Comments Add Comment

दशैं र नेपाली अर्थतन्त्रबीचको सम्बन्ध

धेरै सकारात्मक आयामका बावजुद दशैंका केही नकारात्मक पक्ष पनि

नेपालमा सबै सम्प्रदाय र धर्मका चावपर्वलाई समान हैसियत प्राप्त छ र समान रुपले मनाउने गरिन्छ । सधैंझैं यस वर्ष पनि हामी नेपालीहरु बडादशैंको हर्षोल्लासबीच झुमिरहेका छौं । ८० प्रतिशतभन्दा बढी हिन्दुहरु रहेको देशमा दशैंलाई महान चाड भन्नु सांस्कृतिक तथा सामाजिक रुपले उत्तम नै हो ।

दशैंको अवसरमा ठूला शहरहरुमा देखिने सुनसान सडक तथा बन्द पसलहरुले पनि यसको सामाजिक/सांस्कृतिक विविधता झल्काउँछ । एकता र सद्भाव पनि यही विन्दुमा झल्किन्छन् ।

हरेक देशमा कुनै विशेष पर्वको अवसरमा लामो बिदा दिने गरिन्छ, भारतमा दीपावली, चीनमा चिनियाँ नयाँ वर्ष, दक्षिण कोरियामा छुसक र नेपालमा दशैं । यस्तो लामो बिदाको समयमा उपभोगमा आधारित आर्थिक क्रियाकलापहरुमा विशेष वृद्धि हुन्छ ।

नेपालमा दशैं सबैभन्दा लामो बिदा हुने पर्व पनि भएकाले यसको छुट्टै र विशेष प्रकारको आर्थिक/सामाजिक महत्व छ । दशैंले नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु महत्वपूर्ण छन् ।

नेपालीहरुको उपभोग प्रवृत्ति र अर्थतन्त्रको संरचना हेर्दा आन्तरिक उत्पादनभन्दा आयातीत वस्तुहरुको माग धेरै छ । आन्तरिक उत्पादनलाई समयानुसार विविधीकरणा गर्न नसकिएकाले गर्दा आयातीत वस्तुहरुको माग बढ्नु स्वाभाविकै हो ।

आर्थिक सर्वेक्षण ०७३/७४ अनुसार नेपालीहरुको प्रतिव्यक्ति कुल राष्ट्रिय आय -प्रचलित मूल्यमा) ९१ हजार चार सय ८८ रुपैयाँ छ, जुन मासिक सात हजार ६ सय २४ हुन्छ ।

यसमा कुल उपभोग र कुल गार्हस्थ उत्पादन (जीडीपी)को अनुपात ८९ दशमलव सात प्रतिशत छ । यसको सीधा अर्थ सय रुपैयाँ कमाउँदा एक नेपालीले १० रुपैयाँ ३० पैसा मात्रै बचत गर्छ । अर्थात्, ८९ रुपैयाँ ७० पैसा उपभोगमा खर्च गर्छ ।

यसबाट ‘जति कमायो सबै सकायो’ भन्ने नेपाली उखान चरितार्थ हुन्छ । यसकारण नेपालको अर्थतन्त्रलाई विल्कुलै उपभोगमा आधारित भन्न सकिन्छ । कमाईको थोरै अंश मात्रै बचत हुने र त्यो पनि औषधोपचारलगायतमा खर्चिनुपर्ने हुँदा बचत ऋणात्मक हुने गर्छ ।

यस्तो अवस्थामा दशैंलगायत चाडपर्व र सांस्कृतिक रीतिरिवाजहरुलाई देखासिखीमा मनाउँदा ऋणमा फस्ने सम्भावना अत्यधिक देखिन्छ । यसकारण आर्थिक हिसाबले दशैंको सकारात्मक र नकारात्मक दुवै पक्ष छन्, जसलई देहायअनुसार उल्लेख गर्न सकिन्छ ।

सकारात्मक पक्षहरु

दशैंको समयमा लामो विदा र वस्तुहरुको किनबेच धेरै हुने तथा पारिवारिक मेलमिलापका लागि लामो यात्रासमेत गरिने भएकाले आर्थिक क्रियाकलापका हिसाबले समग्र नेपाली अर्थतन्त्रमा दशैंका धेरै सकारात्मक पक्ष भेटिन्छन् ।

क) राजस्व वृद्धि

राजस्वको प्रमुख स्रोत आयातमा लागाइने मूल्य अभिवृद्धि कर -भ्याट), भन्सार महशुल र अन्तःशुल्क हुन् । दशैंमा आयातमा धेरै वृद्धि हुने भएकाले भन्सार विन्दुमा उठाइने करका साथै आयकरसमेत धेरै उठ्ने गर्छ । यसले समग्र राजस्व परिचालनको क्षेत्रलाई वृद्धि गरी आयातमुखी राजस्व संरचनालाई इंगित गर्छ ।

ख) आन्तरिक उत्पादन वृद्धि

दशैंको समयमा धेरै बिक्री गर्न सकिने आशाका कारण नयाँ आर्थिक वर्षको शुरुवातदेखि नै उत्पादन क्षमतालाई अधिक प्रयोग गरेर धेरैजसो नेपाली उद्योगले आफ्नो उत्पादन परिमाणलाई वृद्धि गर्छन् । एक अनौपचारिक तथ्यांकलाई आधार मान्ने हो भने दशैंका लागि उद्योगहरुले नियमितभन्दा ६० प्रतिशतभन्दा बढीले उत्पादन वृद्धि गर्छन् ।

ग) आर्थिक क्रियाकलाप वृद्धि

दशैंमा बिक्रेताहरुले वस्तु तथा सेवाको बिक्रीमा विभिन्न प्रकारका आकर्षक अफरहरु दिने तथा उपभोक्ताले धेरै वस्तु खरिद गर्ने गर्छन् । नेपालमा दशैंको समयमा हुने बिक्रीलाई अमेरिका र युरोपेली देशहरुका ब्ल्याक फ्राइडे, भारतमा दीपावली र चीनमा नयाँ वर्षमा हुने बिक्रीसँग तुलना गर्न सकिन्छ । यसर्थ, नेपालमा दशैं तथा दिपावलीको समयमा हुने आर्थिक क्रियाकलापको नेपाली अर्थतन्त्रमा धेरै महत्वपूर्ण भुमिका छ ।

घ) आय तथा रोजगारी वृद्धि

उत्पादनमा आएको वृद्धिले रोजगारीको अवस्थामा समेत वृद्धि हुने देखिन्छ । तर, त्यस्तो प्रकारको रोजगारी क्षणिक खालको हुने गर्छ । यसले समग्रमा छोटो समयका लागि आम्दानी तथा रोजगारी वृद्धि हुन्छ । दशैंको समयमा हुने तत्कालीन माग पूरा गर्न अलिकति भए पनि सहयोग गर्छ । साथै, दशैंका बेलामा सरकारी र निजी कार्यालयहरुले चाडपर्व खर्चका रुपमा थप रकमसमेत प्रदान गर्ने हुँदा खर्चयोग्य आम्दानीमा वृद्धि हुन्छ ।

ङ) विप्रेषण आय वृद्धि

नेपालका ३० लाखभन्दा बढी सक्रिय जनशक्ति विदेशमा रहेकाले विप्रेषण रकमको प्रवाह दशैंको समयमा उल्लेखनीय रुपले वृद्धि हुने गरेको छ । एक रेमिट सञ्चालकका अनुसार अन्य नियमित समयभन्दा दशैं तिहारमा विप्रेषणको प्रवाह दुई सय प्रतिशतभन्दा बढ्ने गरेको छ ।

विप्रषण रकमले नेपालको कुल गार्हस्थ उत्पादनमा करिब ३० प्रतिशतले योगदान गर्ने भएकाले यो महत्वपूर्ण क्षेत्रको रुपमा छ । यसरी दशैंको समयमा हुने विप्रेषण आयको वृद्धिले कूल गार्हस्थ उत्पादन बढाउन सहयोग गर्छ ।

दशैंले मौदि्रक तथा वित्तीय अवस्थामा धेरै सकारात्मक सञ्चार प्रवाह गर्ने भएकाले सामाजिक/सांस्कृतिक पक्षका साथै आर्थिक हिसाबले पनि महत्वपूर्ण छ ।

नकारात्मक पक्षहरु

असत्य माथि सत्यको विजय तथा धार्मिक सामाजिक सदभाव र मिलनको सँगमको रुपमा मनाइने बडादशैंका नकारात्मक पक्षहरु पनि केलाउनु त्यति सान्दर्भिक नहोला । तर, दशैं मनाउँदै गर्दा त्यसले अल्पकाल तथा दीर्घकालमा आर्थिक क्षेत्रमा पुर्‍याउने प्रभावलाई समयमै विचार गर्नुपर्ने देखिन्छ । यसर्थ यसलाई सही व्यवस्थापन आवश्यक छ ।

क) आयातमा वृद्धि

पछिल्लो अध्ययनअनुसार आन्तरिक उत्पादनले नेपाली बजारको करिब ३० प्रतिशत मागलाई मात्र पूरा गर्न सक्छ । अर्थतन्त्र यसै पनि आयातमा निर्भर रहेकाले दशैंको बेलामा अत्यावश्यकीय वस्तुहरु खाद्यान्न र लत्ताकपडालगायत विलासिताका वस्तुको आयात बढ्छ ।

दशैंमा खसी बोका र भेडाच्यांग्राको आयात मात्रै १० अर्बभन्दा बढी हुन्छ । विशेष छुटका कारण उपभोक्ताले दशैंलाई किनमेलको समय बनाउने गरेका छन् । यसबेलामा जिप, कार र मोटरसाइकलको आयातमा उल्लेखनीय वृद्धि हुन्छ । यसले अनुत्पादनशील क्षेत्रमा हुने खर्च बढाउँछ ।

ख) अनुत्पादनशील क्षेत्रमा खर्च

लामो बिदा हुने भएकाले सबै धार्मिक तथा सांस्कृतिक सम्प्रदायले बिनाभेदभाव पारिवारिक मिलनको अवसरका रुपमा मनाउने गर्छन् । यस समयमा नेपालीहरुको अनुत्पादनशील क्षेत्रमा अत्यधिक खर्च बढ्छ । आवश्यकताभन्दा पनि देखावटी हिसाबले खर्च गर्ने प्रवृत्तिले गर्दा हुनेलाई भन्दा नहुनेलाई धेरै मार पर्ने गर्छ । अनुत्पादक उपभोग्य सामग्रीहरु जस्तै मदिरा, चुरोटलगायत वस्तुको खपत बढ्छ । साथै, जुवा तास खेल्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको परिवार र समाजमा धेरै नकारात्मक प्रभाव पर्छ ।

ग) उत्पादकत्वमा कमि

समग्र रुपले हेर्दा दशैंका कारणले केही क्षेत्रको उत्पादनमा वृद्धि भएको देखिए पनि यो लामो बिदाको समय भएकाले धेरै क्षेत्रको उत्पादन तथा उत्पादकत्वमा निकै कमि आउँछ । विश्वविद्यालय र विद्यालय लामो समयका लागि बिदा हुन्छन् भने अन्य क्षेत्र पनि दशैं आउन लाग्यो भनेपछि छुट्टमिा अगाडि नै हिँड्ने गरेको देखिन्छ ।

घ) व्यक्तिगत बचतमा कमि

नेपालीहरु यसै पनि आम्दानीको थोरै भाग मात्रै बचत गर्छन् । त्यो पनि, दशैं मनाउने क्रममा खर्च हुने तथा नपुग खर्चका लागि ऋण लिनुपर्ने बाध्यताले गर्दा व्यक्तिगत बचतमा कमि आउँछ । अनुत्पादनशील क्षेत्रमा आफ्नो क्षमताभन्दा पनि बढी देखासिकीमा अधिक खर्च गर्ने बानीले नेपालीलाई ऋण तिर्न ऋणै लिनुपर्ने अवस्थामा पुर्‍याउँछ । यो समग्र अर्थतन्त्रका लागि भयानक अवस्था हो ।

उपसंहार,

दशैंको आगमनसँगै नेपाली अर्थतन्त्रले आशाका किरण बोकेर आएको हुन्छ । यस समयमा हुने आर्थिक क्रियाकलापले देशको समग्र अर्थतन्त्रको आकार र संरचना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यो समयमा हुने उपभोगको प्रवृत्तिलाई समयानुकुल सुधार गर्दै ‘घाँटी हेरी हाड निल्नुपर्ने’ उखानलाई मनन गर्दै भविष्यका लागि सोच्ने बानीको विकास गर्नु आवश्यक छ ।

(गौतम कृषि विकास मन्त्रालयमा शाखा अधिकृत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment