+
+
Shares

करोडौंकी मालिक बनिन् बालश्रमिक मारिया

केकले कोरेको मारियाको भाग्यरेखा

एजेन्सी एजेन्सी
२०७४ असोज २३ गते १०:४७

२३ असोज, काठमाडौं । ब्राजिलको केकसप ‘सोल्डी डोसेज’ मिठो केकका लागि प्रख्यात छ । तर, त्यसकी मालिक क्लिउसा मारियाको नमिठो विगतबारे भने कमैलाई जानकारी होला ।

उनीसँग संघर्षका कथा मात्र छैनन्, दु:खद घटनाका शृंखला नै छन् । एकपछि अर्को विपत्तिबीच पनि उनी निरास भने भइनन् । यही बलियो अठोटले मारियालाई अहिले सफलताको चुचुरोमा पुर्‍याएको छ ।

कलिला हातमा कुटो-कोदालो

मारियाले आफ्नो बाल्यकालमा बच्चा बन्ने मौका पाइनन् । किनकि, गुडिया र खेलौना हुनुपर्ने उनका हातहरुले सानैदेखि कुटो-कोदालो खेलाए ।

ब्राजिलको ग्रामीण भेगमा पर्ने साओ पाउलो राज्यमा उनका बाबुले जग्गा भाडामा ल्याएर कृषि फार्म सञ्चालन गरेका थिए । मारियाले त्यही फार्ममा श्रम गर्नुपर्‍यो ।

बाल्यकालका उनले सोही फार्ममा काम गरेर बिताइन् । तर, अचानक उनको परिवारलाई ठूलो बज्रपात पर्‍यो । उनका बाबुको दुर्घटनामा परेर मृत्यु भयो । त्यसपछि उनको जीवन झनै कष्टकर बन्न पुग्यो । त्यतिबेला उनी १२ वर्षकी मात्रै थिइन् ।

मारिया भन्छिन्, ‘त्यसभन्दा दुःखद के नै हुनसक्ला, जुन मेरो जीवनमा बाल्यकालमै भयो ?’

बाबुको मृत्युपछि १० सन्तानको हेरचाह गर्ने जिम्मेवारी उनकी आमाको काँधमा आयो । बालबच्चाको लालनपालनमै समय बिताउनुपर्ने उनकी आमाले पतिले सञ्चालन गरेको कृषि फार्मलाई निरन्तरता दिन सकिनन् । अन्ततः उनले व्यवसाय छाडेर आफ्नो माइतीमा शरण लिने निर्णय गरिन् ।

मारिया भन्छिन्, ‘सबैभन्दा जेठी भएको नाताले नौ जना भाइबहिनीको पालनपोषणमा आमालाई सघाउनु मेरो पनि जिम्मेवारी थियो ।’

परिवारको दैनिक गुजारा चलाउनका लागि पैसा चाहिन्थ्यो । पैसा कमाउन मारिया र उनकी आमा गाउँका खेतबारीमा कामदार बने । उखुका बोटहरु काट्ने उनीहरुको प्रमुख काम थियो । घाम उदाउनु अघिदेखि नै काम थाल्ने मारिया र उनकी आमा रात पर्दासम्म काम गरिरहेकै हुन्थे ।

गाउँबाट शहरतिर

उखु फार्ममा काम गरेको पाँच वर्षपछि भने मारियाले गाउँ छाडेर शहर प्रवेश गर्ने निर्णय गरिन् । साओ पाउलो शहर प्रवेश गरेपछि पनि उनको जीवनमा कायापलट भने भएन । त्यहाँ उनी घरेलु कामदार बनिन् ।

उनका लागि यो बिल्कुलै नयाँ शहर थियो भने काम पनि सहज थिएन । उनले मालिककै घरमा बसेर काम गर्नुपथ्र्याे । विदा महिनामा दुई दिन मात्रै हुन्थ्यो । उनले आफ्नो सम्पूर्ण तलब आमालाई पठाउँथिन् । मारियाले शहरको घरमा काम गर्न लागे पनि उनकी आमा भने गाउँको उखु बारीमै व्यस्त थिइन् ।

अलि राम्रो तलब दिने घर खोज्न मारियाले दुई वटा घरमा काम गर्दागर्दै छाडिन् । र, एउटा धनाढ्यको घरमा पुगिन्, जहाँ तीन जनाको सेवाका लागि नौ कामदार राखिएको थियो ।

धनाढ्यको घरमा काम गरे पनि उनको मनले भने सहज महशुस गरेको थिएन । उनी बारम्बार सोच्थिन्, ‘मैले यो परिवारका लागि किन थरिथरिका खाना बनाउनुपर्ने ? घरका मानिसहरुले खाना खाइरहँदा किन गिलासमा पानी भर्नुपर्ने ?’

उनले बाल्यकालमा पढ्न पाइनन् । तर, पढ्ने भोक उनको मनमा अझै थियो । त्यसैले उनले पढ्न सुरु गरिन् । पढ्न थालेको केही वर्षमै उनले रिसेप्सनिस्टको जागिर पाइन् ।

शहरको जागिरले पनि उनलाई खुशी बनाउन सकेन । किनकि, आमा र उनको परिवार उनीभन्दा निकै टाढा थियो । त्यसैले उनले पुनः गाउँ फर्किने निर्णय गरिन् । यसपालि भने गाउँमा गएर उनले उद्योगमा काम गर्ने मौका पाइन् ।

मालिककी पत्नीको त्यो अनुरोध

सन् १९९५ मा उनले काम गर्ने उद्योगको मालिककी पत्नीले उनलाई एक अनौठो आग्रह गरिन्, जसले उनको जीवन कायापलट गरिदियो । मालिककी पत्नीले उनलाई ३५ किलोको केक बनाउन भनेकी थिइन् ।

मारिया भन्छिन्, ‘उनले केक बेच्ने काम गर्थिन् तर त्यस दिन उनको खुट्टा भाँच्चिएको थियो, जसका कारण उनले मसँग सहयोग मागेकी थिइन् ।’

मारियाले बनाएको केकले मालिककी पत्नीलाई प्रभावित बनायो । मिक्स्चर खरिद गरेर थप ग्राहक बढाउनतिर लागिन्, ती महिला ।

तर, त्यसको दुई वर्षपछि मारियाले जागिर छाडिन् । भाइसँग मिलेर उनले आफैं केकसप खोलिन् । र, यसको नाम राखिन् ‘सेन्साकोस् डाकोस् ।’ जसको अर्थ अंग्रेजीमा ‘मिठो केक’ भन्ने लाग्छ ।

त्यसपछिका दिन पनि कम संघर्षपूर्ण थिएनन् । एक दशकमै उनले चार वटा केकसप किनिन् ।

यही सिलसिलामा एक ग्राहकले उनलाई  फ्रान्चाइज बिजनेस गर्न सल्लाह दिए । मारियालाई यसबारे केही पनि थाहा थिएन । यसका लागि उनले एक वर्ष त अध्ययनमै बिताइन् । र, तिनै ग्राहक उनको पहिलो फ्रान्चाइज बने । दुई वर्ष बित्न नपाउँदै उनको केकसप ५० भन्दा बढी स्थानमा फैलियो ।

नेस्लेको बठ्याईंको सिकार

७४औं केकसप खोलेपछि उनले थाहा पाइन्, नेस्लेले यसअघि नै ‘सेन्साकोस् डाकोस्’ नाममा कम्पनी दर्ता गरेको छ ।

मारिया भन्छिन्, ‘मैले मुद्दा लड्ने बिचार गरें तर जित्न त्यति सहज थिएन । यही तनावले गर्दा म चार महिनासम्म एक रात पनि राम्ररी निदाउन सकिनँ ।’

यसपछि उनले आफ्नो कम्पनीको नाम नै परिवर्तन गर्ने निर्णय गरिन् । उनले ‘सेन्साकोस् डाकोस्’ बाट आफ्नो केक सपको नाम ‘सोडी डोकेस’ (स्विट सोडी) बनाइन् । उनले आफ्ना बच्चा सोफिया र डियगोको नामलाई मर्ज गरेर यो नाम जुराएकी थिइन् ।

यसपछि उनले आफ्ना सम्पूर्ण केकसपमा नयाँ लोगो पठाइन् । चार वर्षसम्म उनको केकसप नाफामा जान सकेन । विश्वसनीयता भने कायम रह्यो ।

सोही कारण एउटा पनि पसल बन्द गर्नुपरेन । अहिले भने १३ वटा राज्यमा अहिले उनका तीन सय वटा केकसप छन् ।

यसरी बालश्रमिकबाट संघर्ष-यात्रा थालेकी मारियासँग अहिले अपत्यारिलो सम्पत्ति मात्रै होइन, ठूलो नाम पनि छ । उनको वाषिर्क कारोबार अहिले ६ करोड ३० लाख अमेरिकी डलरबराबर छ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?