार गरायो ।

‘अलिकति के भने, सब्जेट म्याटरमा डिस्कस हुन्थ्यो,’ धेरैजसो अंग्रेजी शब्दावली प्रयोग गर्ने थापा अलि मत्थर भए, ‘कहिले माग्नेको गीत लेखौं भन्थ्यो, कहिले लाहुरेको गीत लेखौं भन्थ्यो ।’ यसरी नै जन्मिएका थिए, आधा दर्जन अजम्बरी गीत ।

दुई वर्षमा, दुई किनारा

नारायणगोपालको प्रसंगमा रत्नसमशेर थापा छुटाउन नसकिने नाम हो । रत्नसमशेरको कथामा नारायणगोपाललाई अलग गर्न सकिँदैन । दुवै एकअर्काको परिपुरक नहुँदा हुन् त नेपाली संगीतको एउटा आयाम अधुरो रहन्थ्यो ।

‘ए कान्छा ठट्टैमा’, ‘आँखाको भाका’, ‘बिछोडको पीडा’जस्ता आधा दर्जन गीत भटाभट रत्नसमशेरले लेखे, नारायणगोपालले त्यसलाई स्वरबद्ध गरे । अक्सर उनीहरु भेटमा गीत-संगीतको चर्चा गर्थे । नातिकाजी पनि क्लासमेट । संगीतले उनीहरुलाई गोलबद्ध गरेको थियो ।

तर, नारायणगोपाल र रत्नसमशेरको संगत दुई वर्षभन्दा बढी लम्बिएन । एउटा पूर्व, अर्को पश्चिम भए । नदीको दुई किनाराझैं, जसको कुनै मिलनविन्दु रहेन ।

‘उनको (नारायणगोपाल) फादरचाहिँ फेमस सितार बादक हो, आशागोपाल,’ थापाले सम्झिए, ‘छोरो क्लासिकल सिंगर बनोस् भन्ने ठूलो इच्छा थियो ।’ पछि नारायणगोपालले छात्रवृत्ति पाए, भारत गुजरातको बरोदास्थित महाराजा सायाजीराव युनिभर्सिटीमा ।

नारायणगोपाल त्यतै गए, रत्नसमशेर काठमाडौंमै बसे । यसरी उनीहरुको भौगोलिक दूरी बढ्दै गयो । बरोदाबाट फर्केपछि नारायणको संगत दार्जिलिङे संगीतकर्मीहरुसँग भयो । ‘ऊ दार्जिलिङेहरुको संगतमा गयो, म आफ्नै सर्कलमा बसें,’ थापाले भने, ‘न मैले उनलाई वास्ता गरें, न उनले मेरो चासो राखे ।’

नारायणगोपालको त्यो पत्र

कुरै कुरामा थापाले खुलाए, नारायण गोपालले उनलाई लेखेको पत्रबारे । पिताको इच्छा शिरोधर गर्दै बरोदामा शास्त्रीय संगीत सिक्न गएका नारायणगोपाल शुरुवाती दिनमा बिरक्तिएछन् । त्यहीबेला नारायण गोपालले पत्र लेखे, हितैषी रत्नसमशेरलाई ।

‘मलाई यो क्लासिकल त्यति मन परेको छैन भनेर लेखेका थिए,’ थापाले सम्झिए, ‘अलि विरक्तिएका रहेछन् ।’ नभन्दै उनी बरोदाबाट अध्ययन पुरा नगरी फर्किए । बरोदा गए पनि उनले सम्झिएका साथी रहेछन्, रत्नसमशेर थापा । हामीले यही प्रसंग निकालेपछि थापा रौसिए, ‘हो, एक किसिमको अट्याचमेन्ट थियो । यहाँ आउँथ्यो । भेट्थ्यौं । कुराकानी गथ्र्यौं । जमघट हुन्थ्यो ।’

पत्रकारले ‘फेब्रिकेट’ गरिदिए

घुमाई-फिराई नारायणगोपालको प्रसंग आइहाल्ने । र, त्यही विन्दुमा आइपुगेपछि उनको पारो बढ्ने । भनिहाले, ‘यो पत्रकार भन्नेसँग नि, मलाई एलर्जी हुन थालेको छ ।’

धेरैले लेखेछन्, ‘रत्नसमेशर थापा र नारायणगोपाल दुवै घमण्डी भएकाले छुटे ।’ कसैले ‘दुवैबीच दुश्मनी बढेको’ भनेछन् । कसैले ‘यिनीहरुबीच केही मनमुटाव भए होलान्’ भनेछन् ।

‘वास्तवमा फ्याक्ट जे हो, त्यो कसैले लेखेनन्,’ थापा जंगिए, ‘यस्तो कुरालाई फूलबुट्टा भरे । मैले बोल्दै नबोलेको पनि लेखे । यिनीहरुमा केही भएको होला रे, केही भएकै होइन । गोपाल योञ्जनसँग संगत भएपछि ऊ तर्किएर हिँड्न थाल्यो ।’

खासमा नारायण गोपालको कारण आफु ‘गीतकार’ भएको भन्ने बुझाइप्रति उनको घोर आपत्ति रहेछ । हुन पनि, उनी नारायणगोपालको बुईं चढेर गीतकार भएका होइनन् । बरु, उनीहरुबीच मधुर सहकार्य रह्यो । त्यही धरातलमा उनीहरुले आ-आफ्नो खुट्टा टेके ।

‘मेरा गीतबाट धेरै गायक माथि उठेका छन्,’ उनले भने, ‘प्रेमध्वज प्रधान गोरेटो भन्ने गीतबाट, माणिकरत्न त्यो खोलाको साङ्लो पानीबाट । ऊ अहिले पनि भन्छ, तिम्रो दुई वटा गीतले म यो ठाउँमा उभिएँ ।’ आफ्नो कलमको ताकत नहुँदो हो त, नारायण गोपालसँग संगत छुटेसँगै बिलाएर जाने उनको भनाइ छ ।

फ्याक्ट के हो ?

उनले पटक-पटक भने, ‘फ्याक्ट कुरो के हो, कसैलाई थाहै छैन ।’

हामीले पनि उति नै पटक दोहोर्‍याएका थियौं, ‘के हो त फ्याक्ट ?’

उनले मुख खोले, ‘फ्याक्ट के भने, नारायणगोपाल मेरै गीतले हिट भएका हुन् ।’ करिअरको पूर्वार्द्धमा नारायणगोपालले केही कालजयी गीत गाए । ‘ए कान्छा ठट्टैमा’, ‘बिछोडको पीडा’, ‘आँखाको भाका’ । र, यी गीतका गीतकार उनै रत्नसमशेर थापा ।

‘नारायण गोपालले मेरा दर्जनजति गीत गाए होलान् । तर, अरु सयौंले गाएका छन् । हिट पनि भएको छ । योगेश वैद्यजीले गाएको मेरो गीत अहिले एमएको कोर्समा छ । यो हो तथ्य,’ यति भनेर उनले चुरोटको ठुटो सल्काउन खोजे, ‘तर, यस्तो फ्याक्टलाई नि ओभरल्याप गरेर बीच-बीचमा मनगढन्ते कुरा घुसाइन्छ क्या ।’

यो पनि पढ्नुहोस् 

नारायणगोपालको त्यो ट्याक्सी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment