+
+

ब्वाँसोजस्तो एमाले, साँढेजस्तो माओवादी !

भौतिकवादकै विकल्प खोजौं, वैकल्पिक अभियान जारी राखौं

मोहन तिम्सिना मोहन तिम्सिना
२०७४ असोज २३ गते १३:५६

यसपालिको दशैंलाई ‘राजनीतिक सरप्राईज’ दशैं भन्नुपर्ने भयो । चाडवाडमय माहोलमा अप्रत्यासित घटना भए । पहिले कम्युनिष्ट नेताहरुले बाम/कम्युनिष्ट ध्रुवीकरणको घोषणा गरे । लगत्तै अर्कोथरीले लोकतान्त्रिक गठबन्धनको घोषणा गरे । परिदृश्य निक्कै रोचक देखियो । ‘उग्रवामपन्थी’, ‘दक्षिणपन्थी’ र ‘नयाँ शक्ति’ समेत अचानक जस्तो गरी एक ठाउँमा उभिए । अर्कोतिर ‘पहिचान पक्षधर’ र ‘बिरोधी’ पनि एकैठाउँमा देखिए । आपसमा कटाक्ष गर्नेहरुका मुखबाट प्रशंसाका बचन सुनिए । यसले आगामी चुनावी प्रतिस्पर्धालाई फरक मोड दिने संकेत त गरेको छ साथै राजनीतिमा केहि बदलावको संकेत पनि गरेको छ ।

नकारात्मक नबनौं

लामो प्रयासपछि भरखरै संघीय गणतन्त्रसहितको संबिधान बनेको छ । अब कुनै न कुनै तरिकाले राजनीतिक कोर्समा बदलाव जरुरी नै थियो । बदलावको पहिलो संकेतको रुपमा बाम र लोकतान्त्रिक गठबन्धनको यो परिघटना देखा परेको छ । त्यसैले यो परिघटनाप्रति नकारात्मक भइहाल्न जरुरी छैन । आशा गरौं, गठबन्धनहरु दिगो बन्ने छन् । पार्टीहरुको संख्या घट्ने छ । कमसेकम कुनै न कुनै शक्तिले बहुमतको सरकार बनाउनेछ र पाँच बर्ष राजनीतिक स्थिरता दिने छ । सायद धेरै नेपालीको आशा हो यो ।

राजनीतिक अस्थिरताले आक्रान्त अवस्थामा यति हुनु पनि ठुलो कुरा हो । तर राजनीतिक स्थिरता कायम हुनु नै समाधान भने होइन । यो त ‘नहुनु मामा भन्दा पर्ने मामा जाति’ भने जस्तै मात्र हो । अर्को अर्थमा यो त यात्राको पहिलो पाइला हो । त्यसपछि आउँछ सुशासन, समन्याय र समृद्धिको कुरा । मानव समाजलाई सभ्य, समुन्नत र प्रसन्न बनाउने कुरा । यो यात्राले चाही गति लिन्छ कि लिँदैन ? सोच्नु पर्ने विषय चाहिँ यो हो ।

बाम गठबन्धनमा दुईवटा स्कुलिङ छन् । एउटा जबज स्कुलिङ, अर्को प्रचण्डपथ स्कुलिङ । यी दुई स्कुलिङले दुईखाले गुणधर्म निर्माण गरेको छ । जबज स्कुलिङले ‘ब्वाँसाहरु’ उत्पादन गरेको छ । प्रचण्डपथ स्कुलिङले ‘साँढेहरु’ उत्पादन गरेको छ

दुवै गठबन्धनका नेताहरु ‘नचिनेका जेठाजु’ होइनन् । त्यसैले यिनले भोली के गर्लान भनेर आजै अनुमान गर्न कठिन त छैन । तर भोली गल्ति नै गर्छन् भनेर अहिल्यै दोष लगाइ हाल्न पनि सान्दर्भिक हुन्न । त्यसैले राजनीतिक ध्रुवीकरणप्रति हाललाई राग र द्वेष मुक्त साक्षी हुनु नै श्रेयकर हुने छ ।

गठबन्धनको भविश्य

मोहन तिम्सिना

बाम गठबन्धनमा दुईवटा स्कुलिङ छन् । एउटा जबज स्कुलिङ, अर्को प्रचण्डपथ स्कुलिङ । यी दुई स्कुलिङले दुईखाले गुणधर्म निर्माण गरेको छ । जबज स्कुलिङले ‘ब्वाँसाहरु’ उत्पादन गरेको छ । प्रचण्डपथ स्कुलिङले ‘साँढेहरु’ उत्पादन गरेको छ । ब्वाँसोले जतिसुकै बलियो साँढेलाई पनि सुम्सुम्याएर आन्द्राभुँडी झिक्ने सामर्थ राख्दछ । त्यस्तै साँढेले बुद्धि पुर्‍याउने हो भने दजनौं ब्वाँसाहरुलाई तह लगाउन सक्छ । तर, बलको हिसाबले तुच्छ हुनु ब्वाँसाको कमजोरी हो । बल हुँदाहुँदै भङजाहा हुनु साँढेको कमजोरी हो ।

गुणधर्मका हिसाबले एमाले र माओवादी ठीक यस्तै छन् । एमाले ०४६ यताको चुनाव र सरकारको अनुभवले ब्वाँसो जस्तो छट्टु भई सकेको छ । माओवादी भरखरै चुनाव र सरकारको अभ्यासमा आएको र जनयुद्धको दम्भमै रहेकोले अझै हान्नेसाँढे जस्तो छ । कहिलेकाँही एमालेले आन्द्राभुँडी झिकिसक्दा पनि माओवादीले थाहा नपाउन सक्छ । कहिलेकाहीँ माओवादीका भङजाहा सिङ अनाहकमा एमालेतिर सोझिन सक्छन् । त्यसैले यी दुई समूहमा पार्टी एकता त परै जाओस् गठबन्धनको निरन्तरता पनि निकै ठूलो कुरा हो ।

यी दुवै चरित्र मिल्न सके भने अस्थायी नै सही निकै ठूलो शक्ति बन्न भने सक्छ । तर, यही पहलले नै यिनीहरुलाई सम्पूर्णतः मिलाइहाल्छ भन्न सकिन्न । समयको प्रवाहले दुवैलाई रुपान्तरण गर्ला र क्रमश यिनीहरु अन्तरघुलित हुँदै जालान् । अर्थात पटकौं पटकका यस्ता पहलले मात्र यो बाम गठबन्धन एउटै पार्टीमा रुपान्तरित होला । समय अन्तराल लिएर भए पनि यदि यस्तो भयो भने प्रगति भएको नै मान्नुपर्छ ।

यता दायाँ गठबन्धनको अर्को रोचक पक्ष छ । यो गठबन्धनमा पहिलो कांग्रेस, दोश्रो राप्रपाहरु र तेश्रोमा मधेसवादी/पहिचानवादीहरु छन् । गठबन्धन बनाएर चुनाव जित्ने मात्र होइन, यिनीहरुले पनि पार्टी एकता सम्मकै उद्देश्य राखेको बताएका छन् ।

गुणधर्मका हिसावले कांग्रेश बुढो गोरुजस्तो भइसक्यो । यसको अर्थ उ तुलनात्मक रुपमा टिकाउ दल त हो तर परिवर्तन प्रतिको तत्परता उसको कमजोर छ । त्यसैले परम्परावादी राप्रपासँग उसको कुरा मिल्न सक्छ । तर, राप्रपा माछाजस्तो पार्टी भयो । उसको जीवन आधार फरक छ । अर्थात हिन्दु सम्प्रदायिक मुद्दा नै राप्रपाको जग हो । यसले गठबन्धनमा समस्या पनि पैदा हुन सक्छ ।

उता मधेसवादी वा पहिचानवादीहरु अझै गड्यौला चरित्रमा छन् । एजेण्डाको हिसाबले यिनीहरुको दोस्ती बाम गठबन्धनसँगै हुनुपर्ने हो । तर, अहिले यिनीहरु दायाँ गठबन्धनमा मिसिने भएका छन् । उनिहरुको राजनीतिक एजेण्डा नै अस्थायी हुने र चरित्र पनि अस्थिर हुने भएकोले गठबन्धनमा यो शक्तिको भुमिका भरपर्दो हुने देखिँदैन ।

त्यसैले दायाँ गठबन्धन पनि अन्तरबिरोधपूर्ण नै देखिन्छ । यद्दपि तीन समूहमध्धे कांग्रेश र राप्रपाहरुको सम्बन्ध तुलनात्मक रुपमा टिकाउ होला । तर, पहिचानवादीहरु यी दुई समूहसँग लामो समय मिल्न गाह्रो छ ।

महाधु्रवीकरण जरुरी

प्राय बायाँ र दायाँ ध्रुवीकरणको मात्र चर्चा हुन्छ । महाधु्रवीकरणको चर्चा आजसम्म भएको छैन । तर, अब यसबारे पनि चर्चा हुन जरुरी छ । महाधु्रवीकरण भनेको के हो ? पाठकहरुमा जिज्ञासा भएको हुनु पर्दछ । राजनीतिक एजेण्डा र बढिमा विचारधारा मिलाई समूह बनाउने कुरा ध्रुवीकरण अन्तरगत भइरहेको छ । दार्शनिक विश्वास मिल्नेहरुवीच समूह बनाउने कुराचाहिँ महाध्रुवीकरण हो ।

दार्शनिक विश्वासका आधारमा नेपालमा आजका दिनसम्म जम्मा २ खालका दल छन् । राप्रपाका घटकहरुको दर्शन इश्वरवाद -हिन्दुवाद) हो । कम्युनिष्ट र काँग्रेशहरुको दर्शन भौतिकवाद हो । पहिचानबादीहरुको घोषित दर्शन छैन । कतै यिनीहरु ईश्वरवादी त कतै भौतिकवादी पनि देखिएका छन् । हालसालै खुलेका नयाँ दलहरुको पनि घोषित दर्शन छैन । त्यसैले यिनीहरुको गुणधर्म यहि भन्न कठिन छ ।

ध्रुवीकरणको हालको चरणमा नेपालमा ३ वटा समुह बन्ने स्थिति देखियो । पहिलो पुँजिवादी धु्रव, दोश्रो साम्यवादी ध्रुव र तेश्रो सानो भएपनि नयाँ खुलेका पार्टीहरुको बेनामे ध्र्रुव । ईश्वरवादीहरुले तत्काल अलग ध्रुव खडा गर्न नसक्ने कुरा अहिल्यै देखिसकियो । तर, पछिल्ला दिनमा यो पुनःजागृत हुन सक्छ । गुणधर्म नखुलेका पहिचानवादी र साना नयाँ समूहहरु पनि अस्थायी हुन् । समयक्रममा यिनीहरु अघिल्ला दुई समुहमा नै बिलय हुने देखियो । अन्ततः पुँजिवादी र साम्यवादी दुई ध्रुव नै दिगो होलान् ।

महाध्रुवीकरणमा पनि तीन समुह रहन सक्छन् । पहिलोमा ईश्वरवादी समुह, दोश्रोमा भौतिकवादी समुह र तेश्रोमा यी दुवैभन्दा फरक सर्वाङ्गीण अस्तित्वको वकालत गर्ने समूह ।

तेश्रो समुहबारे धेरै चर्चा नभएकोले अस्पष्टता हुन सक्छ । तर वास्तविक बैकल्पिक राजनीतिक समुह तेश्रो समुहमा देखा पर्नेछ । यो तत्कालको कुरा त होइन । तर, मानव समाज आगामी दिनमा यो बाटोमा आउने छ । साथै यस्तो स्थिति पैदा गर्नु पर्दछ भन्ने हो ।

साम्यवादी र पुँजिवादीले यसपालि आ-आफ्ना गठबन्धन बनाएर जे गरे, राम्रो गरे । यसले क्रमशः महाध्रुवीकरणलाई नजिक बनाउनेछ । महाधु्रवीकरणको समयमा माथिका दुई ध्रव पनि एक हुनेछन् । अर्थात पुँजिवादी र साम्यवादी पनि एक हुन्छन् । पाठकहरुलाई यो असम्भव लाग्न सक्छ । किनकि अझै पनि यो भ्रम छ कि पुँजिवाद र साम्यवाद अलग-अलग दर्शन हुन् । त्यसैले यिनीहरुको बाटो जहिल्यै अलग हुन्छ ।

तर, वास्तविकतामा यिनीहरुसँग फरक दर्शनशास्त्र छैन । दार्शनिक प्रणाली त यिनीहरुको एउटै हो भौतिकवाद । यिनीहरुका राजनीतिक कार्यक्रम र पक्षधरता मात्र अलग हुन् । फेरि चरित्रमा समानता छ भने समूह स्वार्थ मिल्न असम्भव हुन्न । नेताहरुका चरित्र र व्यवहारले त यो सिद्ध गरी सक्यो । भोलिका दिनमा महाध्रुवीकरण मार्फत थप यो कुरा सिद्ध हुँदा कुनै अचम्म हुने छैन ।

पुँजिवादी र साम्यवादी बिच भावी मिलनको अर्को महत्वपूर्ण कारक चाहीँ दुवैका विचारधाराको असफलता नै हो । वास्तविकतामा यिनीहरुको दर्शन र विचारधारा स्वयं यिनीहरुलाई नै घाँडो भइसकेको छ । किनकि यो प्राकृतिक नियम अनुकुल छैन । फलतः यो जीवनमा लागु गर्नै सकिन्न । तर, दुवैथरी नेताहरुमा ‘हाम्रो सिद्धान्तले काम गरेन’ भनी हाल्ने साहस, र इमानदारिता छैन । बरु जसोतसो बचेखुचेको शक्ति जोगाएर ब्याज खाने दाउ छ । यही ब्याज खाने स्वार्थको समानताले पनि भावी दिनमा यिनीहरुलाई एक बनाउने छ ।
तर, यो त्यतिबेला मात्र सम्भव हुने छ जतिबेला बैकल्पिक शक्तिले आफ्नो प्रभाव देखाउन थाल्ने छ । त्यो बैकल्पिक शक्ति भन्नाले आवेग वा भावनामा गठन गरिएको कुनै समुह भन्न खोजीएको होइन । यस्तो बैकल्पिक शक्ति ईश्वरवाद र भौतिकवादभन्दा फरक बैचारिक हतियारले लैस हुने छ । सामन्तवाद, पुँजिवाद र साम्यवाद भन्दा फरक विचारधारा र कार्यक्रमसहित आउने छ । तर, यसो भन्दा पाठक महानुभावहरुलाई शंका लाग्न सक्छः ईश्वरवाद र भौतिकवाद भन्दा अलग पनि केही हुन्छ र ? योभन्दा अलग पनि विचारधारा बन्छ र ?

दार्शनिक अवधारणा ‘ईश्वरवाद कि भौतिकवाद’ ? कै बहसमा सीमित छ भने यो कुरा अविश्वसनीय नै हुन्छ । फलतः सामन्तवाद, पुँजिवाद र साम्यवादको बिकल्पको कुरा अविश्वसनीय नै हुन जान्छ । तर, आजसम्म मानव ज्ञान धेरै अगाडि बढिसकेको छ । भलै हाम्रो सन्दर्भ र बहसमा त्यसले प्रवेश पाएको छैन । आज भौतिकवादलाई पनि ईश्वरवाद जस्तै रुढीग्रस्त र अबैज्ञानिक चिन्तन पद्धति मानिन्छ । जव दार्शनिक मुहान नै फोहोर हुन्छ, तब त्यसबाट बगेका पुँजिवादी र साम्यवादी नामका दुई नदीहरु सफा हुने कुरै भएन । अर्थात यिनीहरु निर्विकल्प हुनै सक्दैनन् ।

पुँजिवादी र साम्यवादी प्रणालीको सीमा र कमजोरी यसको सामाजिक प्रयोगले नै देखाइसकेको छ । यसले उपलव्धी नै नदिएको होइन । तर, उपलव्धी भन्दा ज्यादा खराबी यसले पैदा गर्यो । एकाँगी सोचका कारण समाजलाई सन्तुलित राख्न सकेन । आज विश्वमा देखा परेका सामाजिक अतिहरु यिनै दुईखाले प्रणालीका खरावीबाट पैदा भएका हुन् । समग्रमा यसले समाधान कम संकट ज्यादा पैदा गर्‍यो । विश्व आज यस्तै बिचारले पैदा गरेको संकट झेलिरहेको छ । तर, यही बैचारिक संकटको गर्भबाट बैकल्पिक शक्तिले आकार ग्रहण गर्ने छ ।

यस प्रकारको शक्तिले सर्वाङ्गीण दर्शन र विचारधाराको वकालत गर्ने छ । समाजमा गतिशील सन्तुलन कायम गर्ने कुरा गर्नेछ । ‘सम्यक जीवन’ र ‘सम्यक समाज’ को कुरा गर्ने छ । यो आजभोलि नै नहोला, तर निकट भविश्यमा नयाँ पुस्ता यो अभिभारासहित अगाडि आउनेछ । अनि बल्ल पुँजिवादी र साम्यवादी -भौतिकवादी) शक्तिहरुले प्रतिस्पर्धी भेट्नेछन् । तब आफ्नो अस्तित्व रक्षाका लागि यिनीहरुले आपसी गठबन्धन गर्नेछन् । तब बल्ल पुराना शक्ति र बैकल्पिक शक्तिवीच प्रतिस्पर्धा हुनेछ । तब महाध्रुवीकरणको युग आरम्भ हुनेछ ।

बाबुराम र विकल्प

एक बर्षअघि बाबुराम भट्टराईले यस प्रकारको बैकल्पिक राजनीतिक/सामाजिक आन्दोलनको नेतृत्व गर्ने पहिलो साहसिक कदम उठाएका थिए । उनीसँग मानिसहरुले आशा र बिश्वास पनि गरेका थिए । तर, अहिलेसम्म आउँदा उनको पहलकदमीमा बिराम लाग्ने सम्भावना देखियो । पुराना शक्तिसँगको गठबन्धनमा मिसिएर उनले कम्युनिष्ट पार्टीमै फर्कीने संकेत गरेका छन् ।

बैकल्पिक राजनीति भन्नाले तत्कालीन एजेण्डा वा विचारधाराको जोडकोण बदल्ने कुरा मात्र थिएन, यो त बिसौं शताव्दीयताको मानव ज्ञान र उपलव्धीको सार खिचेर त्यसलाई राजनीतिक/सामाजिक आन्दोलनमा अभ्यास गर्ने कुरा थियो । आफ्नो समयमा माक्र्स र एंगेल्सले यही गरेका थिए । त्यसैको परिणामस्वरुप दैविक चिन्तन परम्परालाई जवाफ दिन सक्नेे प्रभावकारी एवं बैकल्पिक चिन्तन पद्दति बनेको थियो, जसलाई द्वन्द्वात्मक भौतिकवाद भनियो । तत्कालीन सापेक्ष ज्ञानले उनीहरुलाई समाजवादी/साम्यवादी विचारधारासम्म पुर्‍यायो ।

आज बिज्ञान एवं मानव ज्ञानले अतुलनीय फड्को मारेको छ । सामाजिक अन्वेषक/अभियन्ताका लागि यो एउटा सुवर्ण अवसर थियो । आफ्नो समयका नौला ज्ञानलाई बिना पूर्वाग्रह अनुसन्धान एवं संश्लेषण गरेर यान्त्रिक एवं भौतिकवादी चिन्तन परम्पराको बिकल्प निर्माण गर्न सकिन्थ्यो । खास गरी बाबुराम भटराईबाट यो कामको नेतृत्व हुन्छ भनी अपेक्षा गर्नु अस्वभाविक थिएन । माक्र्स-एंगेल्सले शुरु गरेको परम्परालाई नयाँ सन्दर्भसहित गति दिन वा यसको नेतृत्व गर्न सक्ने हैसियत उनको थियो । तर, एकपल्ट अघि सरेर पनि उनी यतिबेला हच्किएको आभास भएको छ ।

यसो हुनुमा बिभिन्न कारणले काम गरेको हुन सक्छः कि त स्थानीय तहको चुनावी परिणामले उनलाई धेरै नै हतोत्साही बनायो । कि त उनी यस प्रकारको बैकल्पिक शक्ति बनाउन नसकिने निश्कर्षमा पुगे । कि त उनले बिषयवस्तु र युगको अभिभारा नै ठम्याउन सकेनन् ।
जे होस्, पुँजिवाद र साम्यवादको बिकल्प खोज्न कुनै पनि बेला जो कोही निस्कन सक्छ भन्ने बलियो सन्देश बाबुराम मार्फत प्रसारित भएको छ । त्यसैले उनी धन्यवादका पात्र छन् । यद्दपि उनीसँग सम्हालिने र बैकल्पिक राजनीतिलाई वास्तविक लिकमा हिँडाउने मौका अझै छ ।

समाजवादको भजनः

‘समाजवाद’ शब्दको भजन जति गाए पनि पुँजिवादी र साम्यवादीहरुले समाजलाई सन्तुलित गन्तव्यमा पुर्‍याउनै सक्दैनन् । किनकि उनीहरुको पद्दति यान्त्रिक छ र लक्ष एकांगी छ । उनीहरुको विश्वदृष्टिकोणले नै उनीहरुलाई यसो गर्न दिँदैन ।

पुँजिवाद गोलचक्करको गति मा बिश्वास गर्दछ । त्यसैले लोकतन्त्रका नाममा उसका लागि पुँजिवाद नै सदा सर्वदा अस्तित्वमा रहने व्यवस्था हो । साम्यवाद अगाडि-पछाडिको गति र त्यसमा पनि एकल रेखीय बिकासमा विश्वास गर्दछ । त्यसैले उनीहरुका लागि समाज आदिम साम्यवाद- दाश युग-सामन्तीयुग- पुँजिवादी युग-समाजवादी युग-साम्यवादी युग भएर अगाडि बढ्छ । त्यसैले व्यक्तिगत स्वामित्व भएको समाजलाई निषेध गरेर समाजवाद स्थापना गर्नु नै उनीहरुको अन्तिम लक्ष हो ।

सामाजिक परिवर्तन सम्बन्धी यी दुवैखाले निश्कर्ष यान्त्रिक द्वन्द्ववादी/भौतिकवादी नियम अन्तरगत आएका हुन् । जबकि समाज यस्तो यान्त्रिक गतिमा हिँड्दैन । त्यसैले यस्तो कुरा न त व्यक्तिगत जीवनमा, न त समाजमा नै लागु हुन सक्छ । यसको परिणाम खाट्टी पुँजिवादी वा खाट्टी साम्यवादी मानिस हुन सम्भव नै हुन्न । कसैले जवरजस्ती यस्तो प्रयास गर्छ भने त्यो प्रकृतिको नियमविरुद्ध हुन्छ । तर, हाम्रा नेतालाई त यस्तै देखाउन परेको छ । पुँजिवादी र साम्यवादी नेताहरु ढोंगी, पाखण्डी बन्दै जानुको कारण नै यही हो ।

कसैले म पुँजिवादी वा साम्यवादी हुँ भन्नु वा म वायाँपन्थी वा दायाँपन्थी हुँ भन्नु वा म भौतिकवादी वा आत्मावादी हुँ भन्नु, म रातवादी वा दिनवादी हुँ भने जस्तै कुरा रहेछ । किनकि यो संसारमा कुनै मानिस रातवादी र दिनवादी हुनुको खास अर्थ र महत्व छैन । यस्तो हुन सम्भव नै छैन । प्रकृति भन्नु नै रात र दिनको गतिशील सन्तुलन हो । रातलाई दिनबाट र दिनलाई रातबाट कहिल्यै अलग गर्न सकिँदैन । साथै हामीलाई रात र दिन दुवैको उत्तिकै प्रयोजन छ ।

सोहीअनुसार समाजमा पनि अन्तरविरोधी पक्षहरुलाई न त यथास्थितिमा टिकाउन सकिन्छ, न त तीमध्धे कुनै एकलाई निषेध नै गर्न सकिन्छ । बरु मानिसको सचेतन प्रयत्नले यिनीहरुलाई गतिशील सन्तुलनमा राख्न भने सकिन्छ । त्यसैले राजनीतिक/सामाजिक आन्दोलनको लक्ष, सामाजिक असन्तुलनलाई सन्तुलनमा ल्याउने हुनु पर्दछ । यसका लागि निरन्तरको सचेत प्रयत्न र वर्तमानमा जिउने प्रयास हुन जरुरी हुन्छ । ‘सम्यक जीवन’ र ‘सम्यक समाज’ नै तत्कालीन र दीर्घकालीन लक्ष हुनु जरुरी हुन्छ ।

समाजमा व्यक्तिगत स्वतन्त्रता, पुँजीको संग्रह र बिकास जरुरी छ तर, व्यक्तिवाद/पुँजिवाद जरुरी छैन । बलियो राज्य, मानिसहरुवीच सामुहिकताको अभ्यास, जरुरी छ, तर समाजवाद/साम्यवाद जरुरी छैन । मानिस वा सामाजिक आन्दोलन संघर्षशील भूमिकामा प्रस्तुत हुन जरुरी छ । तर, वामपन्थ जरुरी छैन । त्यस्तै मानिस वा आन्दोलनभित्र संस्थापनीय भुमिका हुन जरुरी छ । तर, दायाँपन्थ जरुरी छैन ।

पुँजी र वर्ग -समाज), व्यक्ति र राज्य, दाँया र बायाँ, भौतिकता र आत्मिकता प्राकृतिक तत्व हुन् । यी चिज हिजो थिए, अहिले छन् र भोलि पनि रहन्छन् । तर, यसका पछि ‘वाद’ र ‘पन्थ’ लागेर आएका विचार सापेक्ष ज्ञान मात्र हुन् । आजको चेतनामा यी अप्राकृतिक एवं एकांगी छन् । त्यसैले आज पनि यस्ता वाद र पन्थ पक्षधर भइरहनु पर्दछ भन्ने छैन । यो त अठारौं शताव्दीको मानव ज्ञानको उपज हो ।

अन्त्यमा, 

बैकल्पिक राजनीतिकको अर्थ सामाजिक मुद्दाहरुको जोडकोणमा अदलाबदली गर्ने कुरा मात्र पटक्कै होइन । यो त अठारौं शताव्दीको चेतना बोकेर घिसि्ररहेको राजनीतिक आन्दोलनलाई आजको मानव ज्ञान अनुकुल बनाउने अभियान हो । अर्थात यो विश्वदृष्टिकोण नै बदल्ने अभियान हो । यो मानव सभ्यतालाई नै उन्नत दिशामा लैजाने अभियान हो ।

भौतिक बिज्ञान, मनोबिज्ञान, जीवविज्ञान, आत्मबिज्ञान जस्ता ज्ञानका हरेक शाखाहरुमा भएका प्रगतिसँग अद्यावधिक भएर मात्र यो विषयको मर्मसम्म पुग्न सकिन्छ । तर, आजका दायाँ वा गठबन्धनबाट यो काम कदापि हुँदैन । त्यसैले यसपालिको दशैंमा त गजब भयो भनेर मख्ख पर्ने स्थिति छैन । वैकल्पिक राजनीतिको बहस र अभियानले निरन्तरता पाउनैपर्छ ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?