Comments Add Comment

कांग्रेस-माओवादी गठबन्धन भत्काउन एमाले नेतृत्वलाई सुझाव

केपी ओलीलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा जाने प्रस्ताव


८ असोज, काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा कांग्रेस-माओवादी गठबन्धन भत्काउनुपर्ने सुझाव केन्द्रीय सदस्यहरुले दिएका छन् । अहिलेको सत्ता गठबन्धन राष्ट्र हितविपरीत र सुशासन विरोधी रहेकाले भत्काउनुपर्ने सुझाव नेतृत्वलाई दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेका ८ वटै समूहबाट गठबन्धन भत्काउन पार्टीले पहल गर्नुपर्ने सुझाव पेश भएको केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।

प्रतिवेदनमाथि ७ प्रदेश र एक गैरभौगोलिक प्रदेश गरी ८ समूहमा छलफल भएको थियो । छलफलको निष्कर्ष सुनाउँदै थापाले भने-यो सत्ता गठबन्धन मुलुक र जनताका लागि घातक छ । यसलाई भत्काउनुपर्छ र राजनीतिलाई सही ट्र्याकमा लैजानुपर्छ भन्ने सुझाव आएको छ ।

समूहगत छलफलको निष्कर्ष सुनाउनेमा प्रदेशगत रुपमा एक देखि ८ सम्म क्रमशः शिवमाया तुम्बाहाम्फे, सत्यनारायण मण्डल, काशिनाथ अधिकारी, गणेश तिमल्सिना, दलबहादुर राना मगर, यमलाल कँडेल, भीम रावल र महेन्द्रबहादुर पाण्डे रहेका छन् ।

यो गठबन्धन रहँदा मुलुकमा अराजकता, भ्रष्टाचार, मनपरीतन्त्र बढेको र अदालत लगायत राज्यका संवैधानिक निकायमा समेत हस्तक्षेप भएको भन्दै एमालेले गठबन्धन भत्काउनुपर्ने निष्कर्ष निकालेको हो । केन्द्रीय कमिटी सदस्यहरुको सुझावका आधारमा पार्टीले निर्णय गर्ने सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

कांग्रेस माओवादी गठबन्धन आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समेत निरन्तरता दिने तयारी भइरहेका बेला एमाले बैठकमा यसबारे समीक्षा भएको हो । माधव नेपाल पक्षका नेताहरुले प्रचण्डलाई केपी ओलीले प्रधानमन्त्री पद हस्तान्तरण नगरेर गलत भएको बताएका छन् ।

चुनावअघि नै भावी प्रधानमन्त्री र मुख्यमन्त्री घोषणा गरेर जाने सन्दर्भमा भने समूहगत छलफलमा एकै धारणा नआएको एमाले स्रोतले जनाएको छ । प्रदेश नम्बर १, ३, ४, ५ र गैरभौगोलिक प्रदेशको समूहबाट ओलीलाई नै भावी प्रधानमन्त्री घोषणा गरेर जानुपर्छ भन्ने सुझाव आएको छ ।

मुख्यमन्त्री उम्मेदवार घोषणा गर्ने सन्दर्भमा फरक-फरक धारणा आएका छन् । अहिले नै मुख्यमन्त्री घोषणा गरेर जाँदा मुख्यमन्त्रीका दाबेदारलाई तलै हराउन विपक्षीहरुले गठबन्धन गर्न सक्ने आशंका समेत बैठकमा प्रकट भएको छ ।

बैठकमा समानुपातिक र आरक्षणतर्फ बढीमा एक पटक भन्दा एउटै व्यक्तिलाई दोहोर्‍याउन नहुने प्रस्ताव आएको छ । बैठक आजै विभिन्न निर्णय गर्दै सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment