१८ असोज, काठमाडौं । साझा विवेकशील पार्टी लोकतान्त्रिक मूल्य मान्यता, बहुलवादलगायत मुद्दामा कांग्रेस र सामाजिक न्याय, समानतालगायतमा वामपन्थी पार्टीसँग नजिक छ ।
उक्त पार्टीले चाहे पनि नचाहे पनि प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई केन्दि्रत गरेर राजनीतिक ध्रुवीकरण सुरु भएको छ । एमाले, माओवादी केन्द्र र नयाँशक्तिले चुनावी तालेमल हुँदै पार्टी एकता गर्ने घोषणा गरेको भोलिपल्ट कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको छ ।
अब साझा विवेकशील पार्टीले कुन गठबन्धन रोज्ला ? उक्त पार्टीका प्रवक्ता सूर्यराज आचार्यका अनुसार दुवै गठबन्धनलाई अहिले शंकाको नजरले हेरिएको छ । भन्छन्, ‘वाम गठबन्धनलाई हामीले सकारात्मक रुपमा लिएका छौं । तर, यो राजनीतिक ध्रुवीकरण विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोणभन्दा पनि सत्तामुखी चरित्रको देखिने हो कि ?’
पार्टीका अर्का प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा पनि हठात तालमेल र एकता प्रक्रिया थालिएको बताउँदै यो मूल्य मान्यता, संस्कार र विधिको राजनीति गर्ने दिशातर्फ होइन, पार्टीलाई शक्तिशाली र सरकार बनाउने दिशातर्फ मात्र लक्षित हो कि भन्ने देखिएको उल्लेख छ ।
यसले भ्रष्टाचारी, अपारदर्शी र दोहनकारी चरित्रलाई अझ बलियो बनाउने सम्भावना रहेको उक्त पार्टीको विश्लेषण छ । ‘एकताले भविष्यमा पनि राज्य सञ्चालनको तहमा अल्पतन्त्र -ओलीगार्की)लाई अझ बढी संस्थागत गर्ने जोखिम देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
उसो भए कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन रोज्छ त ? थापा भन्छन्, ‘राजनीतिक मान्यतामा हामी लोकतान्त्रिक शक्तिसँग नजिक छौं । तर, अहिले गठबन्धनमै जाने-नजाने भन्ने अहिले नै हतार हुन्छ । कुनै प्रस्ताव पनि आएको छैन ।’
उक्त पार्टी दुवै गठबन्धनमा नजाने सम्भावना छ । आचार्य भन्छन्, ‘वाम र लोकतान्त्रिक ध्रुवीकरण भए पनि हाम्रा लागि राष्ट्रिय राजनीतिमा पर्याप्त स्थान छ ।’
उक्त पार्टीले आसन्न चुनावलाई राष्ट्रिय पार्टीका रुपमा स्थापित गर्ने र दुवै गठबन्धनले छाडेको तर देश र जनताका लागि अहम् मुद्दालाई स्थापित गर्ने लक्ष्य लिएको नेताहरुको भनाइ छ ।
प्रतिक्रिया 4