Comments Add Comment

सप्तरीमा माओवादी किन बढारियो ?


६ असोज, राजविराज । स्थानीय चुनाव प्रचारका क्रममा माओवादी अध्यक्ष प्रचण्डका दुई तस्वीर ‘भाइरल’ भए ।

पहिलो तस्वीरमा उनी सुरक्षाकर्मीसहित राजविराजको सडकमा मर्निङवाकमा निस्किएका थिए । र, चिया पसलमा चिया पिउँदै स्थानीयसँग कुराकानी गरिरहेका थिए । दोस्रो तस्वीरमा कञ्चनरुपको चुनावी सभापछि कागजको प्लेटमा खाजा खाइरहेका थिए ।

यी दुई तस्वीर देखेपछि कतिपयले प्रचण्डलाई ‘महान’ भन्दै प्रशंसा गरे भने कतिपयले ‘भोट माग्ने मेलो’ भनी टिप्पणी गरे । तर, जे भए पनि सप्तरीमा प्रचण्डको खटाई लोभलाग्दो थियो ।

प्रदेश २ को चुनाव प्रचारका क्रममा प्रचण्ड तराई मधेसका जिल्ला जिल्लामा पुगे, बिहानैदेखि मध्यरातसम्म चुनावी सभा र घरदैलोमा सहभागी भए । अहिले जारी मतगणनामा त्यसैको प्रभावका रुपमा माओवादी दोस्रो स्थानको दाबेदारका रुपमा देखिएको छ ।

तर, १८ स्थानीय तह रहेको सप्तरीमै भने माओवादी केन्द्र ‘नील’ हुने सम्भावना बढेर गएको छ ।

सप्तरीका ५ स्थानीय तहको परिणाम आइसकेको छ । जसमध्ये कांग्रेस र राष्ट्रिय जनता पार्टीले दुई-दुई स्थानमा जित हात पर्दा एमाले एक स्थानमा विजयी भएको छ ।

बाँकी स्थानीय तहमा पनि हनुमाननगर कंकालिनी बाहेक अन्यत्र माओवादी मुख्य प्रतिस्पर्धामै देखिएको छैन ।

किन माओवादी बढारियो ?

दोस्रो संविधानसभामा माओवादी केन्द्रले देशभरिबाट प्रत्यक्षतर्फ २६ सीट जित्दा ३ वटा सीट सप्तरीबाटै जितेको थियो । यहाँ माओवादीको संगठन पनि राम्रो मानिन्छ । तैपनि मत आएन ।

सप्तरीमा माअाेवादी हार्नुकाे मुख्य कारण हो, माओवादी नेता उमेश यादव र अशोककुमार मण्डलको विवाद

यसको मुख्य कारण हो, सप्तरीका माओवादी नेता उमेश यादव र अशोककुमार मण्डलको विवाद ।

दुबै सप्तरीबाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन् । मण्डल जिल्ला इञ्चार्ज पनि हुन् । तर, उनीहरुबीच बोलचाल समेत छैन । दुई नेताको विवादका कारण जिल्लामा पार्टीको संगठन अस्तव्यस्त भएको माओवादीका एक नेताले अनलाइनखबरलाई बताए ।

यादव र मण्डलको विवादकै कारण सप्तरीमा नील हुने सम्भावना चुनावअघि नै आँकलन गरिएको माओवादी केन्द्रीय कार्यालयका एक सदस्यले अनलाइनखबरलाई बताए ।

उनका अनुसार पार्टी बैठकमा दुबै नेताले ६/७ वटा स्थानीय तह जित्ने दाबी गर्ने गरेका थिए ।

सांसद एवं सप्तरी ईञ्चार्ज अशोक मण्डलले भने अन्य दलले भोट किनेको आरोप लगाए । बाँकी स्थानीय तहमा जित्ने भन्दा पनि दोस्रो वा तेस्रो हुने विश्लेषण सुनाउँदै उनले भने, ‘हाम्रो संगठित भोट थियो तर, अरु पार्टीले ३/४ हजार नै भोट किने ।’

सप्तरीमा माओवादी कमजोर हुँदाको लाभ राष्ट्रिय जनता पार्टीसँगै नेपाली कांग्रेसले पनि उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment