Comments Add Comment

उन्नत गाईको स्रोतकेन्द्र बन्दै चितवन


१९ असोज, रत्ननगर (चितवन) । चितवन जिल्ला उन्नत गाईको स्रोत केन्द्रका रूपमा विकास हुँदै गएको छ । जिल्लामा प्रजनन गराइएका गाईका बाच्छी नेपालका विभिन्न जिल्लामा पठाइने गरेको छ ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा डिल्लीराम सेढाईंले चितवनमा पछिल्लो समयमा उन्नत गाईको व्यावसायिक फार्म रहेकाले यहाँका गाईको माग बढेको बताए ।

जिल्लाबाट वार्षिक चार पाँच सय गाईका बाच्छी बाहिरी जिल्लामा निर्यात हुने गरेको छ भन्दै उहाँले कसैकसैले जानकारी नै नदिई पनि गाई लाने गरेका छन् तर हामीकहाँ चिकित्सकबाट प्रमाणित गराएर मात्र लाने गरिएको जानकारी दिए ।

चितवन जिल्लामा उन्नत नश्लको सिमोन प्रयोग गरी गाईका बाच्छी उत्पादन गर्न थालेपछि देशका विभिन्न क्षेत्रबाट यहाँका गाई र बाच्छीको माग बढ्न थालेको गीतानगरको अन्नपूर्ण गाई स्रोत केन्द्रका अध्यक्ष भागिरथ तिमिल्सिनाले बताए । उक्त केन्द्र २०६८ सालमा स्थापना भएको थियो ।

गीतानगरबाट ४६ जिल्लामा गाई र गाईका बाच्छी अन्नपूर्णले मात्रै पठाएको छ । जिल्लाबाट २५ हजारको हाराहारीमा गाईका बाच्छी पठाउने गरिएको छ । त्यो गाईले दैनिक २० लिटरसम्म दूध दिने तिमिल्सिनाको दाबी छ ।

चितवनमा अन्नपूर्ण सहकारी, लालीगुराँसलगायत फार्मले गाईका बाच्छी उत्पादन गर्छन् । जिल्लामा ४०० भन्दा बढी गाई फार्ममा नै पाल्ने गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

चितवनबाट सिन्धुलीमा मात्रै २०० बाच्छी बिक्री 

चितवनबाट सिन्धुली जिल्लामा मात्रै झण्डै २०० गाईका बाच्छी बिक्री भएको छ । सिन्धुली जिल्ला पसु सेवा कार्यालयले संस्थागतरूपमै किसानलाई गाई खरिदमा अनुदान दिएर चितवनबाट लगेको हो ।

एउटा गाई खरिद गरेर लाने किसानलाई कार्यालयले रु १० हजार अनुदान दिने गरेको पशु सेवा कार्यालय प्रमुख डा रामकुमार कार्कीले जानकारी दिए ।

चितवनको पशु सेवा कार्यालयका प्रमुख भएर सिन्धुली जानुभएका कार्कीले चितवनका किसानसँग समन्वय गरेर गाई खरिद गरेको हो ।

“सिन्धुलीमा सम्भावना भएर पनि गाईपालन न्यून छ, उत्पादनले जिल्लामै पुग्दैन, डा कार्कीले भने, आफू चितवनमा पनि काम गरिसकेकाले उन्नत गाई ल्याउन सिफारिस गरेको हुँ ।” ।

गत वर्ष चितवनबाट सिन्धुलीमा १८९ वटा बाच्छी लगिएको र तीनको बीमा गराएर आवश्यक प्राविधिक सहयोगसमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment