Comments Add Comment

विश्व बजारमा डलरको भाउ बढ्दै, एक डलरलाई लगभग १ सय ५ तिर्दै नेपाली


१९ असोज, काठमाडौं । गत माघयता लगातार जसो घट्ने क्रममा रहेको डलरको भाउ (विनिमय दर) क्रमशः सुधारको दिशामा देखिएको छ ।

गत माघ १८ मा एक अमेरिकी डलरको लागि १ सय ९ रुपैयाँ तिरिरहेका नेपालीहरुले त्यसत्यता डलरको लागि कम तिर्न परिरहेको थियो । डलर अवमूल्यन हुँदा नेपालीहरुले १ सय २ रुपैयाँ तिरेरै एक डलर किन्न पाइरहेका थिए । तर, असोज पहिलो साताबाट भने डलरको भाउ बढ्दै गयो र बुधवार डलर ३ रुपैयाँले थप महंगो भयो । विहीवार भने डलरको भाउ केही घटेर १ सय ४ रुपैयाँमा सिमित भएको छ ।

बैंकहरुले डलर बिक्री गर्दा बुधवारदेखि नै १ सय ४ रुपैयाँ देखि १ सय ५ रुपैयाँको हाराहारीमा बिक्री गरिरहेका छन् ।

नेपाललाई नाफा/घाटा के ?

डलरको भाउ बढ्दा नेपाललाई नाफा/घाटा दुवै हुने गर्छ । डलर महंगिदाको फाइदा रेमिट्यान्समा देखिन्छ । रेमिट्यान्स पठाउने भनेको डलरमा नै हो । डलरको भाउ बढ्दा नेपालमा रहेकाहरुले पाउने रेमिट्यान्स रकममा पनि वृद्धि हुन्छ । रमिट्यान्स पठाउने डलर उही नै भएपनि यहा प्राप्त गर्ने नेपाली रुपैयाँ धेरै हुने भएकोले नेपाल भित्रने रेमिट्यान्सको रकम पनि बढिरहेको देखिन्छ ।

डलरको भाउ बढ्दा महंगी भने केही बढ्ने गर्छ । कतिपय सामानहरु डलरमै भुक्तानी गरेर नेपालमा आयात गरिने भएकोले पनि सामानको मूल्य महंगिने गर्छ ।

नेपाली मुद्राको विनिमय दर सोझै डलरसँग हुँदैन् । भारुसँग ‘पेग्ड’ गरिएको छ र डलरको तुलनामा भारु कत्तिको बलियो वा कमजोर हुन्छ, त्यसले नै नेपाली मुद्राको विनिमय दर पनि निर्धारण हुन्छ । अर्कोतर्फ नेपालले आयात गर्ने मुख्य मुलुकमा भारत नै रहेकोले पनि यसले नेपालमा समेत महंगी बढ्ने गर्छ ।

किन बढ्दै छ डलरको भाउ ?

अमेरिकाको गैर औद्योगिक क्षेत्रसम्बन्धि आइएसएम रिपोर्टले सेवा क्षेत्रमा १३ वर्षयताकै वृद्धि भएको उल्लेख गरेको छ । कट्रिरिना आँधिको कारण गुमेको रोजगारीमा सुधार हुँदै सेप्टेम्बरमा त्यहा १३ लाख रोजगारी सृजना भएको पनि उल्लेख छ । मंगलवार अन्तराष्ट्रिय बजारमा डलरको भाउमा सात सातायताकै उच्च वृद्धि भएको हो । डलरको विनिमय दरमा भएको यो बढोत्तरीलाई मध्यम वृद्धिको रुपमा नै हेरिएको छ ।

रिपोर्टको प्रभाव अपेक्षा गरिएभन्दा कम परेको मानिएको छ । अर्थतन्त्र सुधारको लागि युरोपियन सरकारले गरिरहेको खुला बजार सञ्चालन (सरकारको बण्ड लगायत खरिद गरेर केन्द्रीय बैंकले बजार सन्तुलित बनाउने काम ) सम्बन्धि युरोपियन केन्द्रीय बैंकको माइनुट सार्वजनिक भएपछि बजारमा कस्तो असर देखिनेछ भन्नेमा डलरको भाउ निर्भर रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

विहीवार विहानी सत्रमा विश्वका प्रमूख ६ मुद्राको तुलनामा डलरको भाउ बढ्दै गइरहेको छ । यता, भारतमा पनि अमेरिकी डलरको तुलनामा भारु ९ पैसाले सस्तो भएको छ । डलरको भाउ बढेसँगै भारतीय आयातकर्ताहरुबाट र बैंकहरुबाट पनि डलरको माग बढेको छ । यसले गर्दा बिहीवारको विहानी सत्रमा भारतीय बजारमा डलर थप बलियो बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment