Comments Add Comment

फेरियो साझाको निर्णय, २० वटा सिटी बस किनेर काठमाडौंमै चलाउने

१९ असोज, काठमाडौं । साझा यातायातले २० वटा सिटी बस र एउटा सेमी-लो फ्लोर बस ल्याउने भएको छ । यससँगै थोरै संख्यामा डिलक्स बस ल्याउने तयारी भएपनि संख्या निक्र्योल हुन बाँकी छ ।

यसअघि साझाले १३ वटा डिलक्स बस ल्याउन लागेको थियो । तर, काठमाडौं र ललितपुर महानगरपालिले साझालाई उपत्यकाभित्रै चलाउने गरी सिटीबस ल्याउन भनेपछि योजना परिवर्तन भएको हो ।

बस ल्याउन काठमाडौं महानगरले पाँच करोड र ललितपुर महानगरले एक करोड रुपैयाँको दिइसकेको छ । दुबै महानगरपालिकाले यो रकम साझा यातायात प्रालीमा शेयरका रुपमा लगानी गरेका हुन् ।

यसअघि काठमाडौं महानगरले १० करोड दिएपछि साझाले ३० वटा बस भित्र्याएको थियो, जुन काठमाडौंका विभिन्न रुटमा चलिरहेका छन् ।

पछिल्लो पटक साझाले डिलक्स बस चाहेको थियो । तर, रकम दिने दुबै महानगरपालिकाले आफूले किनेको शेयरको रकमबाट डिलक्स बस नल्याउन आग्रह गरेपछि नयाँ निर्णय लिइएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

‘अहिले चलिरहेका जस्तै २० वटा सिटी बससहित एउटा सेमीफ्लोर बस उपत्याकामै चलाउँछौं’ पाण्डेयले भने, ‘हामी केही डिलक्स बस ल्याउँछौं । तर, कतिवटा भन्ने निर्णय हुन बाँकी छ ।’

कस्ता हुन्छन् सिटी बस ?

अब आउने सिटी बसहरु पनि अपांगमैत्री हुनेछन्, जसमा दुईवटा फरकिला ढोका हुनेछन् । बसको पछिल्लो भागको ढोकाबाट ह्वील चियर प्रयोगकर्ताहरु सजिलै बस चढ्न र ओर्लन सक्नेछन् ।

बीचभागमा पर्याप्त स्पेशका साथमा ह्यांगरहरु राखिनेछ, यसले उभिएर यात्रा गर्दा पनि केही सहज हुनेछ । निमित्त प्रमुख कार्यकारी पाण्डेयका अनुसार केही दिनमै बस खरिदका लागि टेण्डर आहृवान गरिनेछ ।
बस आएपछि काठमाडौं महानगरसँग छलफल गरेर रुट टुंग्याइने साझा यातायातले जनाएको छ ।

परीक्षणमा ‘सेमी लो फलोर’

साझाले यसपटक एउटा विशेष किसिमको शहरी बस किनेर काठमाडौं उपत्यकामा परीक्षण गर्ने योजना पनि बनाएको छ । लो फ्लोरको ग्राउण्ड क्लेयरेन्स एकदमै कम हुन्छ । त्यसैले एकदमै मिलेको र सम्म सडकमा मात्र यो बस चल्छ । यो बस समान्यभन्दा बढी महंगो हुन्छ ।

यो बसमा चढ्न र ओर्लन अपांगता भएका तथा अशक्त बिरामीहरुलाई कुनै लिफ्टको जरुरत पर्नेछैन ।

जबकी साझाले अहिले ल्याएको बसमा म्यानुअल लिफ्ट छ, जसमा अपांगता भएका व्यक्तिहरुलाई चढाउने र ओराल्ने समयमा अरुको सहयोग चाहिन्छ । समान्य बसमा कम्तिमा ९ सय मिलिमिटरको ग्राउण्ड क्लेयरेन्स हुन्छ । कतिपयमा त त्योभन्दा पनि अग्लो हुन्छ ।

तर, लो फ्लोरको बसमा ४ सय मिलिमिटरको क्लेयरेन्स हुन्छ । यस्ता बस सुविधासम्पन्न र उत्तिकै आरामदायी पनि हुन्छन् । साझाले किन्ने यो बस त्रिभुवन विस्मानस्थल क्षेत्रमा चलाउन सकिने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment