२० असोज, काठमाडौं । हाजिरीजवाफमा सोधिन्छ, तोरीका लागि प्रसिद्ध जिल्ला कुन हो ? जवाफ आउँछ, चितवन ।
अहिलेको परिदृष्य फरक छ, तोरीकै जिल्लामा तेल आयात गर्नुपर्छ । तर, निरास भइहाल्नुपर्ने अवस्था छैन, विस्तारै पुरानो पहिचान फर्किने क्रममा छ ।
दुई दशक अघिसम्म चितवनमा तोरी उत्पादनको परिमाण ठूलो थियो । आर्थिक वर्ष ०५२/५३ यता भने उत्पादन कम हुँदै गएको हो । त्यसका मूल कारक थिए, रोग, किरा, जमिनको तीव्र खण्डीकरण । धेरै किसानले तोरी खेतीबाट विस्थापित बने ।
कुनै समयमा १८ हजार हेक्टरमा तोरी फल्ने जिल्लामा क्षेत्रफल चार हजार पाँच सय हेक्टरमा झर्यो ।
फेरि बढ्दैछ उत्पादन
२०५३ पछि तोरी खेतीमा देखिएको समस्याबारे अनुसन्धानहरु भए । ती अनुसन्धानले माटोमा तोरीका लागि चाहिने सुक्ष्म तत्व सल्फर, बोरोन र क्याल्सिमयको कमि औंल्याए ।
माटोमा ती पदार्थहरु राखेर फेरि तोरी खेती लगाउन थालियो । लाही र अल्टेनेरिया डडुवाको प्रभाव नियन्त्रण हुन थालेपछि जिल्लामा उत्पादन बढ्न थालेको छ ।
अहिले खेतीको क्षेत्रफल बढेर १२ हजार हेक्टर पुगिसकेको छ । सरकारले तेलहन बालीलाई प्रवर्द्धन गर्न थालेपछि तोरीको उत्पादनतर्फ कृषकको ध्यान मोडिएको छ ।
बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली जितपुरलाई पकेट क्षेत्र मानिन्छ । उत्पादन बढाउन जमिनको तीव्र खण्डीकरण र जथाभावी प्लटिङ रोकिनु आवश्यक रहेको विज्ञ बताउँछन् ।
यस कारण फर्किए किसान
कुखुरा, माछा, बाख्रा र पशुपालनमा या अन्य तरकारी खेतीमा जस्तै आकर्षण तत्कालै देखिइसकेको छैन । तर, रोग, किराको समस्या समाधान भएपछि आकर्षण बढ्दै गएको छ ।
जुटपानीकी कृषक सुभद्रा दाहाल उदाहरण हुन सक्छिन्, जसले सरकारी अनुदानसमेत पाउन थालेपछि खेतबारीमा फेरि तोरी छर्न थालेकी छन् ।
गत वर्षदेखि सरकारले चितवनसहित १२ जिल्लामा अभियानमूखी तेलहन बाली उत्पादन कार्यक्रम थालेको छ । किसानलाई स्रोत बीउमा ५० र तेल मिलमा ५० प्रतिशत अनुदान दिँदै आएको छ ।
जिल्लामा सरकारी अनुदान लिएर ६ वटा तोरी मिल थपिएका छन् । यस्तै, माटोमा मिसाउने सल्फर, क्याल्सियम, बोरोनलगायत सुक्ष्म खाद्य तत्वमा ५० प्रतिशत अनुदान दिइएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक मोदनाथ लामिछाने बताउँछन् ।
पछिल्लो समय बजार मूल्य पनि किसानले राम्रै पाउने गरेका छन् । अहिले प्रतिक्विन्टल आठदेखि १० हजारसम्म पर्ने गरेको छ ।
‘तोरीलाई बजारको कुनै समस्या छैन, घरमै खरिदकर्ता आउँछन्,’ प्राविधिक सहायक लामिछाने भन्छन्, ‘बजार सुनिश्चित हुनु र अनुदानका कारणले समेत यसतर्फ फेरि आकर्षण देखिएको छ ।’
गत वर्ष चितवनमा एक हजार तीन सय दुई मेट्रिक टन उत्पादन भएको थियो । २० हजारदेखि २५ हजार तोरी उत्पादक छन् ।
यसकारण तोरीको जिल्ला
नयाँ बस्ती बसाल्ने क्रममा चितवनमा व्यापक जंगल फँडानी गरियो । त्यस्ता ठाउँमा पानीको अभाव थियो । सोही कारण किसानले पानी कम चाहिने तोरी लगाएर त्यसलाई जीवीकोपार्जनको साधन बनाएका थिए ।
भर्खरै फँडानी गरिएको जंगल क्षेत्रको माटोमा मलिलोपन र उर्बराशक्ति अधिक थियो । सोही कारण चितवनमा तोरी खेती फस्टायो ।
प्राविधिक सहायक लामिछानेका अनुसार कुनैबेला एक कठ्ठामा एक सय किलोसम्म तोरी फल्थ्यो । अहिले प्रति कठ्ठामा ३० देखि ४० किलो मुस्किलले फल्छ । मोटा डाँठसहित बाली फस्टाउने र अधिक परिमाणमा तोरीको उत्पादन हुने भएकाले चितवन प्रख्यात बनेको हो ।
परनिर्भरता भने बढ्दै
वाषिर्क ५० हजार मेट्रिक टनसम्म तोरीको तेलको स्वदेशी खपत छ । तोरी बालीको उत्पादकत्व प्रतिहेक्टर औसतमा आठ सय किलो मात्र छ ।
सामान्य अवस्थामा तोरीको उत्पादकत्व प्रतिहेक्टर नौ सयदेखि एक हजार किलो हुनुपर्छ । डेढ दशक अघिसम्म तोरी उत्पादनमा नेपाल आत्मनिर्भर थियो ।
अहिले माग धान्न आयातीत तेल र तेलहनमा भर पर्नुपर्ने अवस्था छ । साना उद्योगहरुले स्वदेशमा उत्पादित तोरीकै प्रयोग गरे पनि ठूला मिलहरुले भने विदेशबाटै खरिद गरेर ल्याउने गरेका छन् । नेपालका अधिकांश ठूला तेल उद्योग विदेशी तेलहनको भरमा चलेका छन् । तोरीको तेल उत्पादनका लागि भारत, क्यानाडा, अस्ट्रेलियालगायत मुलुकबाट तोरी आयात हुन्छ ।
नेपालमै सम्भावना भएर व्यावसायिक रुपमा तेलहनको खेती पर्याप्त मात्रामा हुन सकेको छैन ।
नेपालका चितवन, बाँके, बर्दिया पर्सालगायत जिल्लामा बढी मात्रामा तोरी खेती हुन्छ । चितवनमा उत्पादन बढ्दै गए पनि अन्य जिल्लामा भने उत्पादन घटिरहेकै छ । अहिले तोरीको उत्पादन १५ वर्षअघिको तुलनामा ६० प्रतिशतसम्म कम भएको छ ।
नवलपरासी गैंडाकोटस्थित एग्रोगोल्ड तोरीको तेल उत्पादक कम्पनीका सञ्चालक दिपक सापकोटा चितवनको तोरी व्यावसायिक रुपमा बजारमा कमै मात्र आउने बताउँछन् ।
नेपालको मात्रै तोरीले माग नधान्ने उनको भनाइ छ । ‘नेपाल र उत्तरी भारतको तोरीको जस्तो गुणस्तर अन्यत्रको तोरीमा कहीँ पनि हुँदैन । तर, हामीले उत्पादन बढाउन सकेनौं,’ सापकोटा भन्छन् ।
सूर्यमुखी र भटमासको तेल तथा वनस्पति घ्यूको कच्चापदार्थमा समेत नेपाल परनिर्भर छ ।
सजिलो बाली
दुई दलीय प्रजातिको तोरी नेपालको पहाडी र समथर भू-भागमा हुने गर्छ । यो नेपालको मूख्य तेलहन बाली पनि हो । ८० देखि ९० दिनमा तोरी उठाउन सकिने हुन्छ ।
यसले गहुँबाहेक अन्य कुनै पनि बालीलाई असर गर्दैन । पानीको खास आवश्यकता तोरीलाई हुँदैन । तर, सामान्य चिस्यान जरामा चाहिने कृषि प्राविधिक बताउँछन् ।
नेपालमा तोरी दुई रंगका पाइन्छन् । पहेंलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्रा हुन्छ । कालो तोरीमा २० देखि ३३ प्रतिशत तेल हुन्छ ।
भण्डारण गर्दा मुसा, किरा, पुतली लाग्दैनन् । पानीबाट भने जोगाउनुपर्छ ।
लाभको खेती
यो नगदेबाली छोटो समयमा तयार हुन्छ । यसको साग तरकारीका रुपमा समेत प्रयोग गर्न सकिन्छ । मौरीपालन व्यवसायलाई उकास्न तोरी खेतीको महत्वपूर्ण भूमिका रहन्छ । यो फुल्ने समयमा पर्यापर्यटन पनि फस्टाउन सक्छ ।