Comments Add Comment

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल विस्तार हुँदै, धेरैबेर लगेज कुर्नु नपर्ने !


६ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने अधिकांश यात्रुको गुनासो हुन्छ, समयमा लगेज आइपुगेन । विमानबाट उत्रिएपछि अध्यागमन हुँदै लगेज बेल्टमा आएर केहीबेर कुर्नुपर्दा सकस महशुस हुन्छ, अहिले ।

यात्रुले त्यस्तो सकस बेहोर्नुनपर्ने गरी विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल विस्तारको तयारी सुरु भएको छ ।

हालको टर्मिनल भवनमा तला थपेर आधुनिक स्वरुप दिइन लागेको हो, जसका कारण यात्रुको सास्ती घट्ने सरकारी दाबी छ ।

संरचना थपिएपछि यात्रु लगेज बेल्ट आइपुग्नुअघि केहीबेर विमानस्थलभित्रै भुलाउन सकिने नेपाल नागरिक उड्डयन प्राधीकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताए ।

अहिले यात्रु विमानबाट ओर्लिएपछि अध्यागमनको काम सकेर सीधा लगेज बेल्टमा आइपुग्छन् । छोटो दूरि भएकाले १५ मिनेट मात्र पर्खिनु पर्दा पनि उनीहरु अधैर्य बन्छन् । श्रेष्ठले भने, ‘भित्री संरचना थपेर यात्रुलाई विमान अवतरण र उडेको हेर्ने व्यवस्थाका साथमा लगेज बेल्टमा आइपुग्दा ब्यागेज पनि आइसक्ने गरी टर्मिनल विस्तार गर्दैछौं ।’

अहिले अन्तर्राष्ट्रिय टर्मिनलको क्षमता प्रतिघण्टा १३ सय यात्रुको छ । विस्तारपछि विस्तारपछि प्रतिघण्टा २५ सय यात्रुलाई सेवा दिन सकिने छ ।

धावनमार्ग विस्तारको काम यसअघि नै सुरु भइसकेको छ । त्यसको ठेक्का लिएको कम्पनी सान्जोसेले समयमै काम नसकेपछि सरकारले सम्झौता तोडेर अहिले नयाँ ठेकेदार छनोट गर्दैछ । सन् २०१६ मै यसको निर्माण सक्ने लक्ष्य थियो ।

धावनमार्ग निर्माण गर्ने कम्पनी यसै साता छानिने प्रवक्ता श्रेष्ठले बताए ।

धावनमार्ग विस्तारसँगै यात्रुको चाप बढ्छ । त्यसैलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थलले टर्मिनलको क्षमता बढाउन लागेको हो ।

अन्तर्राष्ट्रिय टर्मिनललाई ‘होरिन्जन्टल’ र ‘भर्टिकल’ गरी दुई विधिबाट विस्तार गर्ने तयारी छ । त्यसका लागि यस वर्ष बजेट विनियोजन भइसकेको छ । उक्त प्रस्ताव भने प्राधीकरणको बोर्डले पारित गर्न बाँकी छ ।

पटक–पटक मन्त्री फेरबदलका कारण प्रस्ताव पारित हुन सकेको छैन । पारित हुनासाथ टेन्डर आह्वान हुने श्रेष्ठले जानकारी दिए ।

प्राधीकरणले डिजाइन तयार पारिसकेको छ ।

अहिलेका यात्रु प्रतीक्षालय पनि साँघुरा र अप्ठ्यारा छन् । जहाज कुर्ने सेडमा पनि छानो चुहिने समस्या छ । त्यसलाई दोब्बर फराकिलो बनाएर विस्तारको योजनामा छ, प्राधीकरण ।

अहिले सुरक्षा जाँचपछि एलिभेटर प्रयोग गरेर सीधै ‘सेड’मा पुगिन्छ । विस्तारपछि भने थप अर्को एलिभेटरको प्रयोग गरेर मात्र त्यहाँ पुग्न सकिनेछ ।

सेडबाट तीन सय ६० डिग्रीको कोणमा काठमाडौं र विमानस्थलको गतिविधि नियाल्न सकिनेछ ।


विमानस्थलबाट आउजाउ गर्ने यात्रुका आफन्तका लागि व्यवस्थित प्रतीक्षालय छैन । टर्मिनल विस्तारबाट उक्त समस्या पनि समाधान हुनेछ ।

विमानस्थलबाट अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट बाहिरिएका यात्रु सीधै गोल्डेन गेटनजिक निर्माणाधीन भवनमा पु¥याउने व्यवस्था मिलाइने श्रेष्ठले बताए ।

यात्रु छोड्न जानेहरु भने मुख्य टर्मिनल भवनको बाहरिसम्म पुग्न सक्नेछन् । आगमन र बहिर्गमनको अलग–अलग व्यवस्थापछि हाल टर्मिनल भवनबाहिर रहने भीडभाड घट्ने विश्वास विमानस्थल कार्यालयको छ ।

गोल्डेन गेटनजिकको भवनमा पसल कवलहरु रहनेछन् । र, त्यस क्षेत्रमा त्यस्ता पसलको संख्या बढ्नेछ ।

अहिले कम संख्यामा रहेका पसलले यात्रीबाट मनपरि मूल्य असुल्छन् । संख्याका साथमा प्रतिस्पर्धा पनि बढ्ने र व्यापारीको मनपरि हट्ने विश्वासमा देखिन्छन्, विमानस्थलका अधिकारीहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment