Comments Add Comment

बौरिँदै सौराहा, बढ्दै पर्यटकको चहलपहल

तर अझै मुग्लिन–नारायणगढ सडकको अवरोध

१८ असोज, काठमाडौं । आफूले निकै मेहनतपूर्वक बनाएको ‘सौराहा बिच’ कुनै दिन ध्वस्त होला भनेर सोचेकासम्म थिएनन्, बलराम दाहालले । सिंगो सौराहाकै सौन्दर्य बनेको थियो, उक्त बिच ।

२८ साउनको बाढी सौराहा बिचमा यति उग्र बनेर आयो, क्षणभरमै भताभुंग बनाइदियो । पर्यटकले भरिभराउ सौराहा उजाड बन्यो । सौराहा आएकाहरु फर्किन थाले भने आउने तयारीमा रहेकाले पनि यात्रा रद्द गरे । तैपनि व्यवसायीले हिम्मत हारेका छन् । सौराहाको सौन्दर्य फर्काउने अभियानमा उनीहरु जुटेका छन् । सौराहाको पब क्षेत्रमा रेस्टुराँ चलाउँदै आएका व्यवसायी दाहाल अहिले बाढीले भत्काएको बिचको पुनर्निर्माणमा जुटेका छन् ।

प्रकृतिले मच्चाएको त्यो उपद्रो दाहालको स्मृतिमा ताजै छ । बिच क्षेत्रमा मात्र करिब ७० लाखबरावरको क्षति भएको थियो ।

पुनर्निर्माणमा जुटेका दाहालले २७ लाख खर्च गरिसकेका छन् । अझै ४५ लाख खर्च गर्नुपर्ने छ । ‘ठूलो बाढी आउला भन्ने सोचेकासम्म थिएनौं । अब बन्ने सौराहा बिच पहिलेभन्दा बलियो र राम्रो हुनेछ,’ दाहाल भन्छन् ।

बिच क्षेत्रमा दाहालसहित ६ जनाले सञ्चालन गरेको रेस्टुराँ बाढीले ध्वस्त बनाएको थियो । अन्य पाँच जना पनि अहिले धमाधम सोही क्षेत्रमा संरचना निर्माणमा जुटेका छन् ।

व्यवसायी मधुसुदन सिलवाल रेस्टुराँ, किचन, गाइड अफिस निर्माणमा जुटेका छन् । ५ असोजदेखि सुरु भएको निर्माणमा हालसम्म १५ लाख खर्चिसकेका छन्, सिलवालले ।

‘माटो फिलिङको काम सकेर रेस्टुराँ, बार, स्टाफ रुम, किचन, स्टोर र ट्वाइलेट निर्माण भइरहेको छ,’ उनी भन्छन् । व्यवसायी पुरुषोत्तम लामिछाने, घनश्याम चौधरी, कृष्णप्रसाद खतिवडा, गणेशप्रसाद खतिवडा धमाधम संरचना निर्माणमा व्यस्त छन् ।

‘बाढीको पीडा भुलेर २० असोजभित्र सबै रेस्टुराँ सञ्चालनमा ल्याउने तयारीमा छौं,’ दाहाल भन्छन्, ‘बिच क्षेत्रका रेस्टुराँ नहुँदा सिंगो सौराहा नै ध्वस्त भएको सन्देश बाहिर गयो, जसले पर्यटक व्यवसायमा ठूलो घाटा हुने देखियो ।’

उक्त क्षेत्रमा लाखौंको लगानीमा बनेका रेस्टुराँहरु कहाँ थिए भन्ने पनि पत्तो पाउन मुस्किल हुने गरी बाढीले क्षति गरेको थियो । रेवान सौराहाका वरिष्ठ उपाध्यक्षसमेत रहेका दिपक खतिवडाले ८० लाख लागतमा निर्माण गरेका थिए, रेस्टुराँ । बाढीको चपेटामा परेर अहिले नामोनिशान भेटिँदैन ।

रेस्टुराँ तथा बार एसोसिएसन (रेवान)अन्तर्गत् सौराहामा ५२ वटा रेस्टुराँ आवद्ध छन् ।

सडकको धक्का व्यवसायमा

बाढीले भन्दा ठूलो क्षति मुग्लिन–नारायणगढ सडकको दूरवस्थाले पुर्‍याएको  छ, सौराहालाई ।

‘हामी पूर्ववत् अवस्थामा फर्किंदै छौं तर पर्यटक सोचेजस्तो आएनन्,’ क्षेत्रीय होटेल संघका अध्यक्ष सुमन घिमिरे भन्छन्, ‘मुग्लिन–नारायणगढ सडकको अवरोधले पर्यटक कम भएका छन् ।’

ट्राभलर्स् जंगल क्याम्पका सञ्चालक रामप्रसाद रिजाल पनि सोचेजस्तो पर्यटक नआएको बताउँछन् । उनको होटेल सबैभन्दा बढी क्षति भएकामध्येमा पर्छ । होटेलको पुनर्निर्माण र सरसफाइमा उनले २० लाख खर्च गरिसके ।

रिजाल भन्छन्, ‘मैले ५० लाखको घाटा बेहोरें, होटेल ठीकठाक पारें तर पर्यटक धमाधम बुकिङ क्यान्सिल गरिरहेका छन् ।’ हालसम्म उनको होटेलमा दुई सयभन्दा बढीले बुकिङ क्यान्सिले गरिसके ।

सौराहामा दशैंका बेला आन्तरिक पर्यटक बढी हुन्थे । यसपटक फाट्टफुट्ट मात्र देखिए । त्यसको मुख्य कारण मुग्लिन–नारायणगढ सडकको दूरवस्था नै रहेको संघका संस्थापक अध्यक्ष पूर्ण रिजाल बताउँछन् ।

‘सबैलाई सडकको डर छ, घण्टौं जाममा फस्नुपर्ने, पहिरोले पुर्ला कि भन्ने डर छ । अनि आउँछ रमाइलो गर्न,’ क्षेत्रीय होटेल संघका अध्यक्ष सुमन घिमिरे भन्छन् ।

हरेक होटेलमा अहिले दैनिक ३/४ जनाभन्दा बढी पर्यटक छैनन् । ‘चितवन आउने प्लेनको भाडा महँगो भयो, विदेशी पर्यटकहरु साइडसिन हेर्दै यहाँ आउन मन पराउँछन्, सडकको हालत त्यस्तो छ,’ होटेल सञ्चालक रामप्रसाद रिजाल भन्छन्, ‘निकुञ्जमा पर्यटकहरुको इन्ट्री र हात्ती सफारीको शुल्क पनि महँगो भयो ।’

सहज वातावरणमा सौराहामा औसत होटेल बुकिङ ४० देखि ५० प्रतिशत हुने गर्छ ।

अक्टोबर र नोभेम्बर पर्यटकहरुको ‘पिक सिजन’ हो । सौराहाका अधिकांश होटेल सेवा दिन सक्ने पूर्ण क्षमतामा पुगिसकेका छन् । सौराहामा अब बाढीको असर र प्रभाव छैन । यो समयमा अपेक्षाकृत पर्यटक नआए पनि अक्टोबर र नोभेम्बरमा सौराहा भरिभराउ हुने आशामा छन्, क्षेत्रीय होटेल संघका अध्यक्ष घिमिरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment