Comments Add Comment

ताप्लेजुङमा दुईवटा नमूना विद्यालय बन्दै

नमूना विद्यालय बनाउन छनोट भएको शिरिजंघा गाउँपालिकाको सिनाम मावि । तस्वीर: रविन भट्टराई/ताप्लेजुङ

५ असोज, ताप्लेजुङ । जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जिल्लाका दुईवटा विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्ने भएको छ ।

सरकारको ‘एक निर्वाचन क्षेत्र, एक नमूना विद्यालय’ बनाउने अवधारणा अन्तर्गत गत आर्थिक वर्षबाट दुई वटा विद्यालयलाई नमूना विद्यालय बनाउने अभियान सुरु गरिएको जिल्ला शिक्षा अधिकारी चैतन्य प्रसाद निरौलाले जानकारी दिए ।

विद्यालयको अवस्था र सम्भावनालाई अध्ययन गरेर शिरिजंघा गाउँपालिकामा रहेको सिनाम माध्यमिक विद्यालय र आठराई त्रिवेणी गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय हाङ्पाङलाई नमूना विद्यालय बनाउने अभियान सुरु गरिएको जिशिअ निरौलाको भनाइ छ ।

ती विद्यालयलाई सरकारले गत आर्थिक वर्षमा नै नमूना विद्यालयका लागि पूर्वाधार निर्माणको काम अघि बढाउन २८ लाख ५४ हजारका दरले अनुदान समेत दिइसकेको छ । विद्यालयलाई नमूना बनाउनका लागि गुरुयोजना तयार गरेर काम अघि बढाउने काम भइरहेको जिल्ला शिक्षा कार्यालयले बताएको छ ।

ताप्लेजुङलाई पाँच वर्षभित्र गुणस्तरीय शिक्षा प्रदान गर्ने जिल्ला बनाउने अभियानमा पनि यसले थप टेवा पुग्ने जिशिअ निरौलाको भनाइ छ । अभियानको पहिलो चरणमा नमूना विद्यालयको सुरुवात भएको उनले बताए । नमूना विद्यालय निर्माणका लागि सम्बन्धित विद्यालयका शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिले प्रतिबद्धता जनाएपछिमात्र लगानी गरेको बताइएको छ ।

नमूना विद्यालयमा शिक्षकले विद्यालय समयभर अनिवार्य पठनपाठन गर्नुपर्ने, विद्यालय व्यवस्थापन समितिले अध्यापनको लागि उपयुक्त वातावरण निर्माण गर्नु पर्ने र अभिभावकले विद्यार्थीलाई अनिवार्य खाजा दिएर पठाउनु पर्ने प्रावधान पनि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment